६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

कुकुरको सुरक्षामा अडिएको छ म्याग्दीको पशुपालन



म्याग्दी, १४ कात्तिक । कुकुरलाई आज्ञापालक र सुरक्षाको भरपर्दो घरपालुवा जनावर समेत मानिन्छ । कुकुरले घरदेखि वनसम्म आफूलाई दिइएको जिम्मेवारीलाई ज्यानको बाजी समेत लगाएर पालना गरेको प्रसस्तै उदाहरणसमेत नेपाली समाजमा भेटिन्छन् ।

म्याग्दी शिख–४ पाउद्वारका सुकबहादुर तिलिजा उच्च हिमाली क्षेत्रमा अवस्थित खयरक्षेत्रमा भेडापालन गर्दछन् । खयर क्षेत्रमा रहेका भेडाको सुरक्षणमा तिलिजाले कुकुर पालेका छन् । भेडाको चरन क्षेत्र आसपासमा रहेका कुकुर तालिम प्राप्तजस्तै छन् ।

अग्ला पहाड, ढुङ्गाको माथि बसेर सुरक्षा दिइरहेका कुकुरलाई सुकबहादुरले खानपिनमा कुनै पनि कमी हुन दिएका छैनन् । सुकबहादुर जस्तै तुलबहादुर तिलिजा, लालवीर तिलिजा, मीनबहादुर गुरुङ, छविलाल तिजिलासहित खयर क्षेत्रमा रहेका भेडाको सुरक्षामा रहेका कुकुरले पशुपालक कृषकको आम्दानीमा ठूलो मद्दत गरेका छन् ।

Sagarmatha

हिमचितुवा र जङ्गली जनावरको भेडाको बथानलाई आक्रमण गर्दा कुकुरले प्रतिकार गर्ने गरेको सुकबहादुरले बताउनुभयो । शिखको खोप्रा, खयर क्षेत्रजस्तै पाखापानी, कुइनेमङ्गले, गुर्जा, मुदीलगायतका क्षेत्रम पशुचौपायाको संरक्षणमा घनाजङ्गलभित्र समेत कुकुर पाल्ने गरिन्छ ।

कु्कुरले बर्सेनि लाखौँ मू्ल्य बराबरका नोक्सानी हुनबाट बचाउने गरेको छ । चरन क्षेत्रका साथै गाउँघरमा समेत गरिएका पशुपालनको सुरक्षामा कुकुर राख्ने गरिएको छ । वर्षमा एकदिन नेपालीको दोस्रो ठूलो पर्व तिहारको दोस्रो दिन कुकुरलाई मिठो खान दिई पूजा गर्ने गरिए पनि ग्रामीण क्षेत्रमा कुकुरको सुरक्षाबाट व्यावसायिक पशुपालनमा कृषकले ठूलो राहत महसुस गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७३, आइतबार  ४ : १२ बजे