माओवादीले पार्टी प्रवेश

0 Shares

काठमाडौं । चुनावको पूर्वसन्ध्यामा संविधानसभा सदस्य नरेन्द्र साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका लौकटका बासिन्दा उनी प्रतिनिधिसभाको टिकट पाउने पाक्का भएपछि माओवादी प्रवेश गरेका हुन् ।

साहलाई बुधबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा स्वागत गरेका थिए । त्यस अवसरमा माओवादी केन्द्रका नेता मातृका यादव, माया बल, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी पनि उपस्थित थिए ।


साहले २०७४ सालको प्रतिनिधिसभा चुनावमा सर्लाही–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए र उनले १२ हजार ८६ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रका नेता विश्वनाथ साहका अनुसार उनी २०७४ सालमै माओवादीमा प्रवेश गरेर चुनाव लड्न चाहेका थिए ।

विजय गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टी परित्याग गरी बसेका साहलाई माओवादीकै नेताहरुले स्वागत गर्न तयार नभएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए । सर्लाही–३ बाट अघिल्लो पटक माओवादीका रामेश्वर राय यादव बिजयी भएका थिए ।

यादव भने यसपटक साहका लागि चुनाव क्षेत्र छाड्न तयार भएका छन् । बुधबार अनलाइनखबरसँगको कुराकानीमा यादवले आफू यसपटक चुनाव नलड्ने र पार्टीको उम्मेदवारलाई सहयोग गर्ने बताएका थिए ।

२०७० सालमा महेन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक सांसद बनेका उनी २०४७ सालको चुनावमा पनि स्वतन्त्र रुपमा लडेका थिए ।

स्थानीय माओवादी नेताहरुका अनुसार क्यासिनो संचालक समेत रहेका साहको आर्थिक स्थिति मजबुत छ । उनी सामाजिक काममा पनि सक्रिय छन् ।

२०७४ सालको प्रतिनिधिसभा चुनावपछि सर्लाहीका विभिन्न गाउँमा करिब १० हजार कम्बल वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार