प्रदेश १ सरकारको मनसुनबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजना

  सगरमाथा अनलाईन
98 Shares

विराटनगर । नेपालमा मनसुन प्रवेश गरेसँगै प्रदेश १ सरकारले मनसुनजन्य घटनाबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजनालाई अगाडि बढाएको छ । मनसुनबाट हुने क्षति नहोस तथा भइहालेमा त्यसको प्रतिकार्य चाँडो गरी नागरिकलाई सुरक्षित बनाउनका लागि सरोकारवाला निकायसँग छलफल गरेको छ ।

बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायसँग सुझाव संकलनका साथै विपत् भई हालेमा छिटो भन्दा छिटो उद्धार कसरी गर्न सकिन्छ भनेर छलफल गरिएको हो ।

यो वर्ष वर्षमायामा औसतभन्दा बढी नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गर्दै गर्दा जोखिम बढी हुने भएकाले त्यसलाई प्रतिकार्य गर्नका लागि सबै क्षेत्रका प्रतिनिधिहरू जुट्नुपर्नेमा सहभागीले जोड दिएका छन् । छलफलमा सुरक्षा निकायका प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी क्षेत्रका प्रतिनिधिले आआफ्ना धारणा व्यक्त गरेका थिए ।

छलफलमा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक(डिएसपी) शुनिल राईले विपतको प्रतिकार्यका लागि प्रदेश १ का तराईका जिल्लामा डिएसपी तथा पहाडी जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा टोली तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । विपद् घटनाको पहिलो सूचना नै प्रहरी समक्ष पुग्ने भएकाले प्रहरी तैनाथ अवस्थामा रहेको बताउनुभयो । प्रदेशका तीन ओटै सुरक्षा निकायका प्रतिनिधिले सबैको सहयोगमा उद्धार तथा राहतका काम छिटो गर्न सकिने धारणा राखेका छन् ।

सरोकारवाला निकायका प्रतिनिधिले विपद्को पूर्व तयारीले नै क्षतिको अवस्था कस्तो हुन्छ भन्ने देखाउने बताएका छन् । भौतिक संरचना निर्माण गर्दा विशेष ख्याल गरेमा पनि धेरै मात्रामा विपद्को जोखिम घटने उनीहरूको धारणा थियो । ‘हामी खोला मिचेर संरचना बनाउँदछौँ, जथाभाबी उथ्खनन् गछौं पछि खोलाले बाटो खोज्दा जोखिम बढ्छ । त्यस कारण भौतिक संरचना बनाउँदा विशेष ख्याल गरौँ ।’

मन्त्रालयले नागरिकलाई सुरक्षित राख्न कालागि सम्बन्धित मन्त्रालयलाई आफ्नो क्षेत्राधिकारभित्रबाट काम गर्न आग्रह गरेको छ । मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले नागरिकको सुरक्षाका लागि साथै उद्धार तथा राहतका लागि तत्तत् निकायबाट काम गर्न निर्देशन दिनुभयो । विपत् हुनुपूर्व नागरिकलाई सुसुचित गर्नेदेखि विपत् भइहालेमा त्यसपछि उद्धार तथा राहतको काममा एकजुट भएर लाग्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार