प्रसारण लाइन निर्माणः महोत्तरीमा अवरोध

  सगरमाथा अनलाईन
105 Shares

महोत्तरी । उचित मुआब्जाको माग गर्दै महोत्तरीमा अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम स्थानीयबासिन्दाले रोकेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं. ८ भगवानपुरमा काम अवरोध गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन् ।

महोत्तरीमा अहिले पोलमाथि तार तान्ने काम भइरहेको छ । स्थानीयबासिन्दाले तार मुनिको खेत र क्षति भएको बालीनालीको उचित मुआब्जा दिनु पर्ने माग गरिरहेका छन् । त्यस क्षेत्रमा पोल गाडिएको खेतको प्रति कठ्ठा ४ लाख ६८ हजार मुआब्जा दिइसकिएको छ । तर तार मुनिको खेतको प्रतिकठ्ठा ७० हजार २०० रुपैयाँ मात्र दिने भनिएको छ ।

स्थानीयबासिन्दाले तारमुनिको जमिनमा रुख विरुवा लगाउन र घर बनाउन नपाइने भएकाले पोल गाडिएकै खेतको बराबर मुआब्जा पाउने पर्ने माग राखेका छन् । उनीहरुले तारतान्दा क्षति हुने बालीको मुआब्जा दिनु पर्ने पनि अडान राखेका छन् । मुआब्जा नदिएसम्म तार तान्न नदिने उनीहरुले बताएका छन् ।

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमले अरुण तेश्रो जलविद्युत आयोजना बनाइरहेको छ । संखुवासभामा उत्पादन हुने विजुली महोत्तरी हुँदै भारत लैजान प्रसारण लाइन निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार