कोरोना भाइरस २८ दिनसम्म बाँच्ने वैज्ञानिकहरूको दाबी !

Facebook Debugger

काठमाडौँ । कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ ।

अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् ।

कोरोना भाइरस नोट (पैसा), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहन सक्ने दाबी गरिएको बीबीसीले जनाएको छ ।

अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा मोबाइल फोनको स्क्रीनजस्तो समथर सतह, प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित रहेको उल्लेख छ ।

अनुसन्धानमा बढी तापक्रममा भाइरस थोरै समय बाँच्ने पनि देखाएको छ । ४० डिग्रीको तापक्रममा केही सतहमा २४ घण्टापश्चात् भाइरस निस्क्रिय भएको पाइएको उक्त अनुसन्धानले पुष्टि गरेको छ ।

तर, सतह तथा कुनै छिद्र नभएका सतह मा भाइरस लामो समय रहेको उल्लेख छ । यस्तै कपडाजस्ता स-साना छिद्र हुने वस्तुहरूमा भने भाइरस १४ दिनभन्दा बढी सक्रिय नरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

तुलनात्मक रूपमा फ्लू भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ। तर, यो प्रयोग अँध्यारो अवस्थामा गरेकाले परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइएको पनि बताइएको छ ।

यद्यपि कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने संक्रमणको जोखिमबारे शङ्का कायमै रहेको बताएका छन् ।

कोरोना भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्ने बताइँदै आए पनि हावाको माध्यमबाट पनि सर्ने विवरणहरू पनि सार्वजनिक भइरहेका छन् ।

यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स-कोभ(२ भाइरस नोट (पैसा) वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार पहिलेका अध्ययनले जस्तै भाइरस ताजा वा फ्रोजन (चिसोमा जमाइएका) खानामा पनि रहन सक्ने देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले भने कोभिड १९ खाना वा खानाको प्याकेजबाट सङ्क्रमण सरेको अहिलेसम्म पुष्टि नभएको जनाएको छ । भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएपछि अझ अन्योल छाएको छ ।

‘सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा संक्रममणको अनुमान तथा नियन्त्रण गर्न सजिलो हुने र मानिसहरूलाई जोगाउन सकिन्छ,’ सीसीरोका प्रमुख कार्यकारी डा.ल्यारी मार्शलले भने ।

कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्वप्रमुख प्राध्यापक रन एकल्सले भने पछिल्लो अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर ‘आम मानिसमाझ अनावश्यक त्रास’ फैलाइएको बताएका छन् ।

‘सतहहरूमा पनि भाइरस म्युकस भनिने खकार वा सिँगानका कण अनि फोहोर औँलाबाट सर्ने हो । यो अनुसन्धानमा भाइरस सार्ने यस्ता कणको अध्ययन गरिएको छैन, यसर्थ यो अपूरो छ,’ प्राध्यापक एकल्ले भने ।

अघिल्लो साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन् ।

पछिल्ला अनुसन्धानका नतिजाहरू सार्वजनिक भएसँगै विज्ञहरूले पैसा तथा फोनको स्क्रिन सफा गरिरहन सुझाव दिएका छन् ।

अध्ययनहरूले हावामा तैरने कणमा यो भाइरस ३ घण्टासम्म संक्रामक रहन सक्ने देखाएका छन् ।

अझै पनि मानिसहरूले सङ्क्रमणबाट जोगिन बारम्बार हात धुनु पर्ने तथा फोनका टचस्क्रीन नियमित सफा राख्न आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार