इराकमा हिंसात्मक प्रदर्शनः २० जनाको मृत्यु, राष्ट्रपति भवन कब्जा

  सगरमाथा अनलाईन
42 Shares

काठमाडौं । इराकका धर्मगुरु मुक्तदा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन बढेको छ । हालसम्म २० जनाको मृत्यु भएको र प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टका अनुसार शिया धर्मगुरु मुक्तदा अल-सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । प्रदर्शन रोक्न सेनाले लगाएको कर्फ्यू तोड्दै अल-सद्रका समर्थकहरू सडकमा उत्रिएका छन् । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ ।

सदरका हजारौं समर्थकले राष्ट्रपति भवन (रिपब्लिक प्यालेस)मा हमला गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले अश्रुग्यासले रोक्न सकेनन् । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । ३०० भन्दा बढी घाइते भएका छन् ।

सुरक्षाकर्मीको कारबाही छल्दै सदरका समर्थकले राष्ट्रपति भवन कब्जा गरेका छन् । उनीहरू स्विमिङ पुल, बैठक हल लगायत पूरै दरबारमा घुमिरहेका तस्बिर सार्वजनिक भएका छन् ।

इराकमा अल-सद्रका समर्थकहरू र उनीहरूको राजनीतिक प्रतिद्वन्द्वी इरान समर्थित शिया समूहबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ । अक्टोबरको संसदीय चुनावमा धर्मगुरु मुक्तदा अल-सद्रको पार्टीले सबैभन्दा बढी सिट हासिल गरे पनि बहुमत जुटाउन सकेन । न उनले एक्लै सरकार बनाउन सके, न इरान समर्थित शिया प्रतिद्वन्द्वीहरूसँग सहमतिको सरकार गठन गर्न वार्ता गर्न स्वीकार गरे ।

गत जुलाईमा पनि सद्रका समर्थकहरूले इराकमा प्रदर्शन गरे र संसद कब्जा गरेका थिए । हजारौं प्रदर्शनकारीले संवेदनशील ग्रीन जोन पार गरेर संसदमा ¥याली गरेका थिए । उनीहरू यहाँको पर्खाल चढेर संसदमा पनि प्रवेश गरे पनि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् ।

उनीहरूले प्रधानमन्त्री पदका लागि मोहम्मद शिया अल–सुडानीको उम्मेदवारीको विरोध गरेका थिए । उनी इरानको नजिक रहेको आन्दोलनकारीको बुझाइ छ । यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन् । उनले जनतालाई संयमता अपनाउन आग्रह गरेका छन् । साथै हिंसा अन्त्यका लागि तत्काल पहल गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार