विद्युत्का ५७ ग्राहकको लाइन काटियो

0 Shares

चितवन, १४ भदौ । नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने ५७ जना ग्राहकको लाइन काटेको छ ।

ऊर्जा मन्त्रालयले तीन महिनादेखि महसुल नबुझाएका ग्राहकको लाइन काट्न आदेश दिएसँगै उनीहरुको लाइन काटिएको हो ।

सरकारको आदेशअनुसार यस वितरण केन्द्रमा तीन महिनासम्म बक्यौता नतिर्ने र रु २५ हजारभन्दा बढी बक्यौता रहेका ४४९ जना ग्राहक रहेका छन् । उनीहरुबाट रु तीन करोड आठ लाख ७३६ बक्यौता उठ्न बाँकी रहेको छ, जसमा सडकबत्ती समावेश छैन । तीमध्ये आजसम्म ५७ जनाको लाइन काटिएको छ । उनीहरुबाट रु २२ लाख ३३ हजार ८१७ बक्यौता बाँकी रहेकोे वितरण केन्द्रका लेखा प्रमुख भगवान ढकालले जानकारी दिए ।

ढकालका अनुसार ४४९ ग्राहकमध्ये ३२३ ग्राहक घर बत्तीका रहेका छन् जसबाट रु एक करोड ५३ लाख ८८ हजार १३३ बक्यौता बाँकी रहेको छ । यस्तै, ४९ वटा उद्योग, २७ वटा व्यापारिक प्रतिष्ठान, १९ वटा सरकारी तथा गैरसरकारी, छवटा सिँचाइ, तीन वटा मन्दिर, ११ वटा ठूला उद्योग, रामपुर क्याम्पस, शान्ति अस्पताल, होटल, खानेपानी २÷२ वटा रहेको वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ४९ वटा उद्योगबाट रु ४४ लाख ९९ हजार ४६३, सत्ताइस व्यापारिक प्रतिष्ठानबाट रु २२ लाख २९ हजार ४८८, उन्नाइस सरकारी तथा गैरसरकारी संस्थाबाट रु १७ लाख ६४ हजार ९४१ बक्यौता रकम उठ्न बाँकी रहेको छ ।

यस्तै, छवटा सिँचाइबाट रु एक लाख ८० हजार ५३२, तीन वटा मन्दिरबाट रु एक लाख ३५ हजार २०४, पञ्चरत्न ह्याचरी उद्योगबाट रु १७ लाख ७१ हजार ९२३, अन्य ठूला १० उद्योगबाट रु १६ लाख ५१ हजार ६४४, रामपुर क्याम्पसको रु सात लाख ७७ हजार २३३, शान्ति अस्पतालको रु तीन लाख ९४ हजार ६६३, दुई वटा होटलको रु पाँच लाख ८२ हजार १८०, र दुईवटा खानेपानीको रु तीन लाख ७८ हजार ३०३ बक्यौता रहेको केन्द्रले जनाएको छ ।

कार्यालयका लेखा प्रमुख ढकालका अनुसार लाइन काटिएका ५७ ग्राहकमध्ये ३५ ग्राहकले विद्युत् महसुल बुझाएर पुनः जडान गरेका छन् । उनीहरुबाट रु २५ लाख ६० हजार ५७५ बक्यौता रकम उठेको उहाँले बताए ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरमा आव २०७२/०७३ को असार मसान्तसम्म ६६ हजार ३६१ जना ग्राहक रहेका छन् । उनीहरुबाट गत आवको मसान्तसम्ममा रु २५ करोड २५ लाख ७८ हजार ३३४ बक्यौता उठ्न बाँकी रहेको छ ।

त्यसमध्ये सडक बत्तीको बक्यौता रकम मात्र रु १५ करोड ९५ लाख २३ हजार ६५२ उठ्न बाँकी छ । यस्तै, घर बत्तीको पनि बाँकि रु छ करोड २५ लाख ७३ हजार ५२५ रहेको पनि कार्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार