अबको नेपाली कांग्रेस

Facebook Debugger

देवेन्द्र शर्मा जमरकट्टेल । नेपाली काङ्ग्रेस जेल, नेल, प्रवास भूमिगत राजनीतिको पृष्ठभूमिमा रगतले लपेटिएको एउटा युग परिवर्तन गर्ने राजनीति शक्ति हो । जसरी कंशको जेलमा कृष्णको जन्म भयो । त्यसरीनै राणाहरूको अराजक, हिंसात्मक र उत्पिडनको कठघरामा नेपाली काङ्ग्रेसको जन्म भयो ।

नेपालको स्वाधीनता र नेपाली जनताको सार्वभौम सत्ताको रक्षार्थ जनजनको मुक्तिको खातिर यो दल को स्थापना भएको हो ।

राजनीति परिवर्तनका लागि नेपाली काङ्ग्रेसको रोडम्यापले माले, मन्डलेलाई एकीकृत गरेतापनि जन अपेक्षित विकास र परिवर्तनको नेतृत्व वहन गर्न नसकेको आरोप नेपाली काङ्ग्रेसलाई लगाउने गरिन्छ ।

देशकै ठुलो लोकतान्त्रिक दलको दावि राख्ने नेका आफ्नो आन्तरिक राजनीति जीवनमा न स्वतन्त्र छ नत विधान नै प्रजातान्त्रिक छ । सभापतिय पद्धति मा सञ्चालीत नेपाली काङ्ग्रेस विधान लाई आधारत मान्छ तर विधिसम्मत कार्वाही समेत गर्ने नैतिक धरातल राख्दैन ।

पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति रहदा पनि सभापति एकल पद्धतिले चल्ने चलन यो दलको नयाँ होइन । आन्तरिक अनुशासन कमजोर मात्रै छैन, मुल नेतृत्व आफै प्रमुख राजनीति दुष्मन माथि निर्वाचनमा कार्यगत एकताको प्रस्ताव गरेर हिड्नु काङ्ग्रेस का आदर्श कार्यकर्ता का लागि कम पिडाको क्षण रहेन । दल बलियो वनाउने भन्दा गुट वलियो बनाउने हरूकै हाली मुहाली छ काङ्ग्रेस यतिवेला ।

यद्यपि, नेपाली काङ्ग्रेस नेपालको माटो सुहाउँदो शासन र समुन्नतिको एक मात्रै आदर्श विकल्प हो । जस्ले बाटो विगारेकै छ । गन्तव्यमा अलमल छ ।

नीतिमा अस्पषटता भएपनि नियत सफा रहेको दल हो । बीपी कोइरालाले कर्तव्यबोध नभए यो देशको एक मुठ्ठी माटो समाए र सोध माटोले तिम्रो कर्तव्यबोध गराउने छ भन्नू भएको थियो सोही अवस्थामा काङ्ग्रेस अहिले छ ।

तर, यही पद्धतिको नेतृत्वले यो सम्भावनालाई देखाउदैन । कार्यकाल सकिएपछि गरिने मनोनयन एउटै झन्डा मुनि हुने घृणा र तिरस्कार गर्ने अभिभावक बनाउन काङ्ग्रेस जन तयार नरहलान ।

आगामी अधिवेशनले नेता होइन नीति खोज्ने जमर्को गर्नु पर्छ । ‘गुट’ होइन ‘गन्तव्य’ खोज्ने इच्छाशक्ति राख्नु पर्छ । राष्ट्रलाई समुन्नत काङ्ग्रेस चाहिएको छ । समानताको बाटोमा क्रियाशील नेतृत्व आवश्यक छ । युवाको उमेर र उर्जा ,अग्रजको बुद्धिको योगमा नयाँ काङ्ग्रेस वनाउनु छ ।

त्यसैले हामी सङ्कल्पित हुन जरूरी छ । यी र यस्ता उपाय खोजौं । बहस ले गन्तव्य मा पुगौं । नेपाली काङ्ग्रेस यस दलका कार्यकर्ताको आवश्यकता मात्रै होइन । यो त सिङ्गै देशको दिशा समेत हो ।

युगले भनेको काङ्ग्रेस ? के हामी बन्न तयार छौ !

– के काङ्ग्रेस का बडा देखि केन्द्रीय समिति सम्मको नेतृत्व आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने तयार छ ?

– स्वतः हुने महाधिवेशन प्रतिनिधिको व्यवस्था लाई खारेज गरेर वडा स्तरबाटै निर्वाचित हुने तागत हामीमा छ ?

– पार्टीको सदस्यता नविकरण र लेवी बुझाउन आफै पार्टी कार्यालय पुग्ने हामी कति छौ होला ?

– आमनिर्वाचनमा सम्वन्धित निर्वाचन क्षेत्रका क्रियाशील सदस्यबाट उम्मेदवार छनोट गर्ने हिम्मत छ ?

– युवाको प्रतिनिधित्व को भाषण त हुन्छ तर कार्य रूपमा त्यो समावेश छैन ।नेपाली काङ्ग्रेसको विधानका विभिन्न धारा मा सभापति हुन राखेको बन्देजकारी प्रावधानले समेत नयाँ पुस्ताको प्रतिनिधित्व लाई कुन्ठीत गरेको छ के हामी त्यस्तो व्यवस्था लाई निलम्वित गर्न सक्छौं ?

– नेपाली काङ्गेसको क्रियाशील सदस्य हरेक तहका सभापतिको उम्मेदवार बन्ने व्यवस्था गरि बाजे पुस्ताको नेतृत्वमा नाति पुस्ताको सहकार्यको ग्यारेन्टी गर्न सक्छौं ?

– कसैलाई होइन ( आत्मालाइ सोध्नुस् तपाईं आफैले कति पटक पार्टीको बागि उम्मेदवार र प्रतिद्वन्दी उम्मेदवार लाई भोट दिनु भयो ?

– पार्टीका गोप्य सुचनाहरू प्रतिपक्षी लाई बेचेर कति कमाउनु भयो होला ?

– अमेरिकी गिन्नकार्ड होल्डरलाई क्रियाशील सदस्यता पनि त दियौं होला ?

– पार्टीको यस्तो दुर्दशा हुदा पनि हामी गुटका नेता, उपनेता, सहनेता भएर रमाएकै छौं होला !

– समानुपातिक निर्वाचनलाई सभापतिको फिरौति उठाउने अखडाबाट तोड्ने इच्छाशक्ति छ ?

– पार्टीका हरेक तहका समितिहरू आफ्नो वार्षिक खर्च तथा आम्दानीको विवरण सार्वजनिक गर्ने पद्धति वसालेका छौं, छ ?

– आफ्नो स्वास्थ्य स्थिति विग्रदा सरकारी अस्पताल उपचारका लागि छनोट गर्न सक्छौं ?

– आफ्ना छोरा छोरी लाई सरकारी रसामुदायिक स्कुल कलेजमा अध्ययन गराउन सक्छौं ?

– के हामी हाम्रो विलासि सवारी साधनहरू परोपकारी संघ संस्था तथा अस्पतालका लागि एम्वुलेन्समा वदलेर आफु सार्वजनिक यातायातका साधन प्रयोग गर्न सक्छौं ?

– नेतृत्वले आफ्नो घरमा आउने उपहार, कोसेली वा कुनै चाकडी जन्य सामग्री बहिस्कार गर्ने गरेका छौं ?

– नेताहरू शासकीय सोच बदलेर सेवकिय स्वभाव देखाउन तयार छौं ।

– हामी जातिय विभेद तथा छुवाछूतका विरूद्ध आफ्नो परिवारलाई सक्रिय गराउन सक्छौं ? मुलतः आफ्नै परिवारमा दलितसमुदाय सँग पारिवारिक सहमतिमा अन्तर जातीय विवाहका लागि तयार छौं ?

– हामी प्रजातान्त्रिक स्कुलको पाठ्यक्रम लागू गरि अध्ययन गर्न तयार छौं ।

– सार्वजनिक अपराध गरेको प्रमाणित भए राजनीति को मुल प्रबाह बाट पुर्णतः बाहिरिने नैतिकता छ ?

– हाम्रो पार्टीको स्थापना ,उपलब्धि ,अवनति ,गल्ती कमजोरीको सामान्य ज्ञान हामीमा कति छ ?

– नेपाली काङ्ग्रेसको राजनीतिक जीवनको ईतिहास अध्ययन गर्ने बानि छ ?

– सामुहिक नेतृत्व प्रणालीमा हामी विश्वास गर्न सक्छौं ?

– हामी सर्वसाधारण को घर आँगनमा पुग्दा र नेताजिको घर दैलोमा जाँदा कहाँ बडी रमाउछौं ?

– पार्टी सदस्यता प्राप्तिको न्युनतम उमेर विधानमा तोक्न सक्ने तर अधिकत्तम उमेर हद कति हो किन तोक्न नसक्ने ?

– पार्टीका कार्यक्रम हुदा होटल, रिसोर्ट वा पार्टीका साधारण कार्यकर्ताको घर कहाँ बस्न रूचाउछौं ?

– हामी लाई थाहा छ होला ,नेपाली काङ्ग्रेस पार्टीका लागि नेता शुवर्ण शम्शेरले आफ्नो निजी सम्पत्ति पार्टी संगठन मा औपचारी रूपमा लागानि गर्नु भो हामी लिन वा दिन किन पार्टीमा आवद्ध छौं स्मरण गरैं ।

आदि, अनेकौं प्रश्न माथि गम्भीर भयौ भने मात्रै हामी नेपाली काङ्ग्रेसको युगले पहिचान गरेको राजनीतिकर्मी हौं । नत्र हामी अरूकुनै पेशा व्यवसाय, सेवा वा कर्मबाट तिरस्ककृत भएर राजनीतिमा छौं । अधिवेशनको रस्साकस्सी चल्न थालेको वेला काङ्ग्रेसले के नीति लेला भन्ने बहस समेत शुरू भएको छ । मुलतः नेपाली काङ्ग्रेसको वीरगन्ज महाधिवेशन (०१२, छैठौं)ले लिएको समाजवादको नीतिकै सेरोफेरोमा आगामी अधिवेशनले पनि नीति लिदा फरक पर्दैन । तर, आर्थिक विभेद तथा हुदा खाने र हुनेखानेको बिचको खाडल कम गर्ने ठोस मार्ग चित्र प्रस्तुत गर्नै पर्छ ।

नेपाली काङ्ग्रेसको नेतृत्वमा धेरै सरकार बने पनि पार्टीको सच्चा सिद्धान्त र आदर्शका दृष्टिकोणले ०१६ जेठ १३ गते वीपी कोइरालाको प्रधानमन्त्रीत्वमा गठित सरकार मात्र काङ्ग्रेसको हो भन्दा फरक नपर्ला । उक्त सरकारले गरेका राजा रजौटाको उन्मुलन, विर्ताउन्मुलन, जस्को जोत उस्को पोत रहने व्यवस्थानै काङ्ग्रेसको मुल मर्म हो । त्यसोत आफैले स्थापना गरेको राष्ट्रिय योजना समिति (पछि आयोग) वीपीले हलो जोत्तै गरेको किसानको फोटो राख्नु भनेको वर्गीय धरातलको मिहिन विश्लेषण हो । उहाले नेपालको विकास भनेको गाउको विकास हो भनेर भन्नू हुन्थो । आज ०४६ पछिको विकास सम्पुर्ण दृष्टिकोणले शहर केन्द्रीत हुनुले विकास को गति नै उल्टो बहि रहेको वर्तमान परिदृष्यमा नेपाली काङ्ग्रेस अधिवेशनमा कसरी प्रस्तुत हुन्छ भनेर संसारले अवश्य हेर्ने छ ।

अक्सर कम्युनिस्टहरू वर्गीय मुद्दाको आडमा राजनीतिलाई उपयोग गरेपनि नेपालका सन्दर्भमा त्यो नदेखिदा यो मुद्दाको नेतृत्व समेत काङ्ग्रेसकै हो ।

चेतनाले भन्दा चिन्ताले । उदारताले भन्दा उन्मादले । उद्देशले भन्दा उद्देक्ले मात्र काङ्ग्रेसमा जोडिएका छौं भने नेपाली काङ्ग्रेस भन्ने राजनीति दलको निर्वाचन आयोगमा उपस्थिति त रहला तर गरिव, निमुखा, श्रमजीवी वर्गको उत्थान र रूपान्तरणका लागि कोरीएको यो दलको दिर्घ जीवन सदाका लागि अन्तहुने छ ।

बाँकी, सहिद तिनका परिवार हाम्रा अग्रज ले यो काङ्ग्रेस पुस्तामाथि गहिरो खेद, घृणा र तिरस्कार गर्न बाहेक केही रहने छैन ।

(लेखकः नेपाल शिक्षक संघ सोलुखुम्वुका संघीय महाधिवेशन प्रतिनिधि हुन् ।)

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार