कांग्रेसको सोलुदुधकुण्ड घोषणा पत्रः आफ्नै जलविद्युत, वडा-वडामा नगर बस (घोषणा पत्र सहित)

  सगरमाथा अनलाईन
1.6k Shares

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसले होम डेलिभरी सरकार देखि आफ्नै जलविद्युत आयोजना र वडा–वडामा विद्युतीय बस संचालनको परिकल्पना गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेसले सिसाखोलामा ३.५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरि नगरलाई आत्मनिभएर बनाउने योजना अघि सारेको छ ।

त्यस्तै, उज्यालो नगरको परिकल्पना गर्दै हरेक वडामा विद्युतीय बस संचालन गर्ने र नगरबासीलाई यातायातको सुविधा प्रदान गर्ने, एक घर एक विद्युतीयय चुल्हो वितरण गर्ने योजना अघि सारेको छ । नगरक्षेत्रमा ग्रामिण विद्युतीकरणको काम भइरहेको छ भने यसअघि तिंलामा विद्युतीय चुल्हो वितरण गरिसकिएको छ ।

नगरक्षेत्रको सम्पुर्ण सडकहरु बाहै महिना संचालन हुने वातावरण निर्माण गर्ने, नगरको प्रवेशद्धारमा विद्युतीय ढाटको व्यवस्था गरि कर संकलन गर्ने, प्रशासनिक भवन बनाउने, बजार क्षेत्रमा सपिङ कम्प्लेक्स सहितको सभा हल निर्माणको काम गरिने योजना कांग्रेसको घोषणा पत्रमा समाबेश छ ।

त्यस्तै, पर्यटन तर्फ दुधकुण्ड पोखरीलाई धार्मिक पर्यटनको रुपमा विकास गरिने, लादिङ देखि पिकेडाँडासम्म केवलकार संचालनको संभाव्यता अध्ययन गरिने, निजी–सरकारी साझेदारीमा जीप लाइन निर्माण गर्ने र विश्वकै अग्लो बुद्धको मुर्ती स्थापनाको लागि संभाव्यता अध्ययन गरि काम अघि बढाइने, रक क्लाइम्बिङ, हाइअल्टिच्यूड साईक्लिङ ट्रेल निर्माण देखि फुलेलीमा रहेको भूमे संरक्षण गरि किराँत संग्राहलयको स्थापना सम्मको योजना अघि सारिएको छ ।

हालका माध्यमिक विद्यालयलाई पर्यटन, व्यवस्थापन, कृषि र पशुपालन शिक्षालयको रुपमा विकास गर्ने, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारि कार्यान्वयनको विषयले पनि कांग्रेसको घोषणा पत्रमा स्थान पाएको छ । कृषकलाई तालिम र प्रोत्साहन गर्दै बर्षेनी हरेक वडाका दुई जना उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने योजना कांग्रेसको छ ।

स्वास्थ्य क्षेत्रमा यसअघि कार्यान्वयनमा आएका अधिकांश योजनालाई निरन्तरता दिने भएको छ । निशुल्क एम्बुलेन्स सुविधा, फाप्लु अस्पताललाई ५० र टाप्टिङको आधारभूत अस्पताललाई चिकित्सक सहित १५ बेड संचालन, ६० बर्ष माथीकालाई निशुल्क उपचार, ७० बर्ष माथी जेष्ठनागरिक, असक्त, बालबालिका र गर्भवति महिलाको स्वास्थ्य परीक्षण घरमै गरिने, पञ्जीकरण सेवा घरमै पुगेर गरिदिने गरि होम डेलिभरी सरकारको परिकल्पना गरिएको छ ।

खानेपानी र सरसफाई तर्फ कांग्रेसले मिनरल वाटर प्लान्ट स्थापना देखि फाप्लु–सल्लेरी–दोर्पु वाटर ट्रिटमेन्ट सहितको ढल व्यवस्थापनको काम शुरु गर्ने, सीपमूलक तालिम प्रदान गरि युवाहरुलाई स्वरोजगार बनाउने, इको पार्क, चिल्ड्रेन पार्क र पिकनिक स्थलको विकास गर्ने, किशोरीहरुलाई सेनेटरी प्याण्ड निशुल्क वितरण गर्ने लगायतका दर्जनौ योजना कांग्रेस सोलुदुधकुण्डको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

हेर्नुहोस घोषणा पत्रको पूर्ण पाठ:

सोलुदुधकुण्ड-नगरपालिकाको-घोषणा-पत्र-२०७९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार