जेष्ठ नागरिक र अपाङ्गलाई खाद्यान्न वितरण

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-१ का जेष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका अशक्त अपाङ्गलाई खाद्यान्न वितरण गरिएको छ । अल्ट्रा म्याराथनका विश्व च्याम्पियन धावक दाछिरी दावा शेर्पाद्वारा खोलिएको ‘एशोसिएसन दावा शेर्पा पारानिस एण्ड मारानिस पोर्ली नेपाल’ द्वारा वडा भरीका १ सय ३१ जना जेष्ठ नागरिक र अशक्त अपाङ्गलाई खाद्यान्न वितरण गरिएको हो ।

टाक्सिन्दुको टाग्गोन सेन्डुप थर्लिङ गुम्बाका औतारी लामा टुल्कु ङवाङ थर्चेन रिम्पोछेले प्रमुख अतिथिको रुपमा राहत वितरण गर्दै यो एकदमै धर्मको काम भएको बताउनुभयो ।

त्यस्तै, विशिष्ट अतिथिका रुपमा बोल्दै वडा अध्यक्ष छोङ्बा लामा शेर्पाले बिशिष्ट गाउँका गरिब तथा निम्न आर्थिक अवस्था भएका जेष्ठ नागरिक तथा अशक्तलाई यो महामारीको समयमा सहयोग गर्ने काम सह्रानीय भएको बताउनुभयो । उहाँले नजिकिँदै गरेको दशैँमा जिल्ला बाहिरबाट आफन्त आउँदा संक्रमण भित्रिनेतर्फ संकेत गर्दै गाउँमा आएकाहरुको जानकारी वडा कार्यालयलाई दिन स्थानीयलाई आग्रह गर्नुभयो ।

रहात वितरण गर्ने संस्थाका अध्यक्ष फुछिरिङ शेर्पाले यस अघि विभिन्न सामाजिक काम गरिरहेको जानकारी दिँदै अहिले कोरोनाको महामारीको समयमा पहिलो प्राथमिकता खाद्यान्न भएकाले सदरमुकामबाट केही दुर्गममा रहेको टाक्सिन्दुमा खाद्यान्न वितरणको कार्यक्रम गरिएको जानकारी दिनुभयो । अधिकाँस जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरु परिवारका सदस्यको भरमा जिविकोपार्जन गर्नुपर्ने अवस्थामा महामारीका कारण परिवारका सदस्यको समेत काम धन्दा बन्द भएको अवस्थामा मानवीयताको हिसाबले सहयोग वितरण गरिएको उहाँले बताउनुभयो । खाद्यान्न वितरण गरिएका अधिकांश वृद्ध र अशक्तहरु गरिब तथा विपन्न रहेको उहाँको भनाइ छ ।

राहत पाएपछि बृद्धहरुले खुशी व्यक्त गरेका छन् । किर्तिमानी आरोही बाबुछिरी शेर्पाका ८४ वर्षिय लाक्पा शेर्पाले संकटको यस अवस्थामा जेष्ठ नागरिकलाई खाद्यान्न दिएर ठूलो गुन लगाए भन्दै खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा नगर कार्यपालिका सदस्य सरिता राई, स्थानीय विद्यालयका शिक्षकहरु, स्थानीय अगुवा लगायतको उपस्थित रहेको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार