सन्दीप लामिछाने आज थुनामुक्त हुँदै

  सगरमाथा अनलाईन
133 Shares

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप खेपेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी थुनामुक्त हुन लागेका हुन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार छुट्न सकेनन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई शुक्रबार (आज) मात्र थुनामुक्त गरिने बताए ।

नाबालिकालाई बलात्कारको आरोप खेपेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनी केन्द्रीय कारागारमा छन् । जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार