काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँट भएको छ ।
बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज (साउन १८) बिहान ९ बजे शेयर बाँडफाँट गरेको हो । कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो ।
उक्त आईपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाको आवेदन परेको थियो जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन स्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर हात पारेका छन् भने बाँकि आवेदकको हात खालि रहेको छ । सोमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता बाँडफाँट गरिएको छ ।
कम्पनीले सर्वसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
कम्पनीले तल्लो लिखु जलविद्युत आयोजना ( २८.१ मे.वा) निर्माण गर्नका लागि कूल खर्च रू. ६ अर्ब ३६ करोड २० लाख अनुमान गरिएको छ भने प्रतिमेगावट लागत खर्च रू.२२ करोड ६७ लाख लाग्ने अनुमान गरिएको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ ।
आईपीओको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस