टिप्पणीः कहाँ चुक्यो कार्यदल ? 

Facebook Debugger

शिवबहादुर बस्नेत ‘राजेन्द्र’ । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समस्या समाधान सुझाव कार्यदल २०७७’को प्रतिवेदन बारे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादले यस पार्टीका आम नेता कार्यकर्ता चिन्तित र निराश थिए । पार्टी फुटको संघारबाट बच्छ कि बच्दैन भनेर । यस्तो वैचारिक, सैद्धान्तिक विश्वासको संकट पैदा भएको अवस्थामा गठन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रस्ताव निश्चय नै पास हुने अवस्था हुदा हुँदै पनि केही ठोस प्रस्ताव गर्न कार्यदल चुकेको छ । पाटीको अन्तरिम विधान र राजनैतिक प्रतिवेदनलाई केन्द्रमा राखेर प्रतिवेदन आउनु पर्दथ्यो ।

पार्टीलाई मजवुद बनाउने, सदियौ देखिका जनताका आवश्यक्तालाई सम्बोधन गर्ने र कम्युनिष्ट पार्टीको नेतृत्वमा सामाजिक परिवर्तन गर्ने दिशतिर पार्टीलाई नेतृत्व गर्ने भन्दा पनि खास नेताले मनमौजी देशलाई चलाउने र कहि कतै अवरोध आएमा त्यसको हल गर्नेतिर नभै विवादलाई चर्काउनतिर उद्दत भइरहेको थियो । पाटीका सबै तहका अधिकांश नेता कार्यकर्ता कुनैपनि हालतमा पार्टी विवाद हल गरेर जानुपर्छ भन्ने दवावमा थिए भने केही स्वार्थ समूह पार्टीमा कुनैपनि हालतमा वर्चश्व कायम गर्ने उद्देश्यले पार्टीभित्र वखेडा सिर्जना गर्ने, आफ्नो संरक्षक नेताको देवत्वकरण गर्ने, भिन्न गुठ समुहको नेतालाई नाङ्गेझार बनाउने योजनाका साथ अभियानमा लागेका थिए ।

वैचारिक समुहको निषेध गरेर स्वार्थी समुहलाई संरक्षण गर्ने काम कम्युनिष्ट पार्टीको खतरनाक र दीर्घ रोग बन्दै आएको छ । विवादबाट फाइदा उठाउने, अलि फरक विचार राख्नेहरुलाई निषेध गर्ने विगत देखि नै भिन्न समुहमा भएकालाई पाखा लगाउदै एउटा समुहलाई जवरजस्त हावि गराउने काम हुँदै आएको छ । समूह समूह वीचको लेन देनले नै पार्टी टिकेको छ । यी व्यापक समस्याले पार्टीका गतिविधि ठप्प बन्दै आएको सन्दर्भमा स्थायी कमिटीको बैठकबाट झन चर्को रुप लिएको थियो । मुख्य नेताहरुको बीचको सम्बन्ध सत्रुतापूर्ण देखियो । एकले अर्कोलाई कमजोर सावित गर्न हरप्रयासहरु भए । अन्ततः पार्टी जुट्नै पर्ने, कुनैपनि हालतमा पार्टी फुट्नुको कारण पुष्टि गर्न नसक्ने स्थिति देखा पर्यो । पार्टीभित्रका समस्या समाधान गर्न कार्यदल गठन गरेर केही आशाको संचार प्रवाह गर्न नेताहरु सहमत भए ।

कार्यदलले १७ पृष्ठमा समेटेर नेताहरुको बीचमा आफ्नो सुझाव पेस गर्यो । निकै नै आशा गरिएको कार्यदलको सुझावले के वर्तमान समस्याको समाधान देला त ? कार्यदलबाट आएका सुझावहरु मुर्त हुनुपर्ने हो तर २र३ वटा विषय बाहेक धेरै कुराहरु अमुर्त र अस्पष्ट देखिन्छन । पाटी एकता गर्दा पारित विधान र प्रतिवेदनलाई मुल आधार बनाउनु उचित हुन्थ्यो । व्यक्ति संगठनको मातहत हुनुपर्ने सार्वभौम सत्यलाई स्थापित गर्न कार्यदल दृढ हुनुपर्दथ्यो । जुन कुरा अन्तरिम विधानले समेत ठोस गरेको छ ।

१. प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजिनामा दिनु नपर्ने ।

२. क.प्रचण्डले कार्यकारी पार्टी अध्यक्षको भुमिका निर्वाह गर्ने ।

. तोकिएको मिति २०७७ चैत्र २५-३० मा एकता महाधिवेशन सम्पन्न गर्ने । तर आजको कोभिड १९का कारणले देश पाच महिना देखि ठप्प छ र अझै कति समय रहन्छ भन्न नसक्ने अवस्था छ । यस्तो अवस्थामा चेत्रसम्म महाधिवेशन कसरी होला ?

४. एमसीसी राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यक परे परिमार्जन सहित संसदबाट अनुमोदन गर्ने । यसका विषयमा पहिलेकै कार्यदलले दिएको प्रतिवेनमा आधारित भएर काम गर्छ किन भनिएन ?

ठोस रुपमा तत्काल चाहिएको समाधान उपर अन्यौलताः देखिन्छ ।

१. पार्टीका स्वार्थ समुहको बिघटन अनिवार्य छ । विचार समुहहरु वन्न सक्छन । तर पार्टीका स्थायी गुठको अन्त्य गर्न ठोस प्रस्ताव हुनुपर्थ्यो । दुई अध्यक्षको मात्र विवाद समाधान गर्ने जस्तो सुझाबले संकेत गर्दछ । माधव नेपाल र झलनाथ खनालबारे प्रतिवेदनमा उल्लेख हुनु पर्थ्यो ।

२. कोरोना भाइरस (कोविट-१९) नियन्त्रण र रोकथाम गर्न ठोस कार्यक्रम छैन । अहिले भएका पहलहरुको समर्थन मात्र गरिएको छ । अपुग के के हुन ? आगामी दिनमा कसरी अगाडि बढ्ने ? यस समस्याले सिर्जना गरेको अर्थतन्त्रलाई कसरी जोगाउने ? भन्ने सवालको ठोस समाधान आउनु पर्दथ्यो ।

३. पार्टीको मुल सिद्धान्त समाजवाद तर्फको यात्रामा ठोस प्रस्ताव छैन । समाजवादका मुल मान्यता के के हुने ? अहिले कुन प्रवृत्ति समाजवादको वाधक हो ? वर्तमान अवस्थामा राष्ट्र र जनतासामु चुनौतिहरु के के हुन ? विश्व अर्थतन्त्र र राजनैतिक परिवेशले मानव समाजलाई कतातिर लैजादै छ ? अबको पार्टीको कार्यभार के हुने ? कस्तो विचार, सिद्धान्त र आचरणले समाजवादी दिशा पक्रन सक्दछ ? जस्ता सवालमा कार्यदलले अवधारणा पेश गर्नु पर्दथ्यो ।

४. पार्टी एकताका वाँकी काम पूरा गर्ने भनिएको छ । तर पार्टीका नेता तथा कार्यकर्ताको कार्यविभाजन सधै तदर्थवादी ढंगले गर्ने गरिएको छ । लाभका पद र रवाफिलो जीवनको अभिलाषा पूरा गर्ने प्रवृत्तिको अन्त्य गर्न पार्टीका नेता कार्यकर्ताको जिम्मेवारीमा ठोस प्रस्ताव आउन सकेन । र अब पनि नआउने देखिन्छ ।

५. शान्ति प्रकृयाका बाकी काम पूरा गर्ने सन्दर्भमा वेपत्ता छानविन गर्न बनेको आयोगलाई आजसम्मा काम गर्न केले रोक्यो ? संविधानले ? कानुनले ? वा निश्चित स्वार्थले ?

जनयुद्ध र जनआन्दोलनका घाइते योद्धालाई राज्यले किन भेदभावपूर्ण तरिकाले व्यवहार गरिरहेको छ ? घाइते योद्धाको पीडामा किन राज्य मौन छ ? समाधानका उपायहरु के हुन ? ठोस र मुर्त प्रस्ताव आउनु पर्दथ्यो ।

६. भ्रष्टाचार जन्य कृयाकलाप कुन कुन क्षेत्रमा छ ? कसरी नियन्त्रण गर्ने ?

यस्ता विषयमा विहंगम अध्ययन गरेर प्रस्ताव तयार हुनुपर्ने हो । देशलाई दुखेको वेला सरकारका उपल्लो तहको मनमौजीले झन नुनचुन लगाइरहेको अवस्थामा केही राहत यस प्रतिवेदनले दिन सक्नु पर्दथ्यो । यस पटक कार्यदलले प्रस्तुत गर्ने सुझाव सकेसम्म सबै पास हुने सम्भावना थियो । कार्यदलमा संलग्न कमरेडहरु आशा गरिएका वैचारिक रुपमा स्पष्ट भएका, देश जनता र कम्युनिष्ट पार्टीप्रति प्रतिवद्ध नेता हुन भन्ने विश्वास गरिन्छ । सबैजना अहिलेसम्म प्राप्त जिम्मेवारी शान्दार ढंगले सफल बनाईसक्नु भएको छ । देशलाई समाजवादी दिशामा अघि बढाउने दोश्रो पुस्ताका नेताबाट पार्टीले ठूलो आशा राखेको छ । पार्टीलाई फुट र विघटनबाट बचाउन कार्यदलबाट प्रस्तुत सुझाव प्रतिवेदन कामयाव बनोस ।

(बस्नेत नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।’)

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार