हिमाल एफ.एम. बाट प्रसारणको हौवा फैलाईरहेको रेडियोको यस्तो हालत

Facebook Debugger

सोलुखुम्बु । पूरा टावरको आधा भन्दा बढी भाग भुँईमा बजारिएको यो टावर हिमाल एफ.एम.मार्फत प्रसारणको हौवा फैलाईरहेको रेडियो एभरेष्ट ९७.७ मेगाहर्जको हो ।

टावर ढलेको तीन बर्षभन्दा बढी भईसक्दा समेत हिमाल एफ.एम.मार्फत ‘नेपालको आधा भूभागमा हिमाल एफ.एम.९०.२ मेगाहर्ज, रेडियो एभरेष्ट ९७.७ मेगाहर्ज र खुम्बु एफ.एम.९३.२ मेगाहर्ज’ मा ….कार्यक्रम सुनिरहनुभएको छ, भन्न छाडिएको छैन ।

सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ९ र ३ को सीमानामा पर्ने पिके डाँडामा २०७३ कार्तिक/मंसिरमा बनाएको उक्त टावर सोही सालको फागुन चैत्रमै ढलेको थियो । र पनि अहिले सम्म हिमाल एफ.एम.ले रेडियो एभरेष्टको नाम उच्चारण गर्न छाडेको छैन । रेडियो पिके सञ्चार प्रा.लि. ले २०७१/०७२ मा १००० वाट क्षमताको ‘रेडियो पिके सोलुखुम्बु’ भनेर दर्ता गरिएको थियो । हिमाल एफ.एम.ले सोही रेडियोको कल साइन र फ्रिक्वेन्सी नै परिवर्तन गरी फेक रेडियोको रुपमा ‘रेडियो एभरेष्ट ९७.७ मेगाहर्ज’ भनेर हालसम्म गलत प्रचार गरिरहेको छ । हिमाल एफ.एम.कै भगिनी रेडियोको रुपमा सञ्चालन गर्ने उद्देश्य राखिएको उक्त रेडियो प्रसारणमा नरहेपनि विज्ञापनदाताबाट रकम उठाउन अहिले पनि रेडियो एभरेष्ट प्रसारणमा रहेको हौवा फैलाईरहेको हो ।

वेबारिसे अवस्थामा रहेको रेडियोको टावर नहटाउँदा प्राकृतिक छटाले भरिएको पिके डाँडाको शोभा समेत घटेको छ । हरेक बर्षको साउन २ गते लाग्ने राँके मेला भर्न छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका भक्तजन पिके पुग्ने गरेका छन् भने मुख्य पर्यटकीय सिजनमा दैनिक औसत १० जना भन्दा बढी विदेशी पर्यटक पिके घुम्न आउने सोलुदुधकुण्ड नगरपालिकाको जस्माने भन्ज्याङका आङ फुला शेर्पाले बताए ।

भुँईमा बजारिएको अवस्थामा रहेको रेडियोकोे टावर र असरल्ल छरिएका विद्युतीय तारका कारण दुर्घटना हुने हो कि भन्ने त्रास समेत पैदा गरेको छ । राँके मेलामा भेटिएका ओखलढुङ्गा पात्लेका दावा याङ्जी शेर्पा भन्छिन् ‘हामी त सुनपाती संकलन गर्न आएका थियौं, तर पाखैभरि तार छरिएको रहेछ, कतै करेन्ट लाग्ने हो कि भनेर डर लागेर सुनपाती नकाटी आयौं ।’

रेडियोको टावरका लागि आवश्यक पर्ने विद्युत आपूर्तिका लागि लोदिङदेखि तार टाँगेर थाप्रे, जस्माने भन्ज्याङ हुँदै पिके डाँडा पुर्‍याईएको थियो । ठाउँ ठाउँमा जंगल समेत फडानी गर्दै गाडिएको काठको पोल समेत मक्किएर ढल्ने अवस्थामा पुगेको छ । कुहिन थालेको पोल नफेर्ने हो भने कुनै दिन ठूलो दुर्घटना हुनसक्ने सम्भावना देखिएको सोलुदुधकुण्ड नगरपालिकाको पिकेखोपका ङिमा शेर्पाले बताए । ‘जंगलमा चौरी, याक र गाई हुन्छन् । मानिसहरु पनि आवातजावत गर्छन् । पोल मक्किएर ढल्ने अवस्थामा पुगेको छ । हरियो रुखमा करेन्ट प्रवाह हुन्छ भन्ने सुनेको छु, त्यसैले पोल फेर्नुपर्ने देखेको छु ।’ उनले भने ।

टावरका लागि फिँजाएको तार पाखैभरि छरिएको भएपनि स्थानीयबासिन्दाले भने अहिले पनि बिजुली बालिरहेका छन् । जस्माने भन्ज्याङका गेलु शेर्पा भन्छन् ‘हिमाल एफ.एम.ले गर्दा हामीले बिजुली चाहिं बाल्न पायौं, रेडियो त २ महिना पनि राम्रो सँग चलेन ।’

रेडियोको टावर पुनः मर्मत गरेर चलाउने सम्भावना नभएकाले बेवारिसे टावर तत्काल हटाउन लगाउनुपर्ने पिकेखोपका आङकामी शेर्पाले बताए ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार