नासपाका सांसद चौधरी जेल चलान

  सगरमाथा अनलाईन
147 Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको सांसद अनरुणकुमार चौधरीलाई जेल चलान गरिएको छ । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली-२ का सांसद चौधरीलाई जेल चलान गरिएको हो ।

बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएको बताइएको छ ।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ । तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए ।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो । फैसला भएको करिव एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए । त्यसपछि अर्का अभियुक्त सांसद अरुणकुमार चौधरी रहेको खुलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार