योङ स्टार क्लवको ४५औं साधारण सभा सम्पन्न, साढे १ करोड बराबरको अनुमानित आयव्यय पारित

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाकै जेठो सामाजिक संस्था योङ स्टार क्लवको ४५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट अध्यक्ष बुद्धिनारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको सांगठनिक तथा भावी कार्यक्रम समेटिएको प्रतिवेदन, कोषाध्यक्ष भोजनारायण राजभण्डारीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन र अन्य विभागीय प्रतिवेदनहरु पारित गरिएको छ ।

अध्यक्ष श्रेष्ठको प्रतिवेदनमा सोलु एफ.एम.को भवनको माथिल्लो तल्लामा तेस्रो तला थप गरी ‘मेरो बास, मेरो पाहुना घर’ सञ्चालन गर्ने, व्याडमिन्टन खेलाडी उत्पादन गर्न १० जोर ब्याड खरिद गरी सदस्यहरु व्याडमिन्टन प्रशिक्षण दिईने, १ साधारण सदस्य बराबर १ बाल सदस्य जिम्मा दिई खेलकुद र अध्यापनमा उत्कृष्ट बनाईने, हालसम्म क्लवले सञ्चालन गरेका परियोजनाहरुको डकुमेन्ट संकलन गरी परियोजना लाईब्रेरी बनाईने उल्लेख छ ।

यस्तै क्लव परिसरमा निर्माण भईरहेको कभर्ड हल सम्पन्न भएपछि भलिबल खेल सञ्चालन गरिने, ३ वटा कोण निर्माण गरी व्याडमिन्टन खेलाईने, ६ वटा सम्म टेबलटेनिस बोर्ड निर्माण गरी खेल सञ्चालन गरिने, ठूला ठूला गोष्टी तथा सेमिनार सञ्चालन गरिने क्लवको योजना छ ।

प्रतिवेदनमा व्यवस्थित फुटबल मैदान तयार पार्ने, बास्केटबल कोण निर्माण गर्ने, फिटनेस सेन्टर स्थापना गरिने, बालबालिकाको लागि फनपार्क स्थापना गरिने, विभिन्न खेलकुद कार्यक्रमहरु आन्तरिक तथा वाह्य प्रतियोगिताहरु सञ्चालन गरिने उल्लेख छ ।

क्लवले विभिन्न आयआर्जनका क्रियाकलापहरु समेत सञ्चालन गर्ने भएको छ । समाजकल्याण परिषदले आफ्नो नीतिमा परिवर्तन गरी क्लवहरु मुनाफा सहित अगाडि बढ्न सक्ने नीति ल्याउँदै गरेकाले अब क्लवलाई विभिन्न आयआर्जन गर्न क्रियाकलापहरु सञ्चालन गरिने अध्यक्ष बुद्धि नारायण श्रेष्ठले बताउनुभयो ।

उहाँले ४० बर्षभन्दा माथिका सम्पूर्ण सदस्यहरु योङ स्टार ट्रष्टमा ट्रष्टीको उपाधि दिई कार्यक्रममा संलग्न गराईने समेत बताउनुभयो । योङ स्टार क्लवको मातहतमा सञ्चालित सहकारी संस्थाहरुलाई समेत मर्ज गरी बैंक स्थापना गर्ने क्लवको योजना छ । उहाँले क्लव तथा समाजका महिलाहरुको लागि यसै आर्थिक बर्ष भित्र योङ स्टार क्लवकै हाताभित्र महिला भवन निर्माण गरिने बताउनुभयो ।

२०७७/०७८ को अनुमानित आयव्यय साढे १ करोड

साधारण सभाले आर्थिक बर्ष २०७६/०७७ को खुद आयव्यय र २०७७/०७८ को अनुमानित आयव्यय विवरण समेत पारित गरेको छ । कोषाध्यक्ष भोजनारायण राजभण्डारीले चालु आर्थिक बर्षको रु १ करोड ५४ लाख ६८ हजार बराबरको अनुमानित आयव्यय विवरण पश गर्नुभएको थियो । उक्त आय व्यय विवरण योङ स्टार क्लवको मातहतमा सञ्चालित विभिन्न परियोजना तथा सोलु एफ.एम. समेतको हो ।

साधारण सभाका प्रमुख अतिथि एवं प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले मासिक २० रुपैयाँ बचतबाट सुरुवात भएको क्लवले आज करोडौंको आयोजना सञ्चालन गर्न सक्षम हुनु गर्वको बिषय भएको बताउनुभयो । बुबा आमाले जन्म दिने, शिक्षादिक्षा दिने काम गरेपनि अन्य कुरा क्लवबाटै सिकेको हुनाले आफू आजको अवस्थामा पुग्नुमा क्लवको ठूलो हात रहेको उहाँको भनाई थियो । योङ स्टार क्लवले क्लवमा आवद्ध सदस्यहरुको मात्र नभई समग्र जिल्लाको भविश्य समेत उज्जवल बनाएको र भावी पिढींका लागि सुन्दर भविश्य निर्माण गरेको उहाँको भनाइ थियो ।

योङ स्टार क्लवमा ४५० जना साधारण सदस्य, ५० जना मानार्थ सदस्य, १०० जना बाल सदस्य आवद्ध छन् । ३० वटा भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग साझेदारी गरिसकेको क्लवले ७० वटा भन्दा बढी परियोजना सञ्चालन गरिसकेको छ । क्लवसँग २६ रोपनी जग्गा, क्लवको हाताभित्र ५ वटा भवन, १० रोपनी जंगल, एउटा विद्यालय, रिपिटर टावर भवन लगायत अचल सम्पक्ति छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार