स्वास्थ्य मन्त्री वलीको राजीनामा स्वीकृत

  सगरमाथा अनलाईन
84 Shares

रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री वलीले असार १२ गते दिएको राजीनामा आज स्वीकृत भएको प्रदेशसभामा जानकारी गराएका थिए ।

यसअघि आज दिउँसो बसेको लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशनको १९ औं बैठकको सुरुमै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली घटनाको विषयमा सरकारको धारणा मागेका थिए । जेठ ३१ गते वली प्रेमी भनिएका दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिटमा संलग्न भएपछि विवादमा तानिएकी थिइन् ।

घटनाको छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनलाई राजीनामा दिन लगाइएको हो । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् ।

त्योभन्दा अगाडि एमालेमा रहेकी उनले माओवादी रोजेपछि एमालेले सदनमा कारबाही माग गर्दै आएको छ । माओवादीले उनलाई राज्यमन्त्री बनाउने गरी प्रवेश गराएको थियो । पटक–पटक विवादमा परेकी वलीको विषयमा गरिएको छानबिन प्रतिवेदन बुधबार आउने बताइए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

असार १२ गते मुख्यमन्त्रीलाई राजीनामा दिइएको भए पनि १५ गते अबेरसम्म माओवादीले यसलाई गोप्य राखेको थियो । एमालेले बजेट पाास गर्ने प्रक्रियामा अवरुद्ध गर्ने र छानबिन प्रतिवेदनमा उनी दोषी भएको ठहर्ने संकेत पाएपछि हतार-हतारमा उनको राजीनामालाई अगाडि बढाइएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार