प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली निकट नेता खुमलटारमा !

Facebook Debugger

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुरु हुनु अगाडि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली निकटका स्थायी कमिटीका नेताहरु खुमलटार पुगेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री निकट नेताहरु खुमलटार पुगेका हुन् । ८ बजे खुमलटार पुगेका नेताहरु अहिले अध्यक्ष दाहालसँग छलफल गरिरहेका छन् ।

अध्यक्ष दाहाललाई भेट्न स्थायी कमिटी सदस्यहरु ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल लगायत पुगेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ र आर्थिक मामिला मन्त्री किरण गुरुङ बाहेक प्रधानमन्त्री निकट स्थायी कमिटीका नेताहरु खुमलटार पुगेका हुन् ।

बुधबार साँझ झम्सिखेलमा दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल निकटको भेला भए पछि बिहानै प्रधानमन्त्री ओली निकट नेताहरु खुमलटार पुगेका हुन् । झम्सिखेल भेलाले ओलीले पार्टीले गर्ने निर्णय मान्नुपर्ने निष्कर्ष निकालेको छ ।

बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रीहरु सहित स्थायी कमिटीका नेताहरुलाई बोलाएका थिए । यसपछि दिनभर बालुवाटारमा आफू निकट नेताहरुसँग सम्वाद रहेका प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु आज बिहानै खुमलटार पुगेका छन् ।

१० असार देखि जारी स्थायी कमिटी बैठक एघार बजे बालुवाटारमा शुरु हुँदैछ । त्यस अगाडि बरिष्ठ नेता नेपाल समूहका केही नेताहरु समेत कोटेश्वरमा भेला भएका छन् ।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्नुपर्ने उनी इतर समूहले बैठकमा माग राखेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार