सडकपेटीबाट ४०० जनाको उद्धार, १२५ लाई पुनर्मिलन

0 Shares

चितवन, १४ भदौ । सडकमा बेवारिसे भई कष्टकर जीवन जिउनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा लागेको मानवसेवा आश्रमले सडकपेटीबाट ४०० जनाको उद्धार गरेको छ ।

चारवर्षको अन्तरालमा उनीहरुमध्ये १२५ जनामा उपचारपश्चात ठीक बनाएर परिवारमा पुनर्मिलन गराएको आश्रम चितवनकी अभियन्ता रुपा केसीले जानकारी दिए ।

चितवन, काठमाडौँ र हेटौँडामा रहेको आश्रमले यसरी उद्धार गरी परिवारमा मिलन गराएको मानवसेवा आश्रम, चितवनकी अभियन्ता रुपा केसीले जानकारी दिए । मंगलबार पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा आश्रमले यस्तो जानकारी गराएको हो ।

तीन जिल्लामा गरी अहिले १५० जनाले सेवा पाइरहेको उहाँले जानकारी दिए । चितवनका कृष्ण ज्ञवालीले अहिले आफ्नो जीवन परिवर्तन भएकोमा खुसी व्यक्त गर्दै अब यस्तै असहायको सेवामा आफू खटिने बताए ।

२०६६ सालदेखि सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन संस्थाले साँचो जीवन निर्माण अभियान सञ्चालन गरेको थियो । यसैलाई टेकेर २०६९ सालमा आश्रम स्थापना भएको थियो ।

सडक–किनारामा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा विक्षिप्त भएकालाई आश्रमले उद्धार गरी उपचार तथा पालनपोषण गर्दै आएको छ ।

अहिले मकवानपुरमा २०० जना बस्न मिल्ने करिब रु चार करोड ५० लाखको लागतमा मानवसेवा आश्रमको भवन निर्माण कार्य जारी रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । विदेशमा बस्ने नेपाली र नेपालमै रहेका सहयोगीबाट आश्रम सञ्चालित छ ।

आश्रम पाँचौँ वर्षमा प्रवेश

यसैबीच, स्थापनाको चारवर्ष पूरागरी मंगलबार पाँचौँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा आश्रमले सोमबार साँझ चितवनमा दीप प्रज्वलन तथा वृक्षरोपण कार्यक्रममा गरेको छ ।

जिल्लाका सहयोगीको सहभागितामा दीप प्रज्वलन तथा बिरुवा रोप्ने कार्यक्रम भएको हो । आफूले रोपेको बिरुवा आफैँले हुर्काउने गरी वृक्षरोपण गरिएको आश्रमकी अभियन्ता सिर्जना ओलीले बताए ।

आश्रमका सहयोगी अरुण पीडित भण्डारीले सडकपेटीबाट उठाएर सेवा गर्नु महत्वपूर्ण कार्य भएको भन्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । २०६९ साल भदौ १३ गतेबाट आश्रमले सेवा सुरु गरेको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार