सज्जा चौलागाई भईन तेस्रो नेपाल आईडल, उपाधिसँगै ५० लाख पुरस्कार जिते

Facebook Debugger

काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएको गायन रियालिटि शो नेपाल आईडलको तेस्रो सिजनको विजेता सज्जा चौलागाई भएका छन् । उनले ग्रान्ड फिनालेमा प्रवेश गरेका दुई प्रतियिोगीलाई पछि पार्दै तेस्रो नेपाल आईडलको ताज जितेका हुन् ।

नेपाल आईडल तेस्रो सिजनको फस्ट रनरअप प्रविण वेडुवाल भए, भने सेकेण्ड रनरअप किरणकुमार भुजेल भएका छन् ।

प्रविन बुटवाल अडिसनबाट नेपाल आईडलमा आएका थिए । भने, किरण र सज्जा काठमाडौं अडिसनबाट तेस्रो नेपाल आईडलमा सहभागी थिए । हजारौंबाट छानिदै उनीहरु उत्कृष्ट ३ मा पर्न सफल भएका थिए ।

उत्कृष्ट ३ मा पर्न सफल भएका चौलागाई, वेडुवाल र भुजेलले पाएको सर्वाधिक भोटको आधारमा विजेता चयन भएको थियो । विजेता सज्जा चौलागाईले ‘नेपाल आइडल-३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी फस्ट रनरअप प्रविण वेडुवालले १० लाख र सेकेन्ड रनरअप किरणकुमार भुजेलले ५ लाख नगद प्राप्त गरेका छन् । अन्य हप्ताको कार्यक्रम जस्तै शुक्रबारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल-३ को विजेता घोषणा गरिएको थियो । लकडाउन भएको थिएन भने गत चैतमै कार्यक्रम सम्पन्न भइसक्थ्यो । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण करिब ४ महिना नेपाल आईडलको प्रशारण रोकिएको थियो । तर, कोरोना कहरबीचमै उच्च सुरक्षा र सतर्कता अपनाउँदै पुनः नेपाल आईडलले आफ्नो यात्रा तय गर्यो ।

टप फोरमा आएपछि करिब ४ महिना रोकिएको नेपाल आईडलमा वाइल्ड कार्ड ईन्ट्री मार्फत किरणकुमार भुजेलको पुनः प्रवेशसँगै टप फाईभबाट शुरु भएको थियो । किरणको पुनः प्रवेशसँगै प्रत्येक हप्ता एक एक जना प्रतिस्पर्धी कम भोटका कारण बाहिरएपछि टप थ्रीले ग्रान्ड फिनाले फाईनलमा प्रवेश गरेका थिए । ग्रान्ड फिनालेमा मोरङका सज्जा चौलागाई, वर्दियाका प्रविन वेडुवाल र महोत्तरी बर्दिवासका किरणकुमार भुजेल पुगेका थिए ।

नेपाल आईडलको तेस्रो सिजनका लागि पनि निर्णायकका रुपमा यस अघिकै न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए । नेपाल आइडल पहिलो सिजनको उपाधि पोखराका बुद्ध लामा र दोस्रो सिजनको उपाधि कञ्चनपुरका रवी ओडले जितेका थिए ।

नेपाल आइडलको तेस्रो सिजन वि.सं. २०७६ पुष ३ गतेबाट शुरु भएको थियो । गायन रियालिटी शो नेपाल आईडल एपि वान टेलिभिजनबाट प्रत्येक हप्ताको बिहीबार र शुक्रबार दुई पटक प्रसारण हुँदै आएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार