स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने मुख्यमन्त्री राईको धारणा

  सगरमाथा अनलाईन
98 Shares

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको उल्लेख गर्नुभएको छ ।

प्रदेश नं. १ का स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमूखीकरण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहलाई आज सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले संघीयताको जग नै स्थानीय तह भएको बताउनुभयो । उहाँले सबै जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले जोश र होस पु¥याएर काम गरेको अवस्थामा सफलता प्राप्त हुने बताउनुभयो । मुख्यमन्त्री राईले क्षमताभन्दा बढीको योजना छनौट गर्ने र टुक्राटुक्री योजनाका नाम कनिकाझंै बजेट छर्ने दुवै काम उचित नहुने धारणा व्यक्त गर्नुभयो । ‘एउटा प्रसिद्ध भनाइ छ कि, ‘एकैसाथ दश औंलाले उपियाँ मार्न खोजे एउटा पनि मर्दैन’ मुख्यमन्त्री राईले भन्नुभयो–‘सबै काम एकैचोटी गर्छु नभन्नुहोस्, एउटाएउटा काम सक्दै लैजानुहोस् ।’

उक्त अवसरमा मुख्यमन्त्री राईले प्रदेश नं. १ का १३७ वटै स्थानीय तहका प्रमुख/उपप्रमुखहरूलाई भर्खरै निर्वाचित भएकोमा बधाई ज्ञापनसहितको प्रमाणपत्र प्रदान गर्नुभयो । तालिम समापनका अवसरमा सहभागीहरूका तर्फबाट खोटाङ जिल्ला साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत, मोरङ जिल्ला उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडाले दुईदिने अभिमूखीकरण आफूहरूका लागि लाभदायक भएको बताउनुभयो । समापन समारोह प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार