अमेरिकामा कोरोनाको कहरभित्र… ?

Facebook Debugger

पविधन खालिङ/अमेरिका । म मेरो छोरा छोरी र जीवन सङ्गीको साथ साउथ डाकोटा राज्यको सु-फल्स शहरमा सन् २०१४ देखी बस्दै आईरहेको छु । अमेरिकन व्यस्त जीवनसैली, हामी पनि आ–आफ्नो दैनिकीमा व्यस्त थियौं । सन् २०२० को सुरुतीर चीनको वुहान शहरमा कोरोना भाईरस भेटियो भन्ने हल्ला सुन्नमा आयो । प्रायः हामी सबैलाई लाग्थ्यो त्यो भाईरस सामान्य हो, एक दुई दिनमा समाधान हुनेछ । तर केही दिनपछि चीनले कोरोना संक्रमित वुहान शहरलाई लक डाउन ग¥यो भन्ने खबर सुनियो । त्यत्ती बेलासम्म के हो लक डाउन भन्ने कुरा हामी सामान्य मानिसहरुलाई थाहै थिएन । समय बित्दै गयो यता अमेरिकाले चीनसंगको आयत र निर्यातका व्यापारहरु बन्द ग¥यो ।

अमेरिकाको यस्तो कदमप्रती कत्तिपय देशहरुले आक्रोश र बिरोध पनि गर्दै थियो । मान्छेहरुबीच कोरोना संक्रमण र यसको एकबाट अर्कोमा सर्ने प्रकृया र रोग थामको उपचार बिधी बारे अनेकौ तर्क बितर्कहरु चल्दै गयो । लसुनले ठीक पार्छ भन्थे कसैले, कसैले होइन कागती पानीले ठीक पार्छ रे भन्थे, कोही अदुवाले, कोही के, कोही के…। अमेरिकामा त के सम्म भनियो भने चाइनिजहरुले चमेरो खान्छन् त्यसैले कोरोना लागेको हो । यहाँ त्यस्तो चलन छैन त्यसैले डराउनु पर्दैन भन्ने गरेको पनि सुनियो । कोरोना भेटिएको केही हप्ता भईसकेको थियो । यत्ति बेलासम्म पनि हामी ढुक्कसँग आफ्नै दैनिक कार्य तालिकामा व्यस्त थियौं। तर, कोरोना भाईरस, चैत्र बैशाखको खरेडीमा डढेलो लागे झै एक ठाउँबाट अर्को ठाउँ गर्दै विश्वभरी फैलिदै गयो । सुरु–सुरुमा त अमेरिकाले चीनसँगको सम्पूर्ण व्यापार, पारबहन लगायत आवत जावतलाई समेत बन्द गरेकोले यसबाट बचिन्छ कि भन्ने झिनो आशा पनि थियो । तर यस महामारीबाट अमेरिका पनि अछुतो रहन सकेन परन्तु, विश्वभरीमै सबै भन्दा बढी सकोरोना भाईरसबाट संक्रमित हुने देश बन्न पुग्यो । वासिङ्टनको Snohomish County मा कोरोना संक्रमित पहिलो व्यक्ती भेटियो । हुँदाहुँदै न्यूयोर्क शहरमा पनि । यसको केही हप्ता दिनभित्रै अमेरिकाको सम्पूर्ण राज्यभरी कोरोना संक्रमन फैली सकेको थियो ।

यसबाट साउथ डाकोटा राज्य पनि बच्ने कुरै भएन । हामी बसेको शहरमै पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएको पुष्टी यहाँ स्थित हस्पिटलले ग¥यो । अब भने हामीभित्र त्रास र भयको ‘तुफान’ चल्न सुरु ग¥यो । ठूलाठूला सपिङ्ग सेन्टर र मलहरुमा सेनिटाइजर, साबुन, माक्स र ग्लोपसरपञ्जा लगायतका खाद्य सामाग्रीहरुको अभाव हुन थाल्यो । लाग्थ्यो, विशाल जंगलमा डढेलो सल्किएको छ र त्यो आगोको लप्कालाई ठूलो हुरी बतासले अझै हौस्याइ रहेको छ । आगोका लप्काहरु एकपछि अर्को रुखहुँदै हामफाली रहेको छ र सारा जंगललाई सखाप पार्दैछ । हरेक व्यक्तिको मन मस्तिष्कमा कोरोनाको त्रास र अब के हुन्छ ? भन्ने भय बाहेक अरु विषय वस्तुतिर कल्पना गर्ने र सोंच्ने स्थिती थिएन । यस्तै परिस्थिती भित्र पनि हामी डुटिमा गैरहेकै थियौं । कामबाट घर फर्किदा कस्तो अवस्थामा आई पुगिने हो, कतै आफुसँगै कोरोना भाईरस पो लिएर आइने हो कि भन्ने डर, त्रास अनि चिन्तासँगै काममा जान्थ्यौ । मनभित्र भय र त्रासले यत्तिसम्म सताउन थाल्यो कि लाग्थ्यो, मान्छेहरुको भिडभित्र एउटा यस्तो कोरोना रुपी राक्षस पसेको छ, जसले अन्धा धुन्दा तलवारले मान्छेहरुलाई छम्काई रहेको छ । जताततै रगताम्य छ । एकपछि अर्को मान्छेहरुको निरसंहार हत्य गरिरहेको छ । थाहा छैन, तलवारको धार कत्तिखेर आफु माथि बज्रिने हो ! कस्तो, कुन अवस्थामा पु¥याउने हो ? … तर जस्तोसुकै परिस्थितीमा पनि जसरी भए पनि यसलाई जित्न सक्छु र जित्नु पर्छ भनेर आँफैंले आँफुलाई सान्त्वना दिनुको अर्को विकल्प थिएन र म यसै गर्थें । आँट, भरोसा दिन्थें । फेरी नानीहरुलाई सम्झिन्थें कताकता पीर चिन्ता लाग्थ्यो । तर, जे जस्तो परिस्थिती आई परे पनि सामना गर्न सक्छु भन्ने हिम्मत कहिल्यै हारीन । घरमा उनीहरुको मनोबल बढाउन ढाडस दिन्थें । केही हुँदैन यो सामान्य नै हो भनेर …।

यसरी नै मरहामी निरन्तर काममा लागि रहेंररह्यौं । परिस्थिती असामान्य भए पनि सबै दैनिकिहरु सामान्य रुपमै चलिरहेको थियो । यस बिचमा अमेरिकी सरकारभित्र ट्रम सरकार लक डाउन गर्नु हुन्न भन्ने र अन्य केही राज्यका गभर्नरहरु लक डाउनमा जानु पर्छ भन्ने दुई पक्षमा ध्रुबिकरण देखियो । हुलाक सेवा बाहेक प्राय सबै सरकारी कार्यालय, बिद्यालय, होटेल, रेष्टुरेन्ट र क्यसिनोहरु बन्द भई सकेका थिए । अब स्कुल जाने केटाकेटीहरु सुरक्षाको लागि भनेर घरमा तर हामी बाबु आमा भने काममा जानै पर्ने बाध्यता थियो । न्यूयोर्क लगायतका केही राज्यका ठूला शहरहरु लक डाउन भयो तर साउथ डाकोटा (हामी बसेको) राज्यको गभर्नरले लक डाउन गर्न मानेन । अझ मैले काम गर्ने कम्पनी अति आवश्यकिय वस्तु (खाद्यवस्तु)को उत्पादन गर्ने भएकोले काम रोक्ने कुरा छँदै थिएन ।

काममा आउनेहरुलाई बोनस दिने उद्घोष गरेर मज्दुरहरुलाई अझ लोभ्याउदै थियो । तर, यदी कसैलाई कोरोनाको सिम्टम देखिएमा फोन गरेर चेकअप गर्न जान र रिजलट नआएसम्म घरमै बस्न पाउने केही खुकुलो नियम बनायो । यसले केही राहत भएको महशुस भयो हामीलाई । उता श्रीमतिको कामबाट भने दुई हप्ता बेतलबी बिदामा बस्न पाउने भयो र मैले तुरुन्त बिदा लिएर बस्न भने उनलाई । उत्तिखेरै यहाँ फेरी हिउ प¥यो । काठयाङ्ग्रिदो मौसम । यस्तै वातावरणमा कोरोना भाईरस धेरै लामो समयसम्म जिवित रहन्छ भन्ने सुनेको । कहिले कही त लाग्थ्यो कि, अब चाँही सकिएकै रहेछ । यो प्रकृती, यो मौसमले पनि सायद यस्तै गर्न चाहेको हो क्यारे ! एक प्रकारको उदासिन्ताको बादलले मनलाई झपक्क छोप्थ्यो । कत्तिखेर त राज्य सरकारको बिबेक देखेर पनि हाँसो र आक्क्रोश दुवै आउथ्यो कि, साना नानीहरुमा कोरोना संक्रमन नसरोस भनेर घरमा छन्, तर तिनैका बाबु आमा भने काममा जान वाध्य छन् । यसरी पनि कही सुरक्षित रहन सकिन्छ र ! के, ड्युटिमा जाने बाबु आमाबाट संक्रमन सर्न सक्ने खतरा हुन्न र ? सोसियल डिस्टेन्स राखिएता पनि कयौ मज्दुरहरुले गर्ने कामको प्रकृति र प्रकृया अनुसार एक जनाले छोएको सामानलाई अन्य कैयौ व्यक्तिहरुले छुनै पर्ने स्थितिमा सेनिटाइजरले हात धोंएकै भरमा कोरोन रोकिन्छ त ? मनमा अनेक यस्तै तर्कनाहरु खेल्थ्यो ।
केही दिनपछि आफुसँगै काम गर्ने साथीहरु बिरामी पर्न थाले । कोरोना परिक्षण गर्दा प्रायको पोजिटिभ भेटियो रे भन्ने सुनियो । मनमा झन अनेकौ संकाहरु पैदा हुनु स्वाभाविक थियो । आँफुलाई पनि थुक निल्दा हल्का कता कता घाँटी दुख्ने, ज्वरो आउने र बेला बेला सुक्खा खोकी लाग्ने हुना थाल्यो । कतै कोरोनाको सिम्टम त होइन ! झन शंका र डर बढ्न थाल्यो । कामबाट थकित भएर आएर सुत्थें । कहिले ज्वरोले आत्तिदै बिउंझन्थे । नानी दुई स्कुल । जोशना काममा । कस्लाई के भन्ने !

उठेर आँफैले आँफैलाई पानी पट्टी गर्थें, औषधीको डोज थप्थें । कोरोना नै लागेको भए पनि केही हुँदिन भन्ने सोंच्दै मुटुभरी सहास बटुलेर फेरी सुत्थें र भरै उठेर काममा जन्थें । आफुँ त जसरी नि ठीक हुन्छु । तर कुन बेला, के निहुँमा, परिवारमा कस्लाई, कात्तिखेर कोरोनाले छोप्ने हो भन्ने मनमा चिन्ता लागि रहन्थ्यो । चिसो मौसम थियो त्यो बेला । घर बाहिर पोहोर सालको फुलका बोटहरु हिउले पुरेर सुकेका तर अहिले झिङरिङ्गग परेर लठिभद्र थिए । तिनीहरुलाई सम्हाल्न जोशना जहिल्यै आतुर थिईन् । अहिले घर बाहिरको सोर्बटार छोडिदेउ, चिसोबाट अहिले बँचेर बस्नु भनेर बारम्बार सम्झाई रहन्थें । एक दिन कामबाट फर्कने क्रममा एउटै डिपार्ट्मेन्टमा काम गर्ने साथीलाई राइड दिएंको थिएं । भोलीपल्ट उ काममा आएन र सोध्दा उसको परिवारमा कोरोना पोजिभ भेटियो रे त्यसैले काममा नआउनु भनेको रहेछ भन्ने बुझियो । अब झन मलाई डर र चिन्ता बढ्न थाल्यो । कत्ती साथी (संगै काम गर्ने)हरु कोरोना टेस्ट गरेर घरमै बसेका पनि थिए । अब चाँही मैले पनि कोरोना टेस्ट नगरी हुन्न भन्ने लाग्यो र अर्को दिन स्वँप टेस्ट गराउन हस्पिटल गएं र काममा फोनबाट जानकारी दिएर घरमै बसें । स्वाँप टेस्टको रिजल्ट बारे फोनबाटै जानकारी गराउने कुरा हस्पिटलले बतायो । उता जोशना पनि बेतलबी बिदामा बसेकी थिइन् । नानी र बाबुलाई ठिकै थियो तर मेरो स्वँप परिक्षणको नतिजा कस्तो आउने हो भन्ने कुराले भने हामीलाई सताई रहेको थियो । यत्तिखेर मेरो ज्वारो घटेको थियो तर घरमा बसेदेखी एक दुई दिन जिउ पुरै दुख्न थाल्यो ।

रातमा सुत्न पनि गाह्रो भयो । लाग्थ्यो रात नभै दिए पनि हुन्थ्यो । यस्तो हुँदा पनि आफुलाई स्फुर्त राख्नु पर्छ भनेर हल्का शारिरीक व्यायम गर्ने, तातो पानी र यस्तै तातो झोलहरु बढी खाने गरें र उनीहरुलाई पनि यस्तै गर्न लगाए । फुर्सदको समयमा पहिलादेखी थाँती बसेका कामहरु सकाउन म तल्लिन थिएं र त्यसमै लागि परें । चार दिनको बेलुकी पख हस्पिटलले फोन ग¥यो र कोरोना भाईरस नेगेटिभ रहेको जानकारी दियो । हामी खुशी भयौं र केही ढुक्काको महसुस पनि ग¥यौं ।

भोलिपल्ट शुक्रबारको दिन अर्को हप्ताबाट हामी दुवैले काम गर्ने कम्पनी दुई हप्ताको लागि बन्द हुने खबर पायौं यसले हामीलाई थप केही आनन्द महसुस त गरायो तर यत्तिखेर परिस्थिती आक्रान्त भई सकेको थियो । वरिपरी प्राय हरेकको घरमा कोरोना संक्रमित बिरामी थिए । कत्ती छिमेकी साथीहरुको त परिवारको जम्मै सदस्यहरु नै बिरामी भएर बजारबाट अरुले सपिङ्ग गरेर ल्याईदिनु पर्ने, खाना बनाएर पु¥याई दिनु पर्ने अवस्था पनि थियो। कत्तिलाई इमर्जेन्सी हस्पिटलाईज गरेर भेन्टिलेटरमा राखिएका थिए । हामी दुईले पनि बिदामा घर बस्दा बिरामी साथीहरुलाई के के आवश्यकता छ ? फोनबाटै सोधेर सपिङ्ग गरिदिने र खाना बनाएर पु¥याई दिन पायौं । कत्ती बिरामी साथीहरुलाई फलफुल र जुसहरु लिएर सान्त्वना दिन भ्याई रहेका थियौं । यसरी जाँदा वा सामान पु¥याउदा भाईरस संक्रमनबाट जोगिन उहाँहरुको घर बाहिरसम्म पु¥याएर फोनबाट जानकारी गराउनु पर्ने स्थिती थियो। हामीले पनि त्यसै ग¥यौं ।

आफ्नो कामको धुनले म प्राय राती सधैं अलिक ढिलै सुत्ने गर्थें र गर्छु पनि किन भने रातमा मलाई एकान्त र सुन्सान बातावरण मिल्छ । एक दिन म उठ्दा जोशनाले घर बाहिर छरपस्टिएर बसेका बुटाबुटी, ठुटाठुटीहरु जम्मै सम्हाल्न भ्याई सकेका रहेछन् । हल्का घाम पनि लागेको थियो । ज्याकेट पनि लगाएको रहेन छ । काम गर्दा गर्मी भयो रे…। ‘झन यस्तो चिसोमा बाहिरको सोर्बटारको काम नगर्नु भनेको हैन ?’ भन्दै गाली गर्दै ज्याकेट लगेर ओड्न दिएं र बाँकी रहेको काम दुवैले सकायौ । दिउसो भयो । उनैले खाना बनाएर खाना खायौ । फुर्सद पाउने बित्तिकै म कम्प्युटरमै बसेर के के गर्न थालें । बेलुकीपखबाट जिउ नराम्रारी दुख्छ भन्न थालिन् । ‘मैले भनेकै थिएं होइन ?’ म अलिक झर्किदै तातो पानी बढी पिउनु, जिउलाई न्यानो राख्नु भने । मलाई लागेको थियो अघि बिहान बाहिर चिसोमा काम गरेकोले जिउमा चिसो गाडीएर होला । बेलुकीको खानापछि हल्क उनलाई मालिस गरिदिएं र आराम गर्न भनें । त्यत्तिखेर हल्का टाउको पनि दुख्छ भन्दै थिईन् । सोंचे आराम गरेपछि निको हुन्छ होला । म पुनः आफ्नै काम गर्न कम्प्युटरमै बसें । राती अबेर सुत्न कोठामा पुग्दा परिस्थिती सोंचेको भन्दा अलग थियो ।

उनलाई बेस्कन टाउको दुख्न थालेको रहेछ । भमिट पनि आउन खोज्छ भन्दै छट्पटाई रहेकी थिईन् । ज्वरो पनि आएको रहेछ । थर्मोमिटरले ज्वरो नाप्दा १०२ देखायो । औषधी खुवाए र पानी पट्टी गरीदिएं केही बेर । ज्वरो केही हल्का घट्यो त्यसपछि म त निदाएंछु । खै कुन्नी उनी निदाईन् कि निदाईनन् पत्तै पाइन । जब म बिउझें उनको बिरामी उस्तै थियो । मनमा डर त थियो कतै कोरोना हो कि भन्ने तर उनलाई खोकी थिएन । घाँटी दुखेको थिएन र सास फेर्न पनि गाह्रो परेको थिएन त्यसैले कोरोना होइन कि भन्ने पनि लाग्यो । ज्वरो र टाउको दुखाई कम हुने औषधी सिटामोल खान लगाएं ठीक हुन्छ होला भन्ने आशामा । औषधीले ज्वरो घट्थ्यो तर टाउको दुखाई कम हुन सकेन । ‘क्लिनिकमा कल गरेर अपोईन्ट्मेन्ट बनाउ कि ?’ भनेर सोध्दा उनैले ‘एक दुई दिन हेरम ठीक हुन्छु होला’ भन्थिन् ।

बिरामीले यसो भनेपछि मलाई पनि केही सहजताको महशुस हुन्थ्यो । चार पाँच दिन नै बितिसकेको थियो यसैगरी । आज भन्यो भोली भन्यो झनझन उनलाई गाह्रो हुँदै गयो । अब चाँही यसरी हुन्न हस्पिटल जानु पर्छ भनेर फोन गरेर अपोईन्मेन्ट बनाए । कोरोनाको त्रासले गर्दा डाक्टरसँग प्रत्यक्षा भेट्न नसकिने रहेछ । फोनबाटै बिरामीलाई सोधेर डाक्टरले प्रेस्क्रिप्सन फार्मेसीमा पठाई दियो र अर्को दिन एउटा सुई लिन क्लिनिकमा जानु भन्यो । त्यत्तिबेला डाक्टरले पनि कोरोनाको संका गरेन । त्यसैले पनि सामान्य नै रहेछ भनेर हामी अलिक ढुक्क बन्यौ । फार्मेसीमा गएर औषधी ल्याए । भोलिपल्ट सुई लिन जोशनालाई क्लिनिक लगें । जहाँ बिरामी मात्रै भित्र जान अनुमती थियो । डाक्टरको सल्लहा अनुसार औषधीलाई निरन्तर गरी रह्यौं ठीक भईहाल्छ भन्ने आशा र भरोसामा ।

आफ्नो बानी भनुँ वा कम्जोरी ? कत्तिखेर त आँफैलाई खिन्न पनि लाग्छ, कि आफुले जे गर्छु भनेर सोंच्छु त्यो काम पुरा नगरुन्जेल अन्यतिर कम ध्यान दिनु मेरो कम्जोरी नै हो भन्ने लाग्छ । जसले गर्दा कत्ती कुराहरु बिती सकेपछि चाल पाउछु र आँफैलाई पछुतो लाग्छ । अब त नानी दुई पनि घरमा भएको खाने कुराहरु खोजी खाने, पकाई खाने भई सकेका छन् । उहिले हाम्रो पालामा हो भने उनीहरुको उमेरमा हामी घरको सानो तिनो घर धन्दा, गाई गोठमा हो भने गोठको पुरै काम थेग्न सक्ने भई सकेका थियौं । आजकालका केटाकेटीहरु खै के ? खै के ?… त्यो बेलाको र यो बेलाको समय, परिस्थिती र परिवेस नै फरक छ । यस्तै त होला नि भनेर चित्त बुझाउनु पर्ने ।

अब जोशना केही गर्न नसक्ने अवस्थामा थिईन् । सपिङ्ग, लण्ड्रिमा कपडा धुन लानु, घरको किचनको काम मेरै जिम्मा भयो। ति सबै काम सकेर पनि बचेँको समयलाई सदुपयोग गर्ने हेतुले आफ्नै काममा धेरै जसो म केन्द्रित थिएं अझैसम्म पनि । दिन बित्दै गयो । उनी झनझन सिथिल बन्दै गईन् । डाक्टरले दिएको औषधीले खासै काम गरिरहेको थिएन । खान अमन हुने, डायरिया र भमिटिङ्ग पनि संगै सुरु भयो । करले केही खाइ हाले वा निली हाले भने पनि सोझै बाथरुम छिर्नु पर्ने स्थिती बन्यो । बेटबाट उठेर बाथरुमा जानसम्म पनि अरुले सहार दिनु पर्ने । खानाको गन्धले परै बान्ता आउँला जस्तो गर्न थालिन् । चम्चा समात्द वा गिलासरमक उचाल्द पनि हात पुरै काँपेको स्पष्टै देखिन्थ्यो । अवस्था चिन्ताजन बन्न थाल्यो । अब भने म निक्कै त्रसित भए । आफ्नो कामलाई पुरै रोकें । टेस्ट नगरेकोले एकिन प्रमाण हामीसंग नभए पनि मलाई निश्चय भई सकेको थियो कि यो कोरोना नै हो भन्ने तर उपचार बिधी के ? अलमलमा परें । हस्पिटल जाऔं डाक्टरहरु छुनै डराउछन् । बिरामीलाई बहिरा बहिरै पठाई दिन्छन् । औषधी त्यही सिटामोल खानु भन्छ । श्वास प्रस्वामा समस्या भए मात्रै इमर्जेन्सी कल गर्नु भन्छ । यो कुरा जम्मै पहिला बिरामी परीसकेका साथीहरुले भोगी सकेका थिए । डायरियाको औषधी आँफैले सर्च गरेर सपिङ्ग सेन्टरबाट ल्याएर दिए ।

त्यसले राम बाणकै काम ग¥यो यसले गर्दा पनि म र बिरामीलाई केही हौसला मिल्यो । सामाजिक सञ्जाल र साथी भाईहरुबाट थाहा पाए जत्ती कोरोनाको सबै घरेलु उपचार गर्न थालीयो । शरीरलाई गरम बनाउने लसुन, मरिच, ल्वाङ्, अदुवा, ज्वानो, ताजा हल्दी (बेसार)लाई पानीमा उमालेर पिउने । भिटामिन ‘सी’ क्यल्सियमको मात्रा बढाउन सुन्तला, कागतीको रसमा मह लगाएर तातो पानीसंग बारम्बार पिउने । बिहाना बेलुकी तातो पानीको बाफ लिने निरन्तर गरी रह्यौं विशेष गरी बिरामीलाई । नानी दुइलाई बिशेष सरसफाईमा ध्यान दिन लगाएं र आँफैले पनि कियर गरें । एक प्रकारले अब म अलर्ट रहें । केही दिनहरु यसरी नै बित्यो ।

जोशनाको स्वास्थ्यमा पहिले भन्दा केही सुधार भएको थियो । टाउको दुख्नु र ज्वरो निकै कम भई सकेको थियो तर अमन हुने अझै उस्तै थियो । शरीरमा तागत अलिकती पनि थिएन । अन्ततः उनले काम गर्ने कम्पनी फेरी सुचारु हुन थाल्यो । मेरो चाँही अझै अर्को हप्ता पनि बन्द हुने भयो । उनी काममा जान सक्ने अवस्थामा थिईनन् । हामीलाई थाहा भए पनि कम्पनिलाई प्रमाण चाहिने भयो र जोशनाको स्वँप परिक्षण गर्न हस्पिटल गयौं । करिब तीन घण्टापछि नै हस्पिटलले जानकारी दियो कि उनको कोरोना पोजिटिभ छ भनेर । यो कुरा सुनेर सुरुमा त उनी धेरै डराइन् । नानी दुईलाई मैले पहिल्यै भनी सकेको थिएं, ममिलाई कोरोना भएको छ, अलिक टाढा बस्नु भनेर र त्यसरी नै उनदुई बस्थे, रहन्थे पनि । तर हस्पिटलको रिपोर्ट सुनेर उनदुई पनि तर्सिए । तिनै जनालाई सम्झाउने बुझाउने कोशीस गरें हामीले ठुलो खड्को पहिल्यै पार गरिसकेका छौ । बिरामीले पनि जत्ती सहनु सही सक्यौ, जत्ती खप्नु खपी सक्यौ । रिपोर्ट पो बल्ल भखर आयो । तर हामी सबैलाई पहिल्यै थाहा त थियो नि कोरोना हो भन्ने अब कोही डराउनु र आत्तिनु पर्दैन भनेर । रिपोर्ट आएको लगत्तै केही समयपछि हस्पिटलबाट पुनः फोन आयो । फोनमा डाक्टर रहेछ । उसले भिडियो कलको एक्सेस्को बारेमा सोध्यो र मैले उपलब्ध छ भनेपछि फोनको क्यमेरा अन गर्न भन्यो मैले त्यसै गरें ।

बिरामीको अवस्था र हामीले प्रयोग गर्दै गरेको सबै औषधीहरु हेरी सकेपछि त्यसैलाई नै निरन्तर गर्नु भन्दै खाना अमन कम हुने अर्को औषधीको प्रेस्क्रिप्सन फारमेसिमा पठाई दियो र यदी कही कतै कुनै पनि बेला श्वास प्रश्वासमा समस्या भयो भने तत्काल हस्पिटललाई खबर गर्नु भन्दै हामीलाई आस्वास्थ दिलायो र उसले यसरी नै फोनबाट केही दिन भिडियो कलमा फलोअप गर्ने बतायो । अब दुई हप्ता हामी क्वारेन्टाइनमा बस्नु पर्ने भयो । भोलिबाट अर्को पाँच छ दिनसम्म उही डाक्टरको फलोअप सुरु भयो । उसको प्रश्नहरु सधैं एकै प्रकारका हुन्थे अहिले तिमीलाई कस्तो छ ? ज्वरो छ कि छैन ? घाँटी दुख्छ कि दुख्दैन ? खोकी लाग्छ कि लाग्दैन ? अनि श्वास प्रश्वासमा समस्या छ छैन ? यस्तै यस्तै… । सुरुका दिनदेखी नै हामीले सम्भब भए जत्ती घरेलु उपचार गर्दै आएका थियौ । जब हस्पिटलबाट रिपोर्ट आएपछि यसलाई अझ नियामित र मात्रा पनि बढाएका थियौं । हामीसंग नभएका जडिबुटिहरु साथी भाईहरुले ल्याई दिनु भयो । घरका आवश्यकिय चिजहरु कत्तीले सपिङ्ग गरेर पनि ल्याइदिनु भयो । अब हाम्रो अवस्थाको बारेमा नजिकको छिमेकी साथी भाई हुँदै टाढटाढाका शुभेच्छुक मित्र र आफन्तहरुसम्म पुगी सकेको थियो । वहाँहरुबाट हामीलाई बारम्बार हौसला र शुभेक्षा मिली रह्यो । यसरी सबैको सहयोग, शुभेच्क्षा, सद्भाव र हौसलाले गर्दा नै अहिले हामी कोरोनाको संक्रमनबाट मुक्त भएर पुनः आफ्नो दैनिकीलाई निरन्तरता दिन सकीरहेका छौं यत्तिबेला हामीलाई यही लागेको छ । म ति तमाम सहयोगी साथी भाईहरु, मित्रहरु अनि आफन्तजनहरुलाई हार्दिक आभार र धन्यवाद दिन चाहन्छु यसै लेख मार्फत । ज-जसले त्यो विषम परिस्थितीमा हामीलाई सहयोग गर्नु भयो, टाढा रहेर पनि सधैं हौसला अनि सल्लह, सुझाब साथै हाम्रो निम्ती पिर र चिन्ता लिई दिनु भयो ।

हामी कोरेम्टाइनमै थियौं । कोभिड–१९ टेस्ट गर्दा पहिला नेगेटिभ भेटिएकाहरु र टेष्ट नगरेका परिवारका सबै सदस्यहरुले पुनः कोरोना टेस्ट गराउनु पर्ने उर्दी राज्य सरकारले रोजगारदाता मार्फत जारी ग¥यो । यसका लागि विद्यालयहरुको ठूलाठूला खाली चौउरमा स्वँप संकलन केन्द्रको स्थापना गरिएको थियो । हामी तीन जना पनि गयौं । मान्छेहरुको लस्कर निक्कै लामो भए पनि व्यवस्थित र सुरक्षित विधीहरु अपनाईएका थिए । यो कार्यक्रम एक हप्ताको लागि सञ्चालित थियो र पछि त्यत्तिबेला छुटेकाहरुको लागि भने निश्चित हस्पिटलहरुमा तोकिएका थिए । हामी पनि केही घण्टाको लाम्बद्द बसाईपछि बल्ल स्वँप सङ्कलन गर्ने ठाउँमा पुगेर आफ्नो स्वँप दिन सक्यौ । स्वँप कालेक्टरले हाम्रो रिजल्ट फोनबाट जानकारी गराउने बतायो र घर फर्क्यौं । तीन दिनपछि हस्पिटलबाट फोन आयो । बाबुको कोरोना पोजिटिभ भेटिएको छ भन्यो तर उसलाई कोरोना भाईरसको खासै असर भने देखिएको थिएन । छोरीलाई भने हल्का खोकी र नाकको सुँघ्ने क्षमतामा कमी भएको थियो तर उस्को भने नेगेटिभ नै रहेको जानकारी दियो । नाममा एउटै ‘थर’ भएकोले कतै उल्टो रिजलट भएको हो कि भनेर एक पटक रिकन्फर्म गर्न लगाए ।

अर्को दिन पनि फोन गरेर हस्पिटलले रिजलट सही भएको बतायो । अब जोशनालाई जस्तै बाबु (प्रतिक)लाई पनि डाक्टरले भिडियो कल र फोनबाट फलोअप गर्न थाल्यो । उसलाई कुनै लक्षण नभएकोले फलोअप एक दुई दिन मात्रै भयो तर निक्कै सजक भएर चाँही बस्यौं । मेरो रिजलट चाँही पछि जानकारी दिन्छौ भन्यो तर कुनै खबर आएन । हाम्रो कोरेन्टाइन समय अवधी पुनः चौध दिन थपियो । डाक्टरको सुझाब अनुसार हाम्रो कोरेन्टाइन अवधी चली रहेकै बेला मैले काम गर्ने कम्पनीले काम सुरु ग¥यो र मलाई काममा आउनु भनियो । मैले सम्पूर्ण कुराको जानकारी गराएं, तथापी आफुलाई कोरोना पोजिटिभ नभएकोले काममा जानै पर्ने भयो । उता जोशनालाई भने सम्पूर्ण प्रमाणहरु ईमेलबाट पठाएर प्रमानित भएपछि कोरेन्टाइन अवधी सकिए पस्चात मात्र काममा जानु पर्ने भयो । बिरामीहरुलाई छोडेर ड्युटिमा जान म बाध्य थिएं किन भने यस्तो बेला काम छोड्दा अर्को ठाउँमा फेरी तुरुन्त काम पाउन सकिन्न । अब अमेरिकामा बेरोजगारी बढ्ने सम्भावना छ भन्ने हल्ला पनि चली रहेको थियो र म गए । काममा सामाजिक दुरी र सुरक्षा संयन्त्रलाई निक्कै चुस्ता र कडा पारीएको रहेछ यद्द्यपी मेरो जस्तै घर परिवारमा कोरोना पोजिटिभ भएको तर आफुँलाई काममा आउनै पर्ने बाध्य बनाईएका अरु थुप्रै साथीहरु पनि भेटें र मनमा थोरै भए पनि सान्त्वना मिल्यो । मनमा अनेकौं डर, त्रास, पिर र चिन्ता भए पनि पुनः काम सुरु गरियो । केही हप्तामा साउथ डाकोटा स्वास्थ्य विभागबाट ‘तपाईमा कोभिड-१९ भाईरसको संक्रमण भेटिएकोले यसका लक्षणहरु पूर्ण रुपमा ठीक नभए सम्म वा नहराए सम्म घर बाहिर वा कुनै यात्रामा निस्कन तपाईलाई बन्देज गरिएको छ,’ भन्ने आसयको चिट्ठी म र छोरीको नाममा पनि आयो । त्यो देखेर म त रणभुल्लमा परें, छोरी पनि छक्कै भईन् । किन भने यस्तो व्यहोराको पत्र कोभिड-१९ कोरोना पोजिटिभ भएका व्यक्तीहरुको नाममा मात्र पठाउथ्यो । चिट्ठी प्राप्त हुँदा कता कता डर पनि लाग्यो र अहो ! ठुलै खड्को पो काटिएछ भन्ने पनि लाग्यो । …

अन्तमा, अहिले हामी दुवै जनाले सामान्य रुपमै काम गरी रहेका छौ । यि हाम्रो अनुभबले मैले के बुझें भने कोरोना कोभिड-१९ को लक्षण यही नै हुन्छ वा यस्तै देखिन्छ भन्ने नहुने रहेछ । यो जस्तोसुकै पाराले पनि सुरु हुने रहेछ । यस्तो बेला आफुँलाई जसरी हुन्छ शारिरीक र मानसिक रुपले चुस्त र स्फुर्तक रहनु अती जरुरी हुने रहेछ र आफ्नो आत्मबललाई सधैं दरिलो बनाई राख्नु पर्ने रहेछ । अस्तु ! …

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार