काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धी विधेयक अल्पमतको विचार लागू हुने गरी ल्याइएको टिप्पणी गरेका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै श्रेष्ठले राज्य व्यवस्था समितिले बहुमतले पारित गरेको विधेयक सरकारले फिर्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘सरकारले प्रतिवेदन अनुसारको विधेयक फिर्तालिने, फिर्ता लिइसकेपछि अल्पमतको विचार लागू हुनेगरी कानूनी व्यवस्था गर्न विधेयक प्रस्तुत गर्ने यो चलन हामीले चलायौं भने लोकतन्त्र अत्यन्तै कमजोर हुन्छ ।संसदीय मान्यता कमजोर हुन्छ । त्यसैले यो कोणबाट गलत छ’ उनले भने ।
नेता श्रेष्ठले वैवाहिक अंगीकृत नागरिकताको लागि ७ वर्षे प्रावधान हटाउनुपर्नेकुनै कारण नभएको धारणा राखे । उनले भने, ‘७ वर्ष वैवाहिक अंगीकृत नागरिकता महिलालाई दिने प्रावधान थियो, त्यो हटाउनुपर्ने कुनै कारण थिएन । त्यसमा पनि विचार पुर्याइएन भन्ने मेरो ठहर छ ।’

राष्ट्रिय सभा सदस्य श्रेष्ठले नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरी नेपालमा बसोवास गरेमा कुनै प्रावधान राखेर नागरिकता दिनुपर्ने बताए ।
‘नेपाली नागरिकले विदेशी नागरिक पुरुषसँग विवाह गरेको अवस्थामा कुनै प्रावधान नै नराख्ने रु यहाँ बस्न खोज्यो, यहाँ नागरिकता लिन खोज्योभने मापदण्ड हुनसक्ला तर प्रावधान नै नराख्ने कुरा महिलामाथि ठूलो अन्याय हो यो। त्यसकारणले यस बारेमा पनि प्रावधान खोल्नुपर्छ’ उनले भने ।







