पिके यात्रा : बाटो बिराउँदा झण्डै जंगलको बास

Facebook Debugger

पी.टी.लोप्चन : सँगैको साथी हिमाल जी ले ‘ढिलो गर्ने होइन, बरु खाना खानसाथ बाटो तताईहाल’ भन्ने खबर आयो भन्नासाथ बाटो निक्कै लामै होला भन्ने मैले अनुमान लगाएको थिएँ । त्यसैले एक दुई घण्टामै पुगिहाल्ने अभिलाषा पलाएन मनमा । ‘एउटा पहिरो आउँछ, पहिरो पार गरेपछि एउटा चौर आउँछ । बाटोमा जिआई पाईपहरु पनि भेट्नुहुन्छ र एउटा ठूलो रुखमा पिके भनेर संकेत चिन्ह पनि पाउनुहुन्छ’ जस्माने भञ्ज्याङ छोड्ने बेला होटलवालाले भनेको यही कुरा मनमा खेलाउँदै अगाडि बढिरहें ।

जंगलको बाटो । झम्झम् पानी पर्न थाल्यो, छाताले नथेग्ने गरी । उकालो बाटो अगाडि नै हेरे पार गर्न आँट नै नआउने । त्यसैले छाता ओढेर एकोहोरो हिडिरहें । मनमा एउटै कुरा खेलिरह्यो ‘कतिबेला आईपुग्ने होला होटलवालाले भनेको पहिरो, चौर अनि पिके तिर जाने संकेत चिन्ह ?’

बादलले डम्म ढाकिएको थियो । गन्तव्य कति टाढा हो त्यो पनि थाहा थिएन । हामीले दोस्रो पटक पनि बाटो बिराएको महसुस गर्न थालिसकेका थियौं । एकैछिन अगाडि जस्तो झोला र शरिर नै छिर्न नसक्ने घारीमा हिड्नु नपरेपछि हिड्नलाई भने केही सजिलो र आराम महसुस भएको थियो ।

 

जति अगाडि बढे पनि होटलवालाले भनेको ठूलो पहिरो आउने छाँट थिएन । ठूलो पहिरो नै नभेटेपछि पिके जाने संकेत चिन्ह पाउने त कुरै थिएन । जीउ थाकेर लखतरान भईसकेको थियो । थकाई मारुँ पानी पर्न छाडेको थिएन । बाटोमा एक जना मान्छेसँग भेट भयो । ती व्यक्ति जस्मानेतिर फर्किदै थिएँ । ‘ठूलो पहिरोमा पुग्न कति बाँकी होला ?’ हिमाल जीले ती व्यक्तिलाई सोध्नुभयो । उनले पुग्नै लागेको जवाफ दिए । उक्त कुरा सुनेर शरिरमा केही जाँगर पलायो ।

पुग्नै लागेको भनिएको ठूलो पहिरो पुग्न पनि हामीलाई निक्कै समय लाग्यो । पहिरो त पार गरियो, तर होटलवालाले भनेजस्तो ठाउँ भेटिएन । खुला चौर थियो तर जिआई पाईप थिएन । एउटा ठूलो रुखमा रङले ‘पी’ लेखेको भेटियो तर जस्मानेतिर जस्तै प्लेटमा लेखेको संकेत चिन्ह भेटिएन । हामी कहाँ जाने अलमलमा पर्‍यौं । जंगलको बीच भागमा सोधेर निधो गरौं भने चरा, मुसा समेत थिएन । बाटो हिड्ने कोही आईपुगे सोधेर मात्र बाटो तय गरौं भनेर केहीबेर कुर्‍यौं, तर कोही आएनन् । त्यसैले जिआई पाईप र संकेत चिन्ह भेट्ने आशाले हामी त्यहाँबाट पनि मूलबाटो नछोडी अघि बढ्यौं ।

जब पहिरो अगाडिको चौरमा पुग्यौं तब थाहा भयो, बाटो त त्यहीबाट बिराएका रहेछौं । करिब ४० मिनेटमा पुगिने ठाउँका लागि जंगलभित्र करिब ४ घण्टा भौतारिएछौं हामी ।

त्यहाँबाट निक्कै अगाडि बढेपछि पनि होटलवालाले भनेजस्तो ठाउँ नभेटेपछि हामीले बाटो बिराएकै हो भन्ने लागिसकेको थियो । तर धेरै अगाडि बढिसकेकाले पछाडि फर्किन सक्ने आँट पनि थिएन । अब एउटै आशा बाँकी थियो, चौरी गोठाला भएपनि भेटिनेछ र उसैलाई सोधेर गन्तव्य पत्ता लगाईनेछ ।

हामी हिड्दै गरेको ठाउँभन्दा धेरै तल कुहिरोभित्र कुकुर भुकेको आवाज आयो । अब हामीले आफ्नो पाइलालाई त्यतै सोझ्याउने भयौं । ‘गाई हिडेको गोहो नछोडी हिड्नुहोस् है ।’ साथी हिमाल गिरी भन्ने गर्नुहुन्थ्यो । केही समय हिडेपछि बल्ल हामी कुकुर भुकेको ठाउँनेर पुग्यौं । त्यहाँ दुईवटा चौरी गोठ रहेछ । तर बाटो भन्दा अलि पर । ‘पिके डेरी जाने बाटो कता हो ?’ हिमाल जी वरबाटै चिच्याउनुभयो । ‘तपाईहरुले बाटो बिराउनुभयो, अब त्यहाँबाट सीधैं उकालो जानुहोस्, त्यसपछि मूलबाटो भेट्नुहुन्छ । तर त्यो मूल बाटो नगई सीधै उकालो नै लाग्नुहोस् । तपाईहरु कामे दाइको नयाँ होटलमा पुग्नुहुन्छ । पिके डेरी त्यो भन्दा अलि परतिर पर्छ ।’

खुट्टा गलिसकेको थियो । बस्नलाई कतै ओभानो ठाउँ थिएन । तैपनि चौरी गोठालोले भने अनुसार उकालै उक्लिनुको विकल्प थिएन । अघि अघि हिड्नु भयो साथी हिमाल । उहाँको पदचाप पछ्याउँदै मैले हिड्ने प्रयत्न गरें ।

चौरी गोठालोले भने अनुसार नै मूल बाटो त भेटियो तर उनीहरुले भनेका थिए ‘मूल बाटो नगई सीधै जंगलकै बाटो जानु ।’ तर जंगलको बाटो पहिल्याउनलाई वस्तु हिड्ने गोहो पनि थिएन । बाटो नै नभएपनि हामी दुई जंगलभित्रै छिर्यौं । गुराँस, चिमल र धुपीको घारी, अगाडि बढ्दा पछाडि तानिन्थ्यो । कहिले झोला तानिने, कहिले शरिर समेत अड्किने । हामी मुश्किलले जंगलक्षेत्र पार गरी खुला ठाउँमा निस्कियौं ।

बादलले डम्म ढाकिएको थियो । गन्तव्य कति टाढा हो त्यो पनि थाहा थिएन । हामीले दोस्रो पटक पनि बाटो बिराएको महसुस गर्न थालिसकेका थियौं । एकैछिन अगाडि जस्तो झोला र शरिर नै छिर्न नसक्ने घारीमा हिड्नु नपरेपछि हिड्नलाई भने केही सजिलो र आराम महसुस भएको थियो ।

भुँई कुहिरोले नजिकैको चौरी पनि देख्न सक्ने अवस्था थिएन । जत्ति अगाडि बढ्दै गयो त्यत्ति नै अनिश्चितता बढ्दै गएपछि नुन खाएको कुखुरा जस्तै भईसकेका थियौं । एउटा ढुंगामाथि बसेर हामी कता कता मानिसको आवाज ठम्याउने चेष्टा गरिरहेका थियौं । अलि अलि मधुरो आवाज सुनेपछि हामी त्यतैतिर झर्यौं ।

नजिक पुगेपछि मात्र थाहा भयो, तिनीहरु त हामीले जस्माने भञ्ज्याङमै छोडिराखेका साथीहरु रहेछन् । उनीहरु पनि बजार भर्न पिके डेरीतिरै हिडेका रहेछन् । यो कुरा थाहा पाएपछि बल्ल सास आयो । अब पिके डेरी पुग्नेमा हामी ढुक्क भयौं ।

हामीले उनीहरुको पिछा गर्न थाल्यौं । सँगै हिडेको करिब २० मिनेटमै हामी पिके डेरी पुग्यौं । त्यहाँ पुग्दा रामेछापको बाम्ती भण्डार, ओखलढुङ्गाको पात्लेतिरका भक्तजनहरु बजार भर्न आईसकेका रहेछन् । हामीले पहिलो पटक बिराएको बाटोबाट मूलबाटो भेटेपछि सीधै आएको भए पिके डेरीमा १ घण्टा अगाडि नै आईपुग्ने रहेछौं । यो कुरा हामीले सम्पर्क गर्नुपर्ने व्यक्ति आङ दावा शेर्पा मार्फत थाहा पायौं ।

सल्लेरीबाट हिडेको तेस्रो दिन । हाम्रा लागि यो दिन विशेष दिन थियो । स्थानीयबासिन्दाले यो दिनलाई राँके भन्दोरहेछ । राँकेको दिन बारीमा पस्न नहुने किंवदन्ती अनुसार पिके आसपासको बस्तीका मानिसहरु यो दिन पिकेमा बजार भर्न आउँदा रहेछन् ।

हामीलाई अघिल्लो दिन जस्तो हराउने डर थिएन । किनकि हामीले अघिल्लो दिन नै त्यहीका पेम्बा शेर्पासँग डुल्ने सल्लाह गरेका थियौं । पेम्बा जीले हामीलाई पिकेको मुख्य मुख्य स्थानहरु, लामा र आनीको ध्यान गर्ने ठाउँ, देबीथान, च्यावा पिके तथा गोले पिके दुवैको चुचुरोमा पुर्‍याएर उहाँलाई थाहा भएजत्ति वर्णन समेत गरिदिनुभयो ।

हामी तेस्रो दिन पिकेको रमणीय स्थानहरु घुमेर फेरि पिके डेरीमै बास बस्न पुग्यौं । डेरीमा अघिल्लो दिन जस्तो मानिसहरुको भीड थिएन । साउने संक्रान्तिका दिन टाढा टाढा बाट आएका भक्तजनहरु पिके डेरीमा भेला भई रातभरि नाचेपछि राँके (साउन २ गते) को बिहानै देवीको दर्शन गरी सुनपाती संकलन गरेर अ आफ्नो घर फर्किदारहेछन् ।

हामीले केही सुनपाती संकलन गर्‍यौं । त्यो भन्दा पनि अझ महत्वपूर्ण काम त ‘पिकेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व’ को बिषयमा खोज अनुसन्धान गर्नु थियो । हामीले त्यही उद्देश्य परिपूर्तिका लागि त्यहाँका स्थानीय बासिन्दासँग विभिन्न चरणमा छलफल, अन्तरक्रिया तथा प्रश्नोत्तर गरी तेस्रो दिनको बास पिके डेरीमै बस्यौं ।

चौथो दिनको यात्रा अलि लामो थियो । घरबाट जाँदा दुईदिन लगाएर पार गरेको दुरी एकैदिन पूरा गर्नुपर्ने दायित्व थियो हामीसँग । तर जाँदा जस्तो बाटो हराउने सम्भावना यसपटक थिएन किनकि हामीसँग पिके डेरीदेखि जस्माने भञ्ज्याङसम्मै जाने आङ फूला शेर्पा पनि हुनुहुन्थ्यो ।

अघि अघि आङ फूला, पछि – पछि हामी दुई जना । जब पहिरो अगाडिको चौरमा पुग्यौं तब थाहा भयो, बाटो त त्यहीबाट बिराएका रहेछौं । करिब ४० मिनेटमा पुगिने ठाउँका लागि जंगलभित्र करिब ४ घण्टा भौतारिएछौं हामी ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार