काठमाडौ । एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ भन्छन्, ‘कांग्रेसको मत स्वर्णिम र गोविन्दमा बाँडिदा यसपटक एमालेले इतिहास रच्छ । एमालेले आफ्नो संगठित मत जोगाए सर्वेन्द्रले चुनाव जित्छन् ।’

उपनिर्वाचनमा मनोनयन दर्ता गराउँदै एमाले उम्मेदवार सर्वेन्द्र खनाल ।
। तनहुँको व्यास नगरपालिका(३ शान्तिनगर छिर्ने चोकमै छ, नेकपा एमालेको जिल्ला पार्टी कार्यालय । त्यसको उत्तरतर्फ अर्को गल्लीको चोकमा नेपाली कांग्रेस जिल्ला समितिको कार्यालय छ । एउटा दलले कार्यालयको आँगनमा कार्यक्रम गर्ने हो भने अर्को दलको कार्यालयमा बसेर प्रष्ट सुन्न सकिन्छ ।
आगामी १० वैशाखमा तनहुँ(१ मा हुने उपचुनावका लागि सोमबार मनोनयन दर्ता गर्नुअघि कांग्रेसले महामन्त्री गगन थापाको उपस्थितिमा कार्यालयमै कोण सभा आयोजना गरेको थियो । तर थापा लगायतका कांग्रेस नेताहरुले के भन्छन् भन्ने चासो एमाले नेतालाई थिएन । कार्यालयमा रहेका स्थायी कमिटी सदस्य किरण गुरुङ भन्दै थिए, ‘कांग्रेसलाई यतिबेला हाम्रो होइन, स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको डर र चुनौती छ । उनले कांग्रेसकै मत काट्ने पक्का छ ।’








