प्रदेशको नामकरण प्रक्रिया चाँडै शुरु हुने

  सगरमाथा अनलाईन
84 Shares

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट शुरु हुने सम्भावना रहेको बताउनुभएको छ । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उहाँले उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले नामकरणका बेला हुन सक्ने सुरक्षा चुनौतीका बारे सजग रहन पनि आग्रह गर्नुभयो । प्रदेश नामकरणका लागि प्रदेश सभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकबाट एउटा खाका आउनसक्ने उहाँले उल्लेख गर्नुभएको छ । ‘साउन ६ गते सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘मलाई लाग्छ त्यो बैठकबाट मोटामोटी एउटा चित्र बन्ला ।’ उहाँले उक्त सर्वदलीय बैठकपछि साउन ८ गतेबाट प्रदेश सभाको बैठक सुरु हुने र साउन १५ गतेको आसपासमा नामकरणको प्रक्रिया सुरु हुने कुरालाई दोहो¥याउनुभयो । उहाँले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेश सभाको भएको उल्लेख गर्दै सरकारले यसमा सहजीकरणमात्रै गर्ने बताउनुभयो ।

यसैबीच मुख्यमन्त्री राईले कोरोना संक्रमण बढ्दै जान थालेकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका उपाय अपनाउनेतर्फको रणनीति बनाउन निर्देशन पनि दिनुभएको छ । उहाँले जुनसुकै प्रकारका सुरक्षा चुनौती सामना गर्नेगरी तयारी अवस्थामा रहन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभयो । बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखसहित नेपाली सेना भैरव गणका गणपति, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार