पिके यात्रा संस्मरण १ : भालुसँग झ्याप्पै जम्काभेट भएको भए…..

Facebook Debugger

पी.टी.लोप्चन

‘हेल्लो ! आजै जानुपर्ने भयो । मेला त भोलि नै लाग्छ रे । भोलि सल्लेरीबाट हिडेर पुग्न हामी दुईलाई गाह्रै पर्छ……..।’ साथी हिमाल गिरीले ३१ गते बिहानै फोन गर्नुभएछ । पिके घुम्न जाने बिषयमा त्यस अघि नै सामान्य सल्लाह भए पनि असार ३१ गते नै बाटो लाग्ने कुरा चाहिं भएको थिएन । सल्लेरीबाट साउन १ गते हिड्ने र २ गते राँके मेला हेरेर फर्किने हाम्रो पूर्व योजना थियो । त्यो भन्दा पनि अझ महत्वपूर्ण काम त ‘पिकेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व’ को बिषयमा खोज अनुसन्धान गर्नु थियो ।

साउने संक्रान्तिका दिन मात्र घरबाट हिड्ने भएपछि यात्राका लागि मैले खासै तयारी गरेको थिएन । हिमाल जी ले आजै (३१ गते) जानुपर्ने बताएपछि यात्राका लागि चाहिने छाता, अतिरिक्त कपडा, खानेकुरा लगायत तयार गरी प्याकिङ गरें ।

झम्झम् पानी परिरहेको थियो, छाताले नथेग्ने गरी । लेकको बाटो जत्ति माथि गयो उत्ति नै बढी सास लाग्ने । छिटो – छिटो पाइला चाले सास कहाँबाट फ्याँकुजस्तो हुने, बिस्तारै उभिदै हिडें गन्तव्यमा नपुग्ने डर, हाम्रो यात्रा थप कष्टकर बन्दै थियो ।

सल्लेरी बसपार्क भन्दा सीधै तलतिर तामाखानी जाने मूल सडकमा हिमाल जी मलाई पर्खिरहनु भएको थियो । घरबाट एक्ला एक्लै निस्केका हामीले अब दुई जना भएर यात्रा पूरा गर्नुपर्ने मात्रै थिएन, ‘पिकेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व’ को बिषयमा खोज अनुसन्धानको काम पनि पूरा गर्नु थियो ।

ज्वालामाईदेवीको मन्दिर तलतिर पुगेपछि पानी पर्न थाल्यो । पानी नपर्दासम्म समानान्तर पाइला चालेर गफिदै हिडेका हामी दुई त्यहाँ पुगेपछि अगाडि पछाडि भएर हिड्यौं । पहिलो दिनको यात्रा त्यत्ति टाढा थिएन । हामी लोदिङको पेमा ज्यूङ्ने गुम्बा नजिकैको लजमा बास बस्यौं ।

बिहान उज्यालो भएपछि यसो आँखा उघारें । पल्लो खाटमा सुतेका साथी हिमाल गिरी खाटमा हुनुहुन्न थियो । सिरक चिटिक्क पट्याई राखेर उहाँ अगाडि नै निस्कि सक्नुभएको रहेछ । पुरातात्विक वस्तुहरुको अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने हिमाल जी ले बेलुकी नै गुम्बाका लामा सँग बिहान भेटेर गुम्बाको बिषयमा थप सोधखोज गर्ने निधो गर्नुभएको थियो । म उठिसक्दा उहाँले लामासँग अन्तर्वार्ता लिने, गुम्बाभित्रका पुरातात्विक वस्तुको फोटो लिने लगायतको काम भ्याई सक्नुभएको थियो ।

बास बसेको ठाउँबाट करिब १ घण्टा जत्ति अगाडि बढेपछि एउटा दोबाटो आयो । एउटा बाटो खोलातिर जाने र अर्को घुम्ती सडक थियो । हामी त्यही सल्लेरी –जसमाने भन्ज्याङ सडकको ट्रयाक पछ्याउँदै जाँदै थियौं । झोला बोकेर अलि पर उभिएका एक जना युवाले त्यो बाटो नजान र आफू भएतिर आउन इशारा गर्नुभयो ।

अब बाटो पार गर्न हामी तीन जना भयौं । ती व्यक्ति चौरीगोठमा रहेका आफ्ना दिदी भिनाजुलाई सामल पुर्‍याउन हिडेका रहेछन् । करिब आधा घण्टा जत्ति सँगै यात्रा गरेपछि ती युवा दिदी भिनाजुको चौरी गोठमा हामीलाई खाजा बनाईराख्ने बाचा गर्दै अगाडि लागे ।

ती युवाको दिदी भिनाजुको गोठ थाप्रे भन्ने ठाउँमा रहेछ । हामी थाप्रेमा पुग्दा चिया पकाएर ठिक्क पारेका रहेछन् । मैले चियासँग सातु र हिमाल जी ले चिया र सेर्केम (दुधबाट बनेको परिकार) खानुभयो । अब पुग्नु पर्ने ठाउँ थियो जस्माने भन्ज्याङ् । सल्लेरी – तामाखानी –जस्माने भन्ज्याङ्को सडक खन्न थालेको बर्षौ भएपनि जस्माने भन्ज्याङसम्म सडक छिचोल्न अझै निक्कै किलोमिटर बाँकी रहेछ । त्यसैले थाप्रेदेखि सीधै उकालो र घनघोर जंगलको बाटो तय गर्नुपर्ने भयो । तामाखानी, लोदिङ भेगमा बर्षेनी भालुले आतंक मच्चाउने, मानिस र वस्तुभाउलाई आक्रमण गर्ने खबर सुन्दै आएका हाम्रा लागि भालुको पनि उत्तिकै डर थियो ।


ती युवाले भने अनुसार एउटा भुँई भालु र अर्को रुख भालु हुने रहेछ । दुवै थरी भालुले मानिसलाई खोजी खोजी आक्रमण नगर्ने तर जम्काभेट भयो, खानेकुरा खाईरहेको बेला एक्कासी भालुको सामुन्ने पर्‍यो वा भालुको सानो बच्चा भएको बेला माउले आक्रमण गर्ने रहेछन् ।

भालुको बारेमा यत्ति जानकारी लिएपछि हामी थाप्रेबाट उक्लियौं । राँके बजार भर्न जाने भक्तजनहरु बाटोमा भेटिन्छन् भन्ने हाम्रो अनुमान थियो, तर त्यो अनुमानले फेल खायो । अनकन्टार जंगलभित्रको बाटोमा भेटिने च्याउ टिप्दै, केही गफिदै हामी बल्ल १ बजेतिर मात्र जस्माने भन्ज्याङ उक्लियौं ।

पिके यात्रामा निस्केको भएपनि जस्माने भन्ज्याङ पुग्दा सम्म दोस्रो दिनको बास कहाँ हुने र कता जानुपर्ने टुङ्गो लागेको थिएन । किनकि ‘पिकेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व’ बिषयको अनुसन्धानात्मक कामको लागि काठमाडौबाट समेत एक टोली आईरहेको थियो ।

जस्माने भन्ज्याङ पुगेर फोन गर्दा मात्र थाहा भयो, उक्त टोली पहिरोका कारण बीच बाटोमै आएर काठमाडौ फर्किएको रहेछ । अब हामीले पिके बेस क्याम्प अर्थात पिके डेरीमा पुग्नुपर्ने भयो । जंगलको बाटो भएकाले बरु चाँडै पाइला चालिहाल्नु भनेपछि खाना खाएर करिब २ बजे जस्माने भन्ज्याङबाट अघि बढ्यौं ।

झम्झम् पानी परिरहेको थियो, छाताले नथेग्ने गरी । लेकको बाटो जत्ति माथि गयो उत्ति नै बढी सास लाग्ने । छिटो – छिटो पाइला चाले सास कहाँबाट फ्याँकुजस्तो हुने, बिस्तारै उभिदै हिडें गन्तव्यमा नपुग्ने डर, हाम्रो यात्रा थप कष्टकर बन्दै थियो ।

बर्षौ पहिले रेडियो कार्यक्रम निर्माणको क्रममा म गोलीबाट ङउर हुँदै जस्माने भन्ज्याङ निस्केर सल्लेरी आएको थिएँ । साथी हिमाल गिरीले पनि द्धन्द्धकालमा यो बाटो धेरै पटक छिचोल्नु भएको रहेछ । तर जंगलभित्रको बाटो र भुँई नै ढाक्ने गरी लागेको बादलका कारण पिके डेरी निस्कने बाटो पहिल्याउनै सकेनौं ।

बाटो हराएपछि जंगलभित्रको चार घण्टा र पिकेको पूरा यात्राबारे ‘पिके यात्रा –२’ मा प्रतिक्षा गर्नुहोला ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार