काठमाडौं । आदिवासी महिलाहरुले परम्परागत रुपमा प्रयोग गर्दै आएका ज्ञान, सीपहरु प्रथाजनिक कानूनका रुपमा लागू गर्न माग गरिएको छ । २८ औं विश्व आदिवासी दिवसको सप्ताहव्यापी कार्यक्रमको अवसरमा किरात महासंघले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रमका सहभागीहरुले आदिवासी महिलाहरुले प्रयोग गर्दै आएका ज्ञान र सीपलाई प्रथाजनिक कानूनका रुपमा लागू गर्न माग गरेका हुन् ।

राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चका अध्यक्ष सुनी लामाले आदिवासी महिलाहरुले परम्परागत रुपमा प्रयोग गर्दै आएको ज्ञान र सीपलाई पुस्तान्तरण गर्दै लैजानु पर्ने बताए । आदिवासी बस्तीमा भएका विभिन्न ज्ञान र सीपलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेकाले यसमा सबै आदिवासी समुदाय लाग्नु पर्ने बताएका हुन् ।

किरात महासंघका बरिष्ठ सल्लाहकार पृथ्वी मुकारुङले नेपालको आदिवासी बस्तिमा कुन कुन स्थानीय तहमा आदिवासीहरुले परम्परागत रुपमा प्रयोग गर्दै आएको ज्ञान र सीपलाई प्रथाजनिक कानूनका रुपमा लागू गर्न सकिन्छ सम्बन्धित पक्षसँग पहल गरिनु पर्ने बताए ।


किरात महासंघका अध्यक्ष धिरेन सुस्तोचा बाहिङले विश्व आदिवासी दिवस महासंघले विभिन्न कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा मनाइरहेको बताए । ‘किरात महासंघको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आदिवासी महिलाहरुको परम्परागत ज्ञान र सीपलाई पुस्तान्तरण गर्दै लैजानु पर्छ भन्ने उद्देश्यले हामीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका हौं ।’ अध्यक्ष बाहिङले भने, ‘हाम्रो आमा, दिदीबहिनीहरुले परम्परागत रुपमा प्रयोग गर्दै आएका विभिन्न ज्ञान र सीपहरुलाई पुस्तान्तरण गर्दै लैजानु हाम्रो दायित्व र कर्तव्य पनि हो ।’

आदिवासी विज्ञ कमल साम्पाङले पछिल्लो समय नेपालको आदिवासी महिलाहरुले परम्परागत रुपमा प्रयोग गर्दै आएका ज्ञान र सीपहरु लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘पढि ज्ञानीहरुले, गरी ज्ञानीहरुको परम्परागत अमूल्य ज्ञान र सीप बिगारेका छन् ।’ विज्ञ साम्पाङले भने ।

अर्का आदिवासी विज्ञ डम्बर लोहरुङले आदिवासीहरुको परम्परागत ज्ञान र सीप अधिकांश देशमा प्रथाजनिक कानून बनाएर लागू गरिरहेको बताए । ‘घरधन्दा गर्दा विभिन्न समस्याहरुको सामना गर्दै आर्जन गरेका ज्ञान र सीपहरु आदिवासी महिलाहरुकोमा धेरै हुन्छ ।’ विज्ञ लोहरुङले भने, ‘परिवारमा एक महिलालाई पढाए परिवारनै शिक्षित हुन्छ, तर, एक पुरुषलाई पढाए त्यो पुरुषमात्रै शिक्षित हुन्छ ।’

यूनेस्कोका वरिष्ठ आदिवासी विज्ञ वर्षा लेखीले यूनेस्कोले आदिवासीहरुको परम्परागत ज्ञान र सीपलाई संरक्षण गर्दै लैजानको लागि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको बताए । ‘कानूनी रुपमा विज्ञान र प्रविधिलाई अपनाएर मात्रै जानु पर्छ भनेर यूनेस्कोले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।’ विज्ञ लेखीले भने ।
अन्तक्रिर्या कार्यक्रम किरात महासंघको आयोजना, राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चका अध्यक्ष सुनी लामाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा आदिवासी किरात समुदायका विभिन्न जातजातीका महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।








