साना जलविद्युत निर्माण गर्न खुम्बुपासाङल्हामु र माप्य दुधकोशी गाउँपालिकाबीच सम्झौता

  सगरमाथा अनलाईन
105 Shares

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाबी साना जलविद्युत आयोजना निर्माण गर्न गाउँपालिकास्तरीय प्रारम्भिक सम्झौता भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ र माप्य गाउँपालिका वडा नं. १ को सिमानामा पर्ने खरिखोलास्थित साझेदारीमा साना जलविद्युत आयोजना निर्माण गर्नका लागि दुई गाउँपालिकाबीच प्रारम्भिक सम्झौता भएको हो ।


आयोजना निर्माणका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले गरेको औपचारिक अनुरोधअनुरुप बुधबार माप्य दुधकोशी गाउँपालिकामा सम्पन्न संयुक्त बैठकबाट यस्तो सम्झौता गरिएको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले बताए । सो बैठकले आयोजनाको विस्तृत परियोजना रिपोर्ट (डीपीआर)का लागि काम अघि बढाउने र थप प्रक्रिया आवश्यकताका आधारमा दुई पक्षीय वार्ता तथा छलफलबाट टुंग्याउने गरी सम्झौता भएको छ ।
सहमतिअनुरुप डीपीआर बनेपछि बजेट स्रोतका लागि संघीय सरकार, प्रदेश सरकार, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलगायत सम्बन्धित निकायहरुमा पहल गर्ने, डीपीआर तयार भएपश्चात समन्वयका लागि आवश्यकताअनुसार भविष्यमा समन्वय समिति गठन गरेर जाने र आयोजना निर्माणसँगै सञ्चालन मोडालिटीबारे थप अध्ययनपछि सम्झौता पत्रको ड्राफ्ट तयार गरेर दुई पक्षले हस्ताक्षर गर्ने भनिएको छ ।

खरिखोलाको सिसाखानी भन्ने ठाउँमा बनाउन लागिएको उक्त आयोजनाका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले यसअघि नै प्रारम्भिक वातावरणीय सम्भाव्यता अध्ययन गराईसकेको र सोहीअनुरुप साझेदारीमा आयोजना अघि बढाउनका लागि माप्य दुधकोशी गाउँपालिकालाई अनुरोध गरेको थियो । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ मा पेनस्टक पाइप र विद्युत गृह बनाई दुबै गाउँपालिकाका स्थानीय बासिन्दालाई विद्युत सेवा उपलब्ध गराउने प्रस्ताव उसको छ ।

बुधकारको संयुक्त बैठकमा माप्य दुधकोशी गाउँपालिकाको तर्फबाट अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरब राई, वडा नम्बर १ का अध्यक्ष सज्जन राई र निमित्त प्रमुख कार्यकारी अधिकृत जितेन्द्र कुमार यादव र खुम्बु पासाङल्हामु गाउँपालिकाको तर्फबाट प्रवक्ता लाक्पा छिरि शेर्पा, निमित्त प्रमुख कार्यकारी अधिकृत उद्धब ढुंगानालागायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार