जडीबुटीको अवैध संकलन तथा आखेटोपहार राखेको मुद्दामा प्रतिवादीलाई सरकारी पक्षबाटै सघाएको प्रति चिन्ता

Facebook Debugger

सोलुखुम्बु । अवैध रुपमा वन पैदावार जडिबुटी संकलन तथा वन्यजन्तुको आखेटोपहार राखेको मुद्दामा सरकारी पक्षबाट प्रतिवादीलाई नै सघाएको गतिविधि प्रति सरकार पक्षका साक्षीहरुले चिन्ता व्यक्त गरेका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. १ का अम्बर बहादुर तामाङ विरुद्ध जिल्ला अदालत सोलुखुम्बुमा दायर गरिएको ‘वन पैदावार जडिबुटी संकलन तथा वन्यजन्तुको आखेटोपहार राखेको’ मुद्दामा सरकार पक्षका साक्षीहरुलाई अदालतका कर्मचारी र न्यायधीस स्वयंले पनि जाने बुझे देखेका कुराहरु बकपत्र गर्न नदिई प्रतिवादी अम्बर बहादुर तामाङलाई सघाएको जाहेरीवाला मध्येका आङ कामी शेर्पाले बताउनुभयो । उक्त मुद्दामा बकपत्र गर्न अदालतले दुवै पक्षलाई यही १४ गते बोलाएको थियो ।अदालतले बोलाएको मितिमा प्रतिवादी अम्बर बहादुर तामाङ हाजिरी हुनै नआएको र अदालतले सरकार पक्षका साक्षीहरुलाई जाने बुझेका र देखेका कुराहरु बकपत्र गर्न नदिएको शेर्पाले बताउनुभयो ।

लिखुपिके गाउँपालिका वडा नं. १ का कामी शेर्पा र सोही वडाका आङ दावा शेर्पाको संयुक्त जाहेरीले डिभिजन वन कार्यालय सोलुखुम्बुले २०७७ वैशाख २२ गते सोलुखुम्बु जिल्ला अदालतमा अम्बर बहादुर तामाङ विरुद्ध अवैध रुपमा वन पैदावार जडिबुटी संकलन तथा वन्यजन्तुको आखेटोपहार राखेको मुद्दा दायर गरिएको थियो । उक्त मुद्दा दायर गर्दा समेत वन कार्यालयका कर्मचारीको मिलेमतोमा मुद्दा फितलो बनाई पेश गरिएको जाहेरीवालाको भनाई छ । ‘अम्बर बहादुर तामाङलाई वन कार्यालयका वन रक्षक सञ्जीव कुमार झा ले अवैध रुपमा बहुमूल्य जडीबुटीको संकलन तथा ओसारपसार गर्न सघाएको देखिन्छ । अभियुक्तलाई जोगाउन सके आफू पनि जोगिने मनसायले वन कार्यालयका कर्मचारीकै मिलोमतोमा अभियोग पत्र दर्ता गर्दा नै फितलो बनाएको देखिन्छ । झनै न्यायलयबाटै यो प्रकारको व्यवहार हुनु दुःखद हो’ उहाँले भन्नुभयो । यस अघि जाहेरीवाला कामी शेर्पाले वन रक्षक सञ्जीव कुमार झा ले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै लोपोन्मुख वन्यजन्तु र प्रतिवन्धित जडिबुटीको चोरी पैठारी शिकार गर्ने व्यक्तिलाई सघाउने गरेकाले आवश्यक छानबिन तथा कार्वाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत जाहेरी दिनुभएको थियो ।

यस्तो छ, मुद्दाको नालीबेली

अभियुक्त अम्बर बहादुर तामाङ साबिकको गोली गाविस वडा नं. ९, हालको लिखुपिके गाउँपालिका वडा ं. १ का कामी शेर्पाको घर भाडामा लिएर बस्दै आएका थिए । २०७६ साल असार ४ गते घरधनी कामी शेर्पा र सोही गाउँका दावा शेर्पा अम्बर तामाङ भाडामा बस्दै आएको घरमा पुग्दा दुर्लभ तथा प्रतिवन्धित जडिबुटीहरु कुट्की, रातो च्याउ, सुनपातीको फूल, पात, लहरे धुपीको पात साथै अन्य प्रजातिका जडिबुटीरु समेत अवैध रुपमा संकलन गरी घरमा राखेको अवस्थामा भेटिएको थियो । तर उक्त दिन अम्बर बहादुर घरमा नरहेको र फोन गर्दा समेत सम्पर्क नभएपछि कामी शेर्पा र दावा शेर्पाले २०७६ साल असार ५ गते जिल्ला प्रशासन कार्यालयलाई समेत बोद्धार्थ दिई डिभिजन वन कार्यालय सोलुखुम्बुमा जाहेरी दिएका थिए ।

♦ आङ दावा शेर्पा र कामी शेर्पाको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय र सव डिभिजन वन कार्यालय सोलुखुम्बुबाट गएको टोलीले २०७६ असार ७ गते लिखुपिके गाउँपालिकाका वडा अध्यक्षको रोहबरमा घरको खानतलासी गरिएको थियो । सव डिभिजन वन कार्यालय सल्लेरीका फरेष्टर भलजय राई समेतका कर्मचारी र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक कृष्ण कुमार कटवाल सहितको टोलीले सोही दिन बरामदी तथा खानतलासी मुचुल्का उठाई अभियुक्त तामाङ बस्दै आएको घरबाट निम्न सामग्रीहरु बरामद गरेको थियो ।

बरामद भएका सामग्रीहरु :

घरको बुइगलमा ५० किलो अट्ने बोरामा काँचो धुपीको पात जस्तो देखिने थान ४, रातो च्याउ जस्तो देखिने चिज अन्दाजी ६/७ किलो, शेर्पा भाषामा फटकपु जस्तो देखिने चिज अन्दाजी १०/११ किलो, शेर्पा भाषामा उपल जस्तो देखिने चिज अन्दाजी ४/५ किलो, कुटकी जस्तो देखि चिज अन्दाजी ३/४ किलो, क्यासर जस्तो देखिने चिज ५० किलो अट्ने बोराको १ बोरा, कामी शेर्पाको घरको ताल्चा फुटाइएको कोठामा सुनपातीको फूल जस्तो देखिने चिज अन्दाजी आधा किलो, हिमचितुवा, लंगुरढेडु जस्तो देखिने जनावरको छातीको भागको हड्डी थान १, पुच्छर थान १, खुट्टा थान २, पछााडिको भागको ढाडको हड्डी थान १, हातको पाताको हड्डी थान २ र मेरुदण्डको हड्डी थान १, मृग, स्याल वन विरालोको जस्तो देखिने टाउकोको हड्डी सहित विभिन्न शरिरका हड्डीका भागहरु, भालुको जस्तो देखिने टाउकोको हड्डी सहित विभिन्न शरिरका हड्डीका भागहरु, सेल ढुंगा जस्तो देखिने चिज अन्दाजी डेढ किलो, हिमचितुवाको जस्तो देखिने दाह्रा थान ३, चिलको नङग्रा जस्तो देखिने थान ६ र चुच्चो थान १, यार्सागुम्बा जस्तो देखिने वस्तु थान ३, खरीढुंगा जस्तो देखिने वस्तु थान १, कसीढुंगा जस्तो देखिने वस्तु थान १, सेलढुंगा र बज्रढुंगा जतो देखिने करिब १०/१५ वटा ।

♦ २०७६ असार ९ गते फरेष्टर भलजय राई, वन रक्षक टेक बहादुर बस्नेत र अर्का वन रक्षक सञ्जीव कुमार झाले घर प्रवेशको ताला खोलिएको, भित्री कोठाको ताला फोरिएको, घटना स्थल मुचुल्का, बरामदी तथा खानतलासी मुचुल्का र वस्तुस्थिति मुचुल्का सहित जिल्ला वन कार्यालयमा प्रतिवेदन बझाएको थियो ।

♦ जिल्ला वन कार्यालयले करिब १० महिना लगाएर आवश्यक प्रक्रिया तथा प्रमाण जुटाई २०७७ साल वैशाख २२ गते जिल्ला अदालत सोलुखुम्बु समक्ष अभियोगपत्र दर्ता गरेको थियो ।

यस्तो छ, अभियुक्त तामाङले दिएको बयान

प्रतिवादी अम्बर बहादुर तामाङले अनुसन्धान अधिकारी समक्ष गरेको बयानमा भने कामी शेर्पाको घर बनाउने काममा धेरै मान्छेहरु आएर बस्ने गरेको र को कसले के – के वस्तु ल्याएर राखेका थिए भन्ने जानकारी नभएको बताएका छन् । गेलु शेर्पाको चौरी र याक जुधेर मरेको हुनाले चौरीको मासु भाग लगाएर खाएको र त्यसको हड्डी छोडेको उनको दाबी छ । उनले २०७६ साल वैशाख १६ गते नै सबै ताला चाबी कामी शेर्पाका नजिकका व्यक्ति देण्डी शेर्पालाई जिम्मा लगाएका समेत बताएका छन् ।


उनले बन फडानीमा आफ्नो हात नरहेको बरु अरुले नै बन फडानी गरी पात पेलेर तेल निकालेको र आफूले त्यसरी फडानी गर्नुहुन्न भनेर सुझाएको बताएका छन् । उनले अनुसन्धान अधिकारी समक्ष गरेको बयानमा भनिएको छ । ‘रातो च्याउ काम नलाग्ने भएकाले फालेको हो । कुट्की केही बाँकी थियो होला । उपलको फूल संकलन गरेर एक किलो पुर्‍याउन पूरै वनभरि घुमेर टिप्दा पनि पुर्‍याउन सकिदैन । हरियो धुपीको पात गुम्बामा धुप बाल्नको लागि राखेको थियो । क्यासर (बुकी फूल) रातो नरम पायो भने आम्जीहरुले औषधी बनाउन प्रयोग गर्छन् । फटक्पु भन्ने टुकी फूल निमोनियाको औषधी हुने भएकाले बच्चाहरुले टिपेर राखेका होलान् ।’

बरामद हड्डी रतुवा मृग र भालुको भएको प्रमाणित

प्रतिवादी अम्बर बहादुरले भाडा लिएर बसेको घरबाट बरामद भएका आखेटोपहारहरु रतुवा मृग र भालुको भएको प्रमाणित भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत दिनेश कुमार झा ले गराउनु भएको परिक्षणमा संकेत नमुन मध्ये (A1) चितुवाको हाडखोर, संकित नमुना (A2) समेत चितुवाको खप्पर भएको पाइएको छ । प्रमुख वैज्ञानिक अधिकृत झाले पेश गर्नुभएको रायमा भनिएको छ । ‘संकित नमुना (A3) कलिलो उमेरका रतुवा मृगको हाडखोर हो । शंकित नमुना (A4) मध्येका लामो नङग्रा कालो भालु, सानो नङ्ग्रा चितुवा, लामो कुकुरे दाँत रतुवा मृग र सानो कुकुरे दाँत भालुको पाईयो ।’

दश जना भन्दा बढीसँग वकपत्र

जिल्ला अदालत सोलुखुम्बुले प्रतिवादी अमर बहादुर तामाङ विरुद्ध दायर गरिएको ‘अवैध रुपमा वन पैदावर जडिबुटी संकलन तथा वन्यजन्तुको आखेटोपहार राखेको मुद्दा’ मा सरकारी पक्षका १० जना भन्दा बढी साक्षीसँग वकपत्र गरेको छ । अम्बर बहादुरले भाडामा लिएर बसेको घर प्रवेशको ताला खोलिएको, भित्री कोठाको ताला फोरिएको, घटना स्थल मुचुल्का, बरामदी तथा खानतलासी मुचुल्का र वस्तुस्थिति मुचुल्का उठाएको बेला साक्षी बसेकाहरुसँग पालैपालो बयान लिएको हो ।

अदालतले सरकार पक्षका साक्षीहरु मिङमार तेण्डी शेर्पा, जाङबु शेर्पा, कामी शेर्पा, आङ दावा शेर्पा, कर्मा नुर्बु शेर्पा, लगायत सँग बकपत्र गराएको छ । यस्तै वन कार्यालयका कर्मचारीहरु टेक बहादुर बस्नेत, सुनिल श्रेष्ठ र संन्जीव कुमार झा तथा सूर्या लाइफ इन्स्योरेन्सका पेमा छिरीङ तामाङ र आईएमई जनरल इन्स्योरेन्स कम्पनीका खगेन्द्र बनसँग पनि बयान लिएको छ । अदालत समक्ष बयान दिएका सबै साक्षीले ती सामानहरु अम्बरबहादुर तामाङ बस्ने घरबाट बरामद भएको, सामानहरु सुकाएको अवस्थामा र कतिपय सामान भने बोरामा प्याक गरेको अवस्थामा भेटिएको बताएका छन् ।

अदालतले सरकारी पक्षका साक्षीहरुसँग बकपत्र गराए पनि अन्त्यमा ‘तपाईको अरु केही कुरा भन्न बाँकी छ ?’ भन्ने प्रश्नमा मनमा लागेको कुरा भन्न नदिएको र टिपोट पनि नगरिएको बिषयमा भने चिन्ता व्यक्त गरेका छन् । ‘हामीले देखे, भोगेको र मनमा लागेको समेत बकपत्र गर्न नदिईनु र हामीले भनेको कुरा समेत टिपोट नगर्नुले कतै अभियुक्तलाई उम्काउन खोजिएको हो कि भन्ने शंका उब्जिएको छ ।’ सरकार पक्षका साक्षीहरु मध्येका कामी शेर्पाले भन्नुभयो ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार