उद्धार टोली सहितको पहिरो निरीक्षण गर्न गृहमन्त्री बागलुङ तर्फ

Facebook Debugger

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बागलुङको ढोरपाटन नगरपालिका ९ को बोबाङमा गएको पहिरोको निरीक्षण गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । हिजै घटनास्थल गएका थापासहितको टोली खराब मौसमका कारण फर्किएको थियो । आज सांसद देवेन्द्र पौडेलसहितको उद्धार टोलीसंगै गृहमन्त्री थापा त्यसतर्फ लागेका हुन् । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ ।

सो पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टम आज गरिने छ । घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी सुरु भएको रेग्मीले बताए ।

रातको समयमा पहिरो खसेका कारण धेरैको मृत्यु भएको हो भने केहीले भागेर ज्यान बचाएका थिए । कतिलाई भने भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् ।

केही शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । पहिरोले फलेघर र सुपुर्दुङका दर्जन बढी घर बगाएको छ भने वडा नं ८ समेत गरी ४० घर बगेका छन् । अधिकांश घरको भग्नावशेषसमेत देखिएको छैन ।

बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी आउँदा ठूलो क्षति भएको स्थानीयले बताएका छन् ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार