‘कक्तिसाला’को मुन्धुमी चलचित्र बनोस’ : साहित्यकार रुम्दाली

Facebook Debugger

काठमाडौं । साहित्यकार तथा समाजसेवी दुर्गा बाहिङ रुम्दाली दुङमोचाले ‘कक्तिसाला’ नाट्यकृतिमा बाहिङ किरातको मुन्धुमी चलचित्र बनाउन अनुरोध गरेका छन् ।

साहित्यकार बाहिङको तेस्रो नाट्यकृति ‘कक्तिसाला’को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बाहिङ किरात समुदायको सृष्टिकालीन, कृषियुगका आदिम पूर्खा कक्तिसालाको जीवन भोगाईमा आधारित नाटकको मुन्धुमी चलचित्र निर्माण गर्न उनले आग्रह गरेका हुन् । बाहिङ किरात समुदायको सबैभन्दा ठूलो पितृकार्य हङ, सेक्रोको सुरुवात पनि कक्तिसालाले नै गरेकाले उनको सम्मान र चिनारीमा नाटक लेखेको समेत बाहिङले बताए ।

विश्वव्यापी रुपमा भाषा, संस्कार, संस्कृति र पहिचानको विषयमा सदियौंदेखि खोज अनुसन्धान भैरहेतापनि बाहिङ समुदायको संस्कृतिमा खासै कसैको ध्यान नगएको पनि बाहिङले बताए । ‘अब पनि हामीले हाम्रो संस्कार, संस्कृति र रितिरिवाजलाई दस्तावेजीकरण गरिएन भने हाम्रो अमूल्य पहिचान हराएर जान्छ,’ बाहिङले भने, ‘तपाई बाहिङ समुदायका यूवा पुस्ताहरु हामीभन्दा धेरै संस्कार र संकृतिको विषयमा लेख्न सक्नुहुन्छ । त्यसैले आजैदेखि आफ्नो पहिचान, संस्कार र संस्कृतिको बारेमा लेख्नुहोस ।’

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्धबहादुर बाहिङले बाहिङ किरात समुदायको पहिचान र सभ्यताको बारेमा लिखित रुपमा दस्तावेजिकरण गर्न साहित्यकार रुम्दालीको व्यक्तिगत पहल सराहनीय भएको बताएका छन् ।

नाट्यकृति सार्वजनिक कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै नेता एवं बाहिङ किरात मुलुखिमका पूर्व केन्द्रीय अध्यक्ष बाहिङले साहित्यकार रुम्दालीलाई आफूलेनै पाण्डुलिपीबाट कृति प्रकाशनका लागि जोडवल गरेको बताएका हुन् । ‘मैले दुर्गा दाईलाई पटक पटक भनेको थिए, यति राम्रो तपाईको सिर्जना पाण्डुलिपीमा मात्र सिमित राख्नु हुँदैन । प्रकाशन गर्नु पर्छ,’ नेता बाहिङले भने, ‘दुर्गा दाईले मात्रै सहज रुपमा बाहिङ किरातको पहिचान, संस्कार, संस्कृतिको बारेमा पुस्तक प्रकाशन गर्न सक्नुहुन्छ । उहाँसँग बाहिङ किरात सभ्यताको अथाह ज्ञान, अनि कृति प्रकाशन गर्नको लागि पैसा पनि छ ।’

बाहिङ किरात मुलुखिमका केन्द्रीय अध्यक्ष भूपराज बाहिङले बाहिङको पहिचानमा थप ईटा थपिएकोमा लेखक रुम्दालीलाई धन्यवाद दिनुहुँदै खुशि व्यक्त गरे ।

‘हामी बाहिङ हौं । हाम्रो उत्पती, सभ्यता र ईतिहासको बारेमा यो नाट्यकृतिले सप्रमाण बोलेको छ,’ अध्यक्ष बाहिङले भने, ‘यो नाट्यकृतिले हामीलाई राज्यले हेर्ने दृष्टिकोण थप विश्वासीलो हुनेछ ।’

बाहिङ किरात मुलुखिमका उपाध्यक्ष ईमानसिं बाहिङले विदेशी भूमीमै रहेर पनि बाहिङ किरात समुदायको पहिचान झल्कने नाट्यकृति प्रकाशित गर्न सफल भएकोमा लेखक रुम्दालीलाई धन्यवाद दिए ।

‘तपाईले बाहिङ समुदायलाई दिनुभएको अमूल्य योगदानको सदा कदर हुनेछ,’ उपाध्यक्ष बाहिङले भने, ‘बाहिङ भाषा, संस्कार, संस्कृति र ईतिहासको विषयमा तपाईको कलम निरन्तर चलिरहने अपेक्षा गरेको छु ।’

नाट्यकृति सार्वजनिक कार्यक्रममा बाहिङ किरात मुलुखिमका केन्द्रीय महासचिव धिरेन बाहिङ, सचिव देवकुमार बाहिङ, केन्द्रीय सदस्य चुमबहादुर बाहिङलगायत बाहिङ यूवा र विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बाहिङ किरात मुलुखिमको केन्द्रीय कार्यलय चावहिल काठमाडौंमा आयोजना गरिएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार