सत्ता गठबन्धनमा सिट बाँडफाँटः कुन-कुन क्षेत्रमा जुट्यो सहमति ? (सूचीसहित)

  सगरमाथा अनलाईन
2.6k Shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् ।

गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । छलफलमा सहभागी नेताहरुका अनुसार निर्वाचन क्षेत्रगत रुपमा छलफल गर्दै जाँदा धेरै जसो ठाउँमा कुरा मिलेको देखिन्छ । तर जब दलले पाउने कुल सिट संख्याको कुरा आउँछ, फेरि हिसाब बिग्रिन्छ ।

‘कांग्रेस ९० बाट तल झर्न तयार भएको छैन, माओवादीले ५० भन्दा तल जाने कल्पना गरेको छैन । एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि २० सिटभन्दा तल जान तयार छैनन,’ कार्यदलका एक नेता भन्छन्, ‘नमिलेका त्यही १५/२० सिटमा हो ।’

कार्यदलका सदस्यहरुका अनुसार अहिलेसम्म पाँचै दल गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् र अब समानुपातिकको बन्दसूची तयार भएपछि फेरि सिट बाँडफाँटबारे सहमति खोजिने छ ।

कहाँ टुंगियो ? कहाँ बाँकी ?

विभिन्न दलबाट सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको छ ।

दलहरुको एउटा मात्र दावी परेको वा छलफलका क्रममा अर्को दल छाड्न तयार भएको क्षेत्र हिसाब गर्दा कांग्रेसको भागमा ६८ क्षेत्र परिसकेको छ । माओवादी केन्द्रको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भागमा ७ सिट सुनिश्चित भएको छ । गठबन्धनको पाँचौं दल राष्ट्रिय जनमोर्चाले मागअनुसार प्रतिनिधिसभाको दुई क्षेत्र पाउने पक्का जस्तै भएको छ ।

कार्यदल र शीर्ष तहमा भएको छलफलअनुसार ताप्लेजुङ कसले लिने भन्ने टुंगिएको छैन । पाँचथर कांग्रेसले लिनेछ भने इलाम–१ एकीकृत समाजवादी र २ कांग्रेसले लिने छ ।

संखुवासभा र तेह्रथुम कांग्रेसले लिनेछ भने भोजपुर माओवादी केन्द्रले पाउने पक्काजस्तै छ । धनकुटामा कांग्रेस र जसपाको दाबी छ । यद्यपि कांग्रेस नेताहरु धनकुटा छाड्न सक्ने अवस्था नभएको बताउँछन् ।

सोलुखुम्बु र खोटाङमा कांग्रेस र माओवादी दुबै दलको दाबी छ भने ओखलढुंगा कांग्रेसलाई छाड्न दलहरु तयार छन् । उदयपुर १ कांग्रेस र २ माओवादीले लिनेछ ।

झापाको १, ३ र ४ कांग्रेसले लिनेछ । २ मा कांग्रेस र माओवादी दुबै दलको दाबी छ भने ५ माओवादीलाई छाड्न कांग्रेस तयार छ । मोरङको १, २, ३ र ६ कांग्रेसले लिने पक्का भएको छ । माओवादीले ४ र ५ मा दाबी गरेको छ भने जसपाले क्षेत्र नम्बर ५ कुनै हालतमा छाड्न नसकिने अडान लिएको छ ।

कांग्रेस नेताहरुले पनि मोरङ-४ र ५ मध्ये एउटा आफ्नो दललाई दिनुपर्ने बताएका छन् । सुनसरीको १ जसपालाई दिन अरु दल सहमत भएका छन् भने २, ३ र ४ कांग्रेसले लिने छ ।

नेताहरुका अनुसार सिट बाँडफाँटमा सबभन्दा गाह्रो प्रदेश २ का जिल्लामा देखिएको छ । कतिपय क्षेत्रमा तीन दलकै दाबी कायम छ, जसले गर्दा सहमति जुटेको छैन ।

सप्तरीको १ मा कांग्रेस र जसपाको दाबी छ भने २ र ३ जसपा तथा ४ कांग्रेसले लिने सहमति भएको छ । सिरहा १ मा कांग्रेस र ४ मा जसपालाई दिन दलहरु सहमत छन् २ मा कांग्रेस, जसपा र एकीकृत समाजवादी तथा ३ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ ।

धनुषाको १ मा माओवादी र जसपा, २ र ३ मा कांग्रेस र जसपा दुबैको दाबी छ भने ४ कांग्रेसलाई छाड्न दलहरु सहमत छन् ।

यसैगरी महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी, २ मा कांग्रेस, ३ र ४ जसपाको भागमा पर्ने पक्काजस्तै भएको छ । सर्लाहीको १ मा जसपा र कांग्रेस, २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा माओवादी र कांग्रेसको दावी छ ।

रौतहटको क्षेत्र नम्बर १ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छाड्न सबै दल सहमत छन् भने क्षेत्र नम्बर ४ मा कांग्रेसको मात्र दाबी छ । बाँकी २ क्षेत्रमा भने तीन–तीन दलको दाबी छ । २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादीको दाबी छ ।

बारा क्षेत्र नम्बर १ कांग्रेस, २ जसपाले लिने सहमति भएको छ । ३ मा कांग्रेस र जसपा तथा ४ मा माओवादीसँगै एकीकृत समाजवादी र जसपाको पनि दाबी छ । पर्सामा कुनै सहमति जुटेको छैन । कांग्रेसले १, २ र ४ मा दाबी गरेको छ भने जसपाले ४ वटै क्षेत्रमा दाबी गरेको छ । माओवादी र एकीकृत समाजवादीका नेताहरुले भने एक–एक सिट आफ्नो दलले पाउनुपर्ने मत राखेका छन् ।

बाग्मती प्रदेशका धेरै जिल्लामा सहमति जुटेको छ । काठमाडौंको क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० मा कांग्रेसको मात्र दाबी छ भने ७ जसपा र ८ एकीकृत समाजवादीलाई छाड्न अरु दल सहमत भएका छन् । २ मा कांग्रेससँगै माओवादीको दाबी छ भने ९ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी छ ।

भक्तपुरको दुबै क्षेत्र कांग्रेसले पाउने निश्चित जस्तै भएको छ भने ललितपुरको १ कांग्रेस र ३ माओवादीले लिनेछ । २ मा भने कांग्रेस र एकीकृत समाजवादीको दाबी छ ।

काभ्रे र सिन्धुपाल्चोक दुबैमा क्षेत्र नम्बर १ माओवादीले लिनेछ भने २ कांग्रेसको भागमा परेको छ । मकवानपुरमा कांग्रेस र एकीकृत समाजवादीले १–१ सिट लिने सहमति भएको छ । रसुवा कांग्रेसको भागमा परेको छ भने धादिङ क्षेत्र नम्बर १ मा माओवादी र एकीकृत समाजवादीको र २ मा कांग्रेसको मात्र दावी छ ।

नुवाकोटको क्षेत्र नम्बर १ माओवादी र २ मा कांग्रेसको मात्र दाबी छ । तर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने प्रवक्ता डा. प्रकाशशरण महतलाई १ मा उम्मेदवार बनाउन चाहेकाले २ लिन माओवादी नेताहरुलाई भनेका छन् ।

सिन्धुलीको १ कांग्रेस र २ माओवादीले लिने छ भने दोलखा र रापेछापमध्ये १–१ वटा माओवादी र कांग्रेसले लिनेछ । चितवनको १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ कांग्रेसले लिनेछ भने क्षेत्र नम्बर ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्न सबै दल एकमत छन् ।

कास्कीको तीनवटै क्षेत्रमा कांग्रेसको दाबी छ । क्षेत्र नम्बर १ कांग्रेसले पाउने पक्काजस्तै भएको छ भने २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रको पनि दाबी छ । कार्यदलका एक सदस्यका अनुसार कास्कीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक क्षेत्र लिने सम्भावना बढी छ ।

तनहुँ र स्याङ्जाको (१ र २) दुबै क्षेत्र कांग्रेसले पाउने छ भने मुस्ताङ, मनाङ, म्याग्दी र पर्वत कांग्रेसले लिने छ भने लमजुङ माओवादी केन्द्रले पाउने छ ।

बाग्लुङको १ राष्ट्रिय जनमोर्चा र २ माओवादी केन्द्रले लिने छ । गोरखाको दुबै क्षेत्रमा माओवादीको दाबी छ, तर कांग्रेस भने एउटा क्षेत्र आफूले पाउनुपर्ने अडानमा छ । नवलपरासी पूर्व १ मा कांग्रेसको मात्र दाबी छ भने २ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र गरी तीन दलको दाबी छ ।

रुपन्देहीको १ मा कांग्रेस, जसपा र एकीकृत समाजवादीको दाबी छ भने २ मा कांग्रेस र एकीकृत समाजवादीको । बाँकी ३, ४ र ५ मा कांग्रेसलाई छाड्न अरु दल सहमत भएका छन् । कपिलवस्तुको १ माओवादी केन्द्रले लिनेछ भने २ र ३ कांग्रेसको भागमा परेको छ ।

अर्घाखाँची कांग्रेसको भागमा परेको छ भने पाल्पाको २ क्षेत्रमध्ये कांग्रेस र एकीकृत समावादीले १–१ वटा लिनेछ । कांग्रेस नेताहरुले १ एकीकृत समाजवादीलाई दिएर २ लिन चाहेका छन् । तर माधवकुमार नेपालले आफ्ना सम्धीसमेत रहेका सोमप्रसाद पाण्डेलाई क्षेत्र नम्बर २ मा नै निरन्तरता दिन चाहेकाले सहमति जुटेको छैन ।

गुल्मीको १ कांग्रेसले लिनेछ भने २ एकीकृत समावादीलाई छाड्न गठबन्धनका दलहरु सहमत भएका छन् ।

प्युठान राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई छाड्न गठबन्धनमा दलहरु सहमत भएका छन् । रुकुम पूर्व र रोल्पा माओवादी केन्द्रको भागमा परेको छ भने दाङको १ एकीकृत समाजवादी, २ माओवादी र ३ कांग्रेसको भागमा परेको छ ।

बाँकेको क्षेत्र नम्बर १ माओवादी, २ जसपा र ३ कांग्रेसले लिने छन् भने बर्दियाको १ कांग्रेस र २ माओवादीको भागमा पर्ने लगभग टुंगिएको छ ।

नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने २ कांग्रेसलाई छाड्न सत्तारुढ गठबन्धनका दलहरु सहमत देखिएका छन् ।

कर्णाली प्रदेशका धेरै जिल्लाको सिट बाँडफाँट टुंगिएको छ । सुर्खेतको दुबै क्षेत्र कांग्रेसको भागमा परेको छ भने सल्यान र डोल्पा एकीकृत समाजवादीले दिने छ । रुकुम पश्चिम, जाजरकोट, हुम्ला, कालीकोट माओवादी केन्द्रले पाउने लगभग पक्का भएको छ । मुगुमा कांग्रेस एकीकृत समाजवादी र माओवादीको दाबी छ भने जुम्लामा कांग्रेस र माओवादीको ।

दैलेखको १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ कांग्रेसले पाउने निश्चित जस्तै छ ।

डडेलधुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्न सबै दल सहमत छन् । यस्तै कैलालीको क्षेत्र नम्बर ५ प्रधानमन्त्री पत्नी आरजु देउवालाई छाड्न अरु दल सहमत छन् । अरु चार क्षेत्रबारे भने छलफल नभएको कार्यदलका सदस्यहरु बताउँछन् ।

कञ्चनपुरको १ माओवादीले लिनेछ भने २ र ३ कांग्रेसको भागमा परेको छ । वैतडीमा कांग्रेस र माओवादीको दाबी छ भने डोटीमा कांग्रेस र एकीकृत समाजवादीको । अछाम क्षेत्र नम्बर १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ कांग्रेसले लिनेछ । बाजुरा र दार्चुला कांग्रेसले लिने छ भने बझाङमा कांग्रेस र एकीकृत समाजवादीको दाबी रहेको कार्यदलका सदस्यहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार