८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

क्याम्पसको स्ववियू हाँकेका सागर विराटनगरको मेयरको उम्मेदवार


१२ बैशाख २०७९, सोमबार  

0
Shares

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंग्याएको छ । पार्टीको विराटनगर महानगर कमिटीका अध्यक्षसमेत रहेका उनलाई एमालेले उम्मेदवार चयन गरेको हो ।

४६ वर्षीय थापा विद्यालयदेखि नै राजनीतिमा सक्रिय थिए । विराटनगर महानगरपालिका– ४ मा घर भएका उनी दुई कार्यकाल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति बने ।

उनी सोही कलेजको अनेरास्ववियुको सेल सचिव र इलाका कमिटीको सदस्य पनि भएका थिए । २०५७ देखि २०६० सम्म पहिलो कार्यकाल स्ववियु सभापति भएका उनी २०६० देखि २०६२ सम्म दोस्रो कार्यकाल पनि स्ववियु सभापति भए ।

२०६२–०६३ को जनआन्दोलनमा थापा २८ दिन जेल परे । थापा १२ वर्षयता एमाले विराटनगरको विभिन्न तहमा बसेर काम गरिरहेका छन् । नेकपा एमाले पूर्व जिल्ला कमिटी सचिवालय सदस्य थापा हाल प्रदेश कमिटी सदस्य पनि हुन् ।

 

नेकपा एमाले विराटनगर नगर कमिटी सचिव रोहित कोइरालाका अनुसार २०६० सालको स्ववियु निर्वाचनमा दोस्रो कार्यकालका लागि सागर थापा निर्वाचित हुँदा हालका मेयर भीम पराजुली नेपाल विद्यार्थी संघबाट सचिवमा निर्वाचित भएका थिए ।

सागर थापासँग सभापतिमा केदार कार्की पराजित भएका थिए । कार्की हाल प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्री छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ४० बजे