दोर्पूलाई मिडिया भिलेज बनाइनेछ : अध्यक्ष श्रेष्ठ

Facebook Debugger

सोलुखुम्बु । योङ स्टार क्लव तथा सोलु एफ.एम. सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले दोर्पूलाई मिडिया भिलेजको रुपमा अगाडि बढाईने बताउनुभएको छ ।

सोलु एफ.एम.को १६ औं बार्षिकोत्सवको उपलक्ष्यमा सोलु एफ.एम.ले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘दोर्पूलाई मिडिया भिलेजको रुपमा अगाडि बढाउने भन्ने अवधारणामा छलफल भईरहेको छ, हामीले रेडियो, पत्रिका, अनलाइन, पुस्तकालय, केबल टेलिभिजन लगायत मिडिया सञ्चालन गरिसकेका छौं, दोर्पू त्यसै पनि मिडिया भिलेज त हो नै, अझ यसलाई व्यापक बनाएर लैजानका लागि भविश्यमा हामी टेलिभिजन च्यानल पनि स्थापना गर्न सक्छौं ।’ उहाँले यसका लागि सोलु एफ.एम.ले अहिले देखि नै युट्यूब च्यानल तथा फेसबुकमा पनि भिडियो सामग्रीहरु प्रकाशन गर्दै लैजानुपर्ने बताउनुभयो । ‘भविश्यमा टेलिभिजन च्यानल सञ्चालन गर्नका लागि अहिले देखि नै युट्युब च्यानल सञ्चालन गर्ने, भिडियो सामग्रीहरु निर्माण गरेर फेसबुक मार्फत प्रकाशन गर्ने गर्नुहोस्, थप कर्मचारीको व्यवस्था गर्न पनि हामी तयार छौं’ उहाँले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठले योङ स्टार क्लवसँग विगतमा कयौं प्रोजेक्टहरु भएपनि हाल तीनवटा प्रोजेक्ट मात्र रहेको र सोलु एफ.एम.लाई नै मजबुत ढंगबाट सञ्चालन गर्दै लगिने बताउनुभयो । उहाँले कर्मचारीलाई सेवा सुविधा प्रदान गर्नका लागि व्यवस्थापन पक्षले कुनै कन्जुस्याँई नगर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । २०६० सालमा सूचना तथा सञ्चार मन्त्रालयमा ११४ नम्बरमा दर्ता भएको सोलु एफ.एमले भदौ ११ गते परिक्षण प्रसारण सुरु गरेको थियो । परिक्षण प्रसारण भएको दिनलाई बार्षिकोत्सव र योङ स्टार क्लव स्थापना भएको दिन कार्तिक २५ गतेलाई सोलु एफ.एम.ले पनि स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

सोलु एफ.एम. पत्रकार उत्पादन गर्ने कारखाना : सांसद राजभण्डारी

सोलु एफ.एम. सञ्चालक समितिका सदस्य समेत रहेका प्रदेश सांसद बुद्धीकुमार राजभण्डारीले सोलु एफ.एम.पत्रकार उत्पादन गर्ने कारखाना बनेको बताउनुभयो । उहाँले सोलु एफ.एम.बाट पत्रकारिता सुरु गरेका व्यक्तिहरुले देशको मुख्य मुख्य सञ्चार माध्यममा काम गरिसकेको र यो सोलु एफ.एम.को सफलता भएको बताउनुभयो । सोलु एफ.एम. स्थापना भएपछि सोलुखुम्बुको पत्रकारिताको गुणात्मक विकास भएको उहाँको भनाइ थियो । उहाँले सोलु एफ.एम. पैसा कमाउनका लागि नभई सचेतना अभिवृद्धि गर्न खोलिएको र यो उद्देश्यबाट कहिल्यै विचलित नहुने बताउनुभयो । ‘सञ्चार माध्यमले पैसा कमाउन थाल्यो भने बाटो बिराउन थाल्छन्, जनतालाई न्याय गर्न सक्दैनन्, मिडियाले जनबोली बोल्न सक्दैनन् उहाँले भन्नुभयो ।

दर्जनौं रातहरु स्टेशनमै बितायौं : पूर्व स्टेशन म्यानेजर श्रेष्ठ

सोलु एफ.एम.का पूर्व स्टेशन म्यानेजर एवं सूचना तथा सञ्चार विभाग प्रमुख मनोज कुमार श्रेष्ठले कार्यक्रम निर्माणको शीलशीलामा दर्जनौं रातहरु स्टेशनमै बिताएको स्मरण गर्दै त्यसबेलाको संघर्ष र रेडियो प्रतिको लगावबारे चर्चा गर्नुभयो । उहाँले रेडियो मार्फत सिलौटा छोपेर राख्नुपर्ने, गाग्री छोपेर राख्नुपर्ने, पानी शुद्धिकरण गरेर पिउनुपर्ने जस्ता सचेतनाका सन्देशहरु प्रसारण गरेको र यो आज पर्यन्त उत्तिकै सान्दर्भिक भएको बताउनुभयो ।

सडक यातायातले नजोडिएको र टेलिफोनको समेत प्रबन्ध नभएको समयमा रेडियो सञ्चालन गर्नु निक्कै चुनौतीपूर्ण भएपनि सबैको प्रयासबाट सम्भव तुल्याएको उहाँले भनाइ थियो । ‘सगरमाथाको फेदी देखि जिल्लाकै विकट मानिने महाकुलुङ क्षेत्र तथा सोलुखुम्बु आसपासको जिल्लामा रेडियोकर्मीहरु पुगेर आवाज संकलन गथ्र्यौ, साँच्चिकै हाम्रो रेडियो उदाहरणीय थियो । भविश्यमा समेत यसलाई जीवन्त राख्ने र प्रविधीमैत्री बनाउँदै लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ’ उहाँले भन्नुभयो ।

यस्तै कार्यकारी निर्देशक दिपक राजभण्डारीले सोलु एफ.एम.ले धेरैको आँखा खोल्ने काम गरेको बताउनुभयो । ‘यातायातको सुविधा नभएको त्यो बेला घोडा घिस्याउँदै हिडेको, टावर ठड्याउँन जिआई पाइप वेल्डिङ गरेको, कार्यक्रम सञ्चालन गर्न फिल्डबाट दौडेर आईपुगेका दिनहरु ताजै छन्, जसका कारण आज हामी यो स्थानमा छौं । यहाँसम्म आईपुग्न सबैको उत्तिकै योगदान छ’ उहाँले त्यसबेलाका दिनहरु सम्झिदै भन्नुभयो ।

बार्षिकोत्सवको अवसरमा आयोजित चियापान कार्यक्रममा पूर्व कर्मचारीहरु तथा सोलु एफ.एम.मा हाल कार्यरत कर्मचारी पनि सहभागी थिए ।

सोलु एफ.एम. पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो हो । १०० वाट बाट सुरु भएको सोलु एफ.एम.५ सय वाट हुँदै १००० वाट क्षमतामा प्रसारण भईरहेको छ । मुख्य स्टेशन दोर्पुबजारमा मुख्य स्टेशन रहेको सोलु एफ.एम.को रिपिटर टावर पत्तालेमा रहेको छ । सोलु एफ.एम. २४ सैं घण्टा प्रसारण भईरहेको स्टेशन म्यानेजर भोजराज कार्कीले जानकारी दिनुभयो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार