पहिचान विरोधी दलहरुको विरुद्ध आन्दोलन गर्न तयार रहनुसः अध्यक्ष यादव

किरात प्राचिन सभ्यता भएकाले सबैले स्वीकार गर्नुपर्छ: अध्यक्ष राई

  सगरमाथा अनलाईन

काठमाडौं । जनता समाजवादी पार्टीका कार्यकारीणी अध्यक्ष उपेन्द्र यादवले पहिचान विरोधी दलहरुको विरुद्धमा आन्दोलन गर्न तयार रहनु पर्ने बताएका छन् ।

आदिवासी किरात महासंघको अध्यक्ष धिरेन बाहिङको अगुवाईमा प्रदेश १ लाई किरात नामाकरण गर्नुपर्ने माग राख्दै बुझाईएको ज्ञापन पत्र लिदै अध्यक्ष यादवले पहिचान विरोधी दलहरुसँग होसियार रहँदै आन्दोलनमा उत्रिनु पर्ने परिस्थिति आउन सक्ने बताएका हुन् । त्यसैगरी जसपाका संघीय परिषदका अध्यक्ष अशोककुमार राईलाई पनि महासंघले ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र लिँदै अध्यक्ष राईले पार्टिको अवधारण १० जोड १ भएता पनि प्राचिन सभ्यता किरात भएकोले नामाकरणमा सहयोग गर्ने बताए । पहिचानलाई सकारात्मकरुपमा अगाडी बढाउने पार्टीको लक्ष्य रहेको पनि राईले स्मरण गर्नुभयो ।

संघीय संरचनामा अन्य प्रदेशहरुको नामाकरण भैसकेता पनि प्रदेश १ को नामाकरण भएको छैन । प्रदेश १ को नामाकरण गर्दा प्राचिन इतिहासमै किरात भूमि, किरात सभ्यता, किरात संस्कृति रहेकाले प्रदेशको नाम किरात प्रदेश नामाकरण गरिनु पर्ने ३ बुदे माग महासंघले राखेको छ ।

महासंघका बरिष्ठ सल्लाहाकार पृथ्वीराज बान्तावले जसपा पहिचानवादी दल भएकोले पहिचानलाई नामाकरणमा सकरात्मक भूमिका रहनु पर्नेमा जोड दिनुभयो । महासंघका अध्यक्ष धिरेन बाहिङले जसपा पहिचानवादी दल भएकोले प्रदेश नं १ नामाकरणमा महत्वपूर्ण भूमिका पार्टीले खेल्नुपर्ने आग्रह गर्नुभयो । किरात महासंघले यसअघि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राई, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ज्ञापन पत्र बुझाईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार