विश्वासको मतमा मत विभाजन गर्दा संसदमा सबै सत्तारुढ

  बुद्धवीर बाहिङ
140 Shares

काठमाडौं । प्रतिनिधिसभामा मंगलबार दिउँसोसम्म सत्तापक्षमा र प्रतिपक्षमा ६/६ वटा दल थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै संसद सत्तापक्षमय भएको छ । दुई सांसद बाहेक सबैले प्रधानमन्त्रीलाई मत दिए ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाएका ७ सहित १२ दल र तीन स्वतन्त्र सांसद छन् । उनीहरुमध्ये नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्रै प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत दिएका छन् । जबकि १० पुसमा प्रधानमन्त्रीमा दाबी गर्दा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी) र दुई स्वतन्त्र सांसदको मात्र समर्थन थियो ।

सबैभन्दा ठूलो दल कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी संघीय संसद सचिवालयलाई गराएका थिए । सचिवालयले त्यही अनुसार सिट व्यवस्थापन गरेको थियो ।

तर, मंगलबार नेमकिपा र राजमोबाहेक सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा मंगलबार २७१ सांसद उपस्थित थिए । सभाध्यक्षको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मतदान प्रक्रियामा भाग लिएनन् । मतदानमा सहभागीमध्ये २६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन् ।

प्रचण्डलाई कांग्रेसका ८५, एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १३, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ४÷४ र तीन जना स्वतन्त्र सांसदले मत दिएका हुन् ।

कांग्रेसका तीन सांसद किशोरसिंह राठौर, अम्बिका बस्नेत र मनोरमा शेरचन मंगलबारको बैठकमा अनुपस्थित रहे भने कांग्रेसकै टेकबहादुर गुरुङ निलम्बित भएकाले संसद बैठकमा भाग लिन पाउँदैनन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलहरुमध्ये एमाले, रास्वपा र जनमत सरकारमै सहभागी छन् । राप्रपा, जसपा र नागरिक उन्मुक्ति सरकारमा गएको छैन, तर सत्तारुढ दलका बैठकहरुमा जाने गरेका छन् । न्यूनतम साझा कार्यक्रम निर्माणमा पनि उनीहरु सहभागी भएका थिए ।

तस्वीर: बुद्धवीर बाहिङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार