सशस्त्र जनयुद्धलाई अपराधीकरण नगर्न :विप्लवको चेतावनी

  सगरमाथा अनलाईन
0 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा उनले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको ख्याल गर्नु पर्ने धम्की समेत दिएका छन् ।

‘जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गरिँदैछ यहाँ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन,’ विप्लवले भने, ‘जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ नि ऊसले आफ्नो जीवनको पनि ख्याल गर्नु पर्छ । र, उसले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको पनि ख्याल गर्नुपर्छ ।’

जनताले लडेको युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको पनि उनले पटकपटक दोहोर्‍याए । ‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र । २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र । जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो । तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ यहाँ’, उनले भने, ‘त्यो पनि अपवाद हो । जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो । यो जनताले लडेको युद्ध हो ।’

महासचिव विप्लवले दलाल, पूँजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु गरेको बताए । नेपाल राष्ट्रलाई स्वाधिन बनाउने मूल उद्देश्य अन्तरगत आफूहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार