नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला विरुद्ध भ्रष्टाचाको मुद्धा अख्तियारमा

आ.व. २०७७/०७८ को प्रशासनिक खर्चमा एउटै शीर्षक राखेर २ करोड ६० लाख ७६ हजार रकम विनियोजन

  सगरमाथा अनलाईन
27.1k Shares

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अध्यक्ष बास्तोला विरुद्ध गाउँपालिकाकै एक नागरिकले आर्थिक वर्ष २०७७/०७८ को प्रशासनिक खर्चमा अस्वभाविक रकम खर्च भएको भन्दै अख्तियारमा भ्रष्टाचारको मुद्धा दायर गरेका हुन् ।

बास्तोला गाउँपालिका अध्यक्ष भएपछि विभिन्न अनावश्यक शीर्षकमा रकम विनियोजन गरेका थिए । यत्ति मात्र होइन उनले एउटै शीर्षकमा करोडौं रकम विनियोजन गरेका छन् । आ. व. २०७७/०७८ प्रशासनिक (चालु) खर्च विवरणमा एकै शीर्षकमा ७ पटकसम्म रकम खर्च गरेको भन्दै अख्तियारमा मुद्धा दायर गरेको (नाम नखुलाउने शर्तमा) बताइएको छ । बास्तोला नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष समेत हुन् ।

हेर्नुहोस अख्तियारले अत्यन्त जरुरी/गोप्य पठाएको पत्र ।

आ.व. ०७७/०७८ को प्रशासनिक खर्च विवरणमा १ देखि ३७ वटा शीर्षकमा रकम विनियोजन गरिएको छ । तर, सवारी साधन लक्षित एकै शीर्षकमा ७ वटा शीर्षक बनाएर रकम विनियोजन र खर्च भएको गाउँपालिकामा उपलब्ध तथ्यांकमा देखिएको छ । प्रशासनिक (चालु) खर्च विवरण ०७७/०७८ को १ नम्बरमै सवारी साधन तथा मेसिन औजार भाडा शीर्षकमा ५ लाख रकम विनियोजन गरिएको थियो । जसमा ४ लाख ९९ हजार १ सय रकम खर्च भएको छ । त्यसैगरी ११ नम्बरमा इन्धन कार्यालय प्रयोजन शीर्षकमा २० लाख विनियोजन भएकोमा १५ लाख ९१ हजार ४ सय ६१ रुपैया खर्च भएको छ । १४ नम्बरमा इन्धन पदाधिकारी शीर्षकमा ८ लाख विनियोजन गरिएकोमा ७ लाख ८४ हजार ८२ रुपैयाँ खर्च, १७ नम्बरमा सवारी साधन मर्मत खर्चमा २५ लाख विनियोजन गरिएकोमा २१ लाख ३९ हजार ९ सय ४ रुपैयाँ खर्च, २७ नम्बरमा इन्धन अन्य प्रयोजनमा ५० हजार विनियोजन गरिएकोमा २१ हजार ३ सय रुपैयाँ खर्च, ३२ नम्बरमा सवारी साधन तथा मेसिनरी औजार भाडामा १५ लाख विनियोजन गरिएकोमा १२ लाख १४ हजार ५ सय रुपैयाँ खर्च गरिएको छ । यत्तिमात्र होइन प्रशासनिक (पूजीगत) ०७७/०७८ बाट पनि पहिलो नम्बरमै सवारी साधन खरिद शीर्षकमा ३० लाख विनियोजन गरिएकोमा ५ लाख ५६ हजार ८ सय रकम खर्च गरिएको छ । त्यस्तै पूजीगतकै रकमबाट ३ नम्बरमा मेशिनरी तथा औजारमा १० लाख रकम विनियोजन गरिएकोमा ९ लाख ९९ हजार १ सय ८४ रुपैयाँ खर्च भएको छ ।

प्रशासनिक खर्च विवरणकै १० नम्बरमा भ्रमण खर्च ४० लाख विनियोजन गरिएकोमा ३९ लाख ८२ हजार ८ सय रुपैयाँ खर्च भएको छ । ९ नम्बरमा सञ्चार महशुलमा ७ लाख विनियोजन गरिएकोमा ६ लाख ७२ हजार ९३ रुपैया खर्च गरिएको छ । त्यस्तै २६ नम्बरमा पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्चमा २५ लाख विनियोजन गरिएकोमा २१ लाख ११ हजार ६ सय ११ रुपैयाँ खर्च भएको छ । ३१ नम्बरमा विविध खर्चमा ३५ लाख विनियोजन गरिएकोमा ३४ लाख ९९ हजार ३ सय ९० रुपैया खर्च भएको छ । विविध भनेको के हो ? यसरी विविध भनेर लाखौं रकम खर्च गर्दा यसको महालेखा परीक्षकले कसरी फर्यौट गर्छ होला ?

आ.व. ०७७/०७८ मा मात्रै अनावश्यक शीर्षकमा ४ करोड ८६ लाख ५२ हजार ३ सय ७३ रुपैया खर्च भएको छ । एक वर्षको अवधिमा मात्रै करिब ५ करोड रुपैयाँ अनावश्यक खर्च गरेको गाउँपालिकाको केहि कागजात अख्तियारले कब्जामा लिई अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवत्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले बताए ।

हेर्नुहोस आ.व. ०७७/०७८ मा प्रशासनिक (चालु) र (पूँजीगत) खर्च विवरण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार