मेरापिक राष्ट्रिय निकुञ्जको सिमाङ्कन बारे

  दिलिप सिंह कुलुङ
1.5k Shares

स्थानीय सरोकारवालाहरुको निरन्तर दबाव पछि मिति २०७८।८।२९ मा नेपाल सरकार, बन तथा वातारण मन्त्रालय (मा. मन्त्रीस्तर) निर्णयबाट प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा सम्भाव्यता अध्ययन स्थलगत अध्ययन कार्यदल’ बन्यो । जुन कार्यदलले मिति २०७९।०१।०१ मा एक आधिकारिक सूचना जारी गरेर आवश्यक राय सुझावको लागि स्थानीय सरोकारवालाहरुलाई अनुरोध गरिसकेको अवस्था छ ।

यही बीचमा आफ्नो राय सुझाव दिने बहानामा केही छिमेकी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो पालिको भूभागलाई पनि प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्जभित्र समेटियोस् भनी नयाँ माग अघाडि सारेका छन् । छिमेकी जिल्लाका केही माननीयज्यूहरुले पनि यस्तै किसिमको आवाजहरु उठाउन थालेका छन् ।

तर जसरी आफ्नो भूक्षेत्रलाई प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्जभित्र गाभिनु पर्दछ भनेर अहिले पहलकदमी देखिएको छ – यसकाप्रति हामी आम सरोकारवाला महाकुलुङवासीहरुको गहिरो ध्यानाकर्षण भएको छ । अर्थात सोलुखुम्बुपट्टिको मकालु बरुण राष्ट्रिय निकुञ्जको भागलाई महाकुलुङ गाउँपालिकाको क्षेत्रफल ६४८.०५ वर्ग किलोमिटरलाई नै सर्लक्क मेरापिक राष्ट्रिय निकुञ्जको भौगोलिक क्षेत्र हुने गरी छुट्टै नयाँ राष्ट्रिय निकुञ्ज घोषणा गरिनु पर्दछ ।

नेपाल पक्ष राष्ट्र भईसकेका आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र(२००७), श्रम संगठन महासन्धि नं. १६९, जैविक विविधतासम्बन्धी महासन्धि(१९९२) जस्ता अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धिहरुमा ३ ‘ज’ अर्थात् जल, जमीन र जंगलमाथि सम्बन्धित आदिवासीहरुको अग्राधिकारको व्यावस्था छ । जसानुसार कुनै पनि योजना या परियोजना सञ्चालनमा आउनु अघि सम्बन्धित आदिवासी समुदायले सम्बन्धित योजना या परियोजना र त्यसबाट हुने लाभको बाँडफाँटबारे पूर्ण रुपमा सुसूचित हुने अधिकार राख्दछन् । तर, तर सन् १९९२ मा मकालु बरुण राष्ट्रिय निकुञ्ज स्थापना हुँदै गर्दा यी विधिहरु पटक्कै अपनाइएनन् ।

फलस्वरुप मध्यवर्ती क्षेत्रभित्रका मानिसहरुले सामान्य सेवा लिनलाई पनि संखुवासभा जिल्लाको सेदुवालगायत अन्य ठाउँ धाउनु पर्ने परिस्थिति वर्षौदेखि झेल्नु पर्यो । भौगोलिक विकटता र कठिनाईकै कारण ओहोरदोहोर गर्न कम्तिमा पनि एकाध हप्ताको समय खेर फाल्नु पर्यो । अझ पर्यावरण प्रर्वद्धन तथा जैविक विविधता संरक्षण कार्य ज्यादै फितलो भयो । दोस्रो कुरा मध्यवर्ती क्षेत्रका स्थानीय वासिन्दाहरुलाई मकालु बरुण राष्ट्रिय निकुञ्जबाट सेवाभन्दा पीडा दिने काम कैयौँ गुणा बढी भयो । अर्कोतिर आदिवासी कुलुङहरुको धार्मिक, आध्यात्मिक, साँस्कृतिक तथा परम्परागत मुल्य मान्यता र अभ्यासमाथि निर्ममतापूर्वक दमनको नीति मकालु बरुण राष्ट्रिय निकुञ्जले लियो । तसर्थ स्थानीय समुदाय र मकालु बरुण राष्ट्रिय निकुञ्जबीच मित्रवत नभई एकआपसमा शत्रुवत सम्बन्ध निर्माण हुन पुग्यो । अझ भन्ने हो भने आदिवासी कुलुङहरुको परम्परागत जीवन शैली नराम्ररी विथोलियो । कतिपय हाम्रा प्रथाजनित या परम्परागत अभ्यासहरु त लोप नै भइसकेका छन् ।

वास्तवमा प्रकृतिजन्य वस्तुहरुका असली तथा स्थायी संरक्षक भनेकै आदिवासी स्थानीय समुदाय हुन् । राष्ट्रिय निकुञ्जको अवधारणा त भर्खर न ल्याईका हुन् । नेपालको सवैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हुन्, जुन सन् १९९३ यता अस्तित्वमा छ । संसारकै पुरानो राष्ट्रिय निकुञ्ज सन् १७८३ मा स्थापना भएको Bogd Khan Uul National Park हो, जुन मंगोलियमा अवस्थित छ ।

यसको करिब एक शताब्दी पछि अमेरिकाको Yellowstone National Park को स्थापना सन् १८७२ मा भयो । त्यस यता संसारभर राष्ट्रिय निकुञ्जहरु स्थापना गर्ने लहरवाजी नै चल्न थाल्यो । यसबाट हामी सहजै अनुमान गर्न सक्छौँ कि वातावरण संरक्षणमा राष्ट्रिय निकुञ्जको अवधारणा नयाँ हुन् । यी र यस्ता राष्ट्रिय निकुञ्जहरुको अवधारणा विकसित हुनुपूर्व विश्वका ५,००० भन्दा बढी फरक सम्प्रदायका आदिवासीहरुले आफ्नो क्षेत्रका वातावरण संरक्षण आफै गर्ने गर्दथे । र, त्यसबाट प्राप्त हुने लाभले आ–आफ्नो दैनिकी सहज बनाउने गर्दथे ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज आउनु अघि त्यसरी नै प्रकृतिपुजक आदिवासी कुलुङहरुले पनि आफ्नै परम्परागत ज्ञान प्रयोग गरेर यहाका पर्यावरण तथा जैविक विविधताको संरक्षण संगसंगै आफ्नो आवश्यकता अनुसार तिनको उपभोग पनि गर्ने गर्दथे । र, यो प्रथा केही हदसम्म अझै पनि जीवितै छ । विभिन्न अध्ययनले प्रमाणित गरिसकेको कुरा – प्रकृति र आदिवासी संस्कृतिबीच अति नै सन्तुलित र नजिकको सम्बन्ध रहदै आएको छ । प्रकृतिविना आदिवासीहरुको धर्म, परम्परा, संस्कृतिको परिकल्पना गर्न सकिन्न । त्यसकारण वातावरण संरक्षणमा आधुनिक निकुञ्जको अवधारणा भन्दा आदिवासीय परम्परागत ज्ञान बढी प्रभावकारी हुन्छ भन्ने कतिपय पश्चिमा वैज्ञानिकहरुको मत पनि रहदै आएको छ ।

प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्जको प्रस्तावित भौगोलिक क्षेत्र आदिवासी कुलुङहरुको उद्गम थलो हो । उपयुक्त हावापानीको खोजी गर्ने क्रममा करिब ५,००० वर्षअघि हाम्रो पिताजीहरु प्राचीन सिल्क रोडको बाटो पछ्याउदै हालको अफगानिस्तान, पाकिस्तान र भारतको गंगा तटीय क्षेत्र हुँदै पूर्वी नेपालको बराह क्षेत्रमा आए । पुन: बराहक्षेत्रबाट रावाखोला हुँदै महाकुलुङ उपत्यका अर्थात हुङ्गा नदी आसपास हाम्रा चार पुर्खाहरु खप्दुलु(पिल्मो), ताम्सी, राताप्खु(सोत्तो) र छेम्सी पुर्खाहरुको प्राग्इतिहास कालमै प्रवेश भएको अनुमान छ । ती ४ पुर्खाहरुबाट सुरु भई आजसम्म करिब ३,५०० वर्षबीचको दौडानमा एउटा भिन्न मानव सभ्यताको निर्माण भयो । जसलाई आज हामी महाकुलुङ सभ्यता भनेर गर्व गर्दर्छौ । यी सभ्यता अन्तर्गत निर्माण भएका कुलुङ भाषा, धर्म, संस्कृति, संस्कार, परम्परा, प्रथाजनित कानून आदि आज राष्ट्रिय निकुञ्जकै प्रतिकुल नीतिका कारण जोखिममा परेको छन् ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज स्थापना यता थुप्रै मानिसहरुले वन्यजन्तुको आक्रमणमा परेर ज्यान गुमाएका छन्, कोही अपाङ्ग भएका छन् । घरपालुवा जनावर र कृषिबालीमाथि लाखौ मूल्य बराबरको क्षेति भएको छ । तर स्थानीय समुदाय र बन्यजन्तुबीच द्धान्द व्यावस्थापनमा मकालु बरुण राष्ट्रिय निकुञ्ज कहिल्यै गम्भीर भएनन् । क्षेतिपूर्तिको नाममा वर्षौ झुलाउने, अनावश्यक बखेडा झिकेर जनतालाई दुःख दिने कार्यले निकुञ्जप्रतिको जनधारणा सकारात्मक बन्न सकेको छैन । ३० वर्षको इतिहासमा मकालु बरुण राष्ट्रिय निकुञ्जले त्यस्तो कुनै लाभ वा प्रतिफल दिन नसक्नु जनताको चित्त दुखाईको विषय बनेको छ । कतै विभेदको अनुभूति पनि नभएको होईन । यसकारण पनि छुट्टै राष्ट्रिय निकुञ्जको माग र औचित्य बढेर गएको हो ।

वर्षौ लामो महाकुलुङवासीहरुको अथक संघर्ष र पीडामाथि प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्जको सिमाङ्कनलाई लिएर भद्धा मजाक आवश्यक छैन । यति हल्का तरिकाले मेरो गाउँपालिका, फलाना जिल्लाको गाउँपालिका समेटिनु पर्यो भनेर महाकुलुङवासी जनताको अपमान हुने कार्य बन्द होस् । निकुञ्जको नाममा यहाका जनताले धेरै दुःखहरु भोगिसकेको छन् । धेरै अन्याय सहिसकेका छन् । अझ माप्यको माथिल्लो भेग पनि प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्जमा गाभ्दा हुन्छ अरे । बरु सगरमाथा राष्ट्रिय निकुञ्जमा गाभ्नु होला – हाम्रो सुझाव यही छ । यद्यपी सम्बन्धित विज्ञ समूहबाटै सिमाङकन् विस्तार गर्ने सम्बन्धमा वैज्ञानिक कारणसहित कुरा उठ्यो भने पुनर्विचार गर्न सकिन्छ ।

बुँदागत रुपमा राय सुझाव संक्षिप्तमा तल प्रस्तुत छ

१. महाकुलुङ गाउँपालिकाको क्षेत्रफल ६४८.०५ वर्ग किलोमिटरलाई नै सर्लक्क मेरापिक राष्ट्रिय निकुञ्जको भौगोलिक क्षेत्र हुने गरी प्रस्तावित राष्ट्रिय निकुञ्ज यथाशिघ्र घोषणा गरिनु पर्दछ ।

२. आदिवासी कुलुङहरुको कतिपय कुल पितृ बुझाउदा र मरौपरौमा अनिवार्य रुपमा बन्यजन्तुको अंगहरु आवश्यक हुन्छ । निकुञ्जको मूल उद्धेश्य बन्यजन्तु संरक्षण हुदाहुँदै पनि वर्षौँदेखि अस्तित्वमा रहेको आदिवासी कुलुङहरुको यो साँस्कृतिक अभ्यासलाई असर नपर्ने गरी सहजीकरणको भूमिका या नीति निकुञ्जले अपनाउनु पर्दछ ।

३. स्थानीय जनताको धर्म, भाषा, संस्कार र परम्परा मैत्री नीति तथा व्यवहार दुवै राष्ट्रिय निकुञ्जले अपनाउनु पर्दछ । किनकि प्रकृति जतिकै हाम्रो संस्कार–संस्कृति पनि राष्ट्रको गहना हो

४. वर्षौँदेखि लेकाली क्षेत्रमा याक, चौरी र भेडाको लागि रहेका चरणक्षेत्रहरुलाई यथावत राख्नु पर्दछ ।

५. प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्जकै कारण कोही पनि स्थानीय जनता विस्थापित हुनु हुदैन ।

६. भौतिक विकासका पूर्वाधार निर्माणमा पनि राष्ट्रिय निकुञ्जले सहयोगी भूमिका खेल्नु पर्दछ ।

७. राष्ट्रिय निकुञ्जभित्र कुनै मानवीय वा अन्य क्षेति हुन गएमा त्यसको समयसापेक्ष उचित क्षेतिपूर्ति तत्काल उपलब्ध गराइनु पर्दछ ।

८. पर्यटन पूर्वाधार विकास निर्माणमा राष्ट्रिय निकुञ्जले पूर्ण रुपमा स्थानीय सरकारलाई सघाउनु पर्दछ ।

९. स्थानीयवासीहरुको आर्थिक जीवन सहज बनाउन उत्पादनशील क्षेत्रमा राष्ट्रिय निकुञ्जले स्थानीय सरकारसंगको सहकार्यमा सम्भव भएसम्म लगानी गर्नु पर्दछ ।

१०. जलवायु परिवर्तन रोकथाम र नियन्त्रणसम्बन्धी विश्वका विज्ञ संस्थाहरुसंग राष्ट्रिय निकुञ्जले सहकार्य गर्न सक्नु पर्दछ ।

अन्त्यमा आदिवासीहरुको वसोवास क्षेत्रमा राष्ट्रिय निकुञ्ज स्थापना गर्नु वास्तवमा आदिवासी समुदाय स्वयमले आफ्नो धार्मिक, साँस्कृतिक तथा परम्परागत मुल्य मान्यतामाथि डोजर गुडाउनु हो । तर, पनि वर्तमान समयमा राष्ट्रिय निकुञ्जहरु पर्यटन गन्तव्य, विकास र प्रबद्र्धनको लागि एक अभिन्न अंग जस्तो भइसकेको छ । यसर्थ मुटुमाथि ढुङ्गा राखेर भन्दैछौँ – पर्यटन मार्फत स्थानीय जनताको आर्थिक समृद्धिको लागि मेरापकि राष्ट्रिय निकुञ्ज यथाशिघ्र घोषणा हुनु पर्दछ । विगत ३० वर्ष लामो समय हाम्रो समुदायले त्याग गरेकै हो, अझै पनि त्याग गर्न जरुर तयार र्छौँ । तर, महाकुलुङ गाउँपालिकाको जुन भूक्षेत्र छ, त्यसैलाई नै सर्लक्क मेरापिक राष्ट्रिय निकुञ्जको भौगोलिक क्षेत्र हुने शर्तमा ।

दिलिप सिंह कुलुङ, छेस्काम, सम्पर्क नं. ९८४९८००७०९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार