सोलुखुम्बु । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै देश दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार सोलुखम्बु आएर निर्वाचन हुनेमा अझै ढुक्क नभएको बताएका छन् । सदरमुकाम सल्लेरीमा आयोजित सभामा ओलीले निर्वाचनसँग सत्ता गठबन्धन डराएको निष्कर्ष मात्रै सुनाएनन्, निर्वाचन हुनेमा आशंका पनि व्यक्त गरे ।

स्थानीय निर्वाचनप्रति अध्यक्ष ओली र उनको दल एमालेको आशंका नयाँ होइन । ३० वैशाखमा घोषित निर्वाचन आउन २४ दिन बाँकी रहँदा पनि ओलीको अभिव्यक्ति र आशंका अझै उस्तै छ । जबकी उम्मेद्वार मनोनयन ६ दिनभित्रै (११ र १२ वैशाखमा) हुँदैछ ।
एमालेका नेताहरुले निर्वाचन हुनेमा लगातार आंशका गरिरहेपछि सत्ता साझेदार दलका शीर्ष नेता नै जवाफ दिन बाध्य बनेका छन् । तर, विपक्षी दलको आशंका र सत्तारुढको जवाफकै कारण निर्वाचनबारे मतदातामा भने हरेक शंका उत्पन्न भएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलिया भने निर्वाचनबारे अनावश्यक तर्क÷वितर्क भइरहेको बताउँछन् । ‘यत्तिका तयारी भएर यहाँ आइसकियो । अब निर्वाचन किन सर्छ ?’ प्रमुख आयुक्त थपलिया प्रश्न गर्छन् ।
यसअघि पनि यस्ता आशंका हुने गरेको, तर निर्वाचन निर्धारित समयमा भएको उनी बताउँछन् । ‘कुनै प्राकृतिक विपत्ती आयो भने, आर्थिक संकट भयो भने चुनाव सर्न सक्छ, तर अहिले त्यस्तो केही छैन,’ थपलियाले भने । ३० वैशाख साँझ ५ बजे अहिले गरिएको आशंकाको जवाफ मिल्ने थपलिया बताउँछन् ।
महाधिवेशन प्रतिनिधी आङकाजी शेर्पासहित सयौं कार्यकर्ता एमाले पार्टी प्रवेश
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पासहित सयौँ स्थानीय नेता तथा कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
सदरमुकाम सल्लेरीमा भएको एक कार्यक्रमबीच महाधिवेशन प्रतिनिधी शेर्पा सहित नेपाली कांग्रेसँग निर्वाचित सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मिङमार शेर्पा, माप्य दुधकोशी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दिनेशकुमार राई र वडा नं. ७ का अध्यक्ष सगुजित राई एमाले पार्टीमा प्रवेश गरेका हुन् ।








