नर्भिकमा १ सय ६८ किलोकी महिलाले जन्माइन् स्वस्थ शिशु

नेपालकै प्रसूति इतिहासमा पहिलो रेकर्ड भएको अस्पतालको दाबी

Facebook Debugger

काठमाडौं । नेपालमा १ सय ६८ किलो तौल भएकी काठमाडौं निवासी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् ।

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा असार १० गते काठमाडौं कलंकी निवासी मेरिना हमालले शल्यक्रियामार्फत् २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन् ।

वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टोलीले सफलतापूर्वक ती महिलाको शल्यक्रियामार्फत् बच्चा निकालेको हो ।

नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । डा. शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो ।

असाधारण तौल र शारीरिक बनावटका कारण निकै कठिन भए पनि उच्च सावधानीपूर्वक ती महिलाको शल्यक्रियामार्फत् प्रसूति गराइएको डा. शर्माले बताइन् ।

सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत् प्रसूति गराउनु आफैंमा निकै कठिन हुने चिकित्सकहरूको भनाइ छ ।

नेपालकै प्रसूति इतिहासमा १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रियामार्फत् प्रसूति गराइएको पहिलो रेकर्ड भएको अस्पतालको दाबी छ ।

डा. शर्माले सुरूआती अवस्थादेखि नै ती महिलालाई उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको बताइन् । ‘यो सफलताले केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुन सक्दैन भन्ने देखाएको छ’, डा. शर्माले भनिन्, ‘जटिल र जोखिम अवस्थालाई पनि आधुनिक प्रविधि र दक्षताले सम्भव गराउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।’

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार