८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

समानुपातिकमा नाम सिफारिस भएपछि केसीको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले गृहजिल्ला सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि समानुपातिकतर्फ नाम सिफारिस गरिएकोप्रति आपत्ति जनाएका छन् ।

केसीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जिल्लाबाट नाम सिफारिस भएको चार दिनपछि आपत्ति जनाएका हुन् । भदौ २० गते जिल्ला कार्यसमितिले प्रेस विज्ञिप्त जारी गरेर नेता केसीलाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरिएको जनाएको थियो ।

‘म आमाको मृत्युु संस्कारको १३ औं दिने काजकिरियामै रहेको बेला डाइबिटिज, कम रक्तचाप र डेगु संक्रमणको बिरामी भइ अस्पतालमै उपचारकै क्रममा रहेको बखत मसँग कुनै सम्पर्क नै नगरी मेरो नाम समेत जोडेर अलोकतान्त्रिक, विधिविधान र केन्द्रीय परिपत्र विपरीत उमेदवारी सिफारिसलाई लिएर सामाजिक सञ्जालहरुमा गरिएको गलत प्रचारप्रति घोर भत्र्सनाका साथ पूर्णरुपले असहमति प्रकट गर्दछु,’ केसीले फेसबुकमा लेखेका छन् ।

उनले आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ नै उम्मेदवारी दिने पनि बताएका छन् । ‘सोलुखुम्बु जिल्लावासी दिदीबहिनी दाजुभाइ, केन्द्रीय एवं स्थानीय तहका पार्टीका सम्पूर्ण नेता साथीहरूको भावनाको कदर गर्दै लामो संघर्ष, लाखौं जनताको योगदान, हजारौं सहिदको बलिदानबाट प्राप्त वर्तमान उपलब्धिको रक्षाका लागि, आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रत्यक्षतर्फबाट नै सहभागी हुने समेत जानकारी गराउँदछु,’ केसीले भनेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ४ : ०६ बजे