नायिका रेखा थापाको लोभलाग्दो फिटनेश शैली [फोटोफिचर]

Facebook Debugger

काठमाडौं । अभिनेत्री, निर्माता तथा निर्देशक रेखा थापा आफ्नो स्वास्थ्यप्रति निकै सचेत छन् । ५ फिट ४ इन्च (५.४) कदको उचाइ भएकी उनको शारीरिक तौल ५० किलो छ । ज्यान फिट एण्ड फाइन ।

अभिनेत्री थापा बिहान पाँचै बजे उठ्छिन् । लकडाउनले भने उनको उठ्ने सेड्युल एक घण्टा धकेलिएर ६ बजे भएछ । उठिसकेपछि उमालेर सेलाउँदै गरेको मन तातो पानी पिउँछिन् । पानी पिएको १०/१५ मिनेटपछि ब्ल्याक कफी पिउँछिन् । त्यसपछि उनी जिमहल पुग्छिन् ।

उनको पर्सनल फिटनेस ट्रेनर बिजु पार्कीले फिटनेसका टेक्निक सिकाउँछन् । थापाले सुनाइन्,‘एक वर्षदेखि पर्सनल ट्रेनर राखेकी छु ।’ मित्रपार्कस्थित आफू बसेको अपार्टमेन्टमै रहेको जिमहलमा व्यायाम गर्ने उनले सुनाइन् । बिहान साढे ६ बजेदेखि करिब ९ बजेसम्म जिम हलमा व्यायाम गर्छिन् । उनले भनिन्,‘डेढ, दुई घण्टा जिम गर्छु ।’

९ बजे व्यायाम गरिसकेपछि फर्किएर केही मिनेट आराम गर्छिन् । मुड चलेको दिनमा चिनी नहाली दूधको चिया पनि पिउँछिन् । उनले भनिन्, ‘एक वर्षसम्म भने चिया मुखमै हालिनँ ।’ त्यसपछि मन तातो पानीले नुहाउँछिन् । नुहाइसकेपछि केहीबेर मेडिटेसन गर्छिन् ।

लन्चमा घ्यू

बिहानको ११ बजे उनको लन्च टाइम हो । लन्चको रुपमा उमालेर तयार गरिएको सागसब्जी (मिक्स बोयल भेजिटेबल), करिब एक सय ग्राम कुखुराको मासु, अण्डा, माछा, खसीको मासु, घ्यू, ब्राउन राइस हुन्छ । एक दिनमा एक किसिमको मात्रै माछामासुको आइटम खान्छिन् । उनलाई कुखुराको मासु मिठो लाग्छ । चामल भने ब्राउन र रेड राइस मात्र खान्छिन् । घ्यू खान कहिल्यै छुटाउँदिनन् । ‘घ्यू र भात मज्जाले खान्छु,’ थापाले सुनाइन्,‘भात भने घ्यूमा भिजाउन एक चम्चा मात्रै खान्छु ।’

बिहानको खाना खाइसकेपछि करिब आधाघण्टा आराम गर्छिन् तर निदाउँदिनन् । पूर्वीय दर्शनअनुसार विष्णु, लक्ष्मीले सर्पमा आसन गरेर बसेको जस्तैगरी आराम गर्छिन् । आरामपछि एक कप कफी पिउँछिन् ।

व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ र फिट रहनका लागि ५० प्रतिशत व्यायाम, २५ प्रतिशत आराम र २५ प्रतिशत खानपानको भूमिकालाई उनी सूत्रका रुपमा लिन्छिन् । यसलाई आफूले सन्तुलित गरेको उनी सुनाउँछिन् ।

सुटिङमा व्यस्त रहँदा सुटिङ स्पटमै पनि आफू फिट रहनका लागि व्यायाम हुने उनको महसुस छ । स्वस्थ रहनका लागि खानाको ठूलो भूमिका रहनेमा उनी सचेत छिन् । धेरै खाएको खायै गर्दा पनि अस्वस्थ बन्ने जोखिम हुने कुरामा उनी सचेत छिन् ।

बेलुकीको खाना एक मुठ्ठी गेडागुडी

दिनभरि दैनिक काममा व्यस्त रहन्छिन् । बेलुकीको करिब ३ बजे एक देखि दुई कोसासम्म केरा खान्छिन् । अरु काम नभएको समयमा पढ्न थाल्छिन् ।

उनी बेलुकीको खाना ७ बजेभित्र खाइसक्छिन् । थापाले सुनाइन्, ‘६ देखि ७ बजेभित्रमा डिनर खाइसक्छु ।’ उनको बेलुकाको डिनर लाइट किसिमको हुन्छ । ‘काजु, बदाम, ओखरजस्ता ८/९ किसिमका गेडागुडी मिक्स गरी जम्मा एक मुठ्ठी जति खान्छिन् ।

कुनैबेला भने चिटिङ गछिन् रे ! उनले बेलुकीको खानाको चिटिङबारे सुनाइन्, ‘घरबाहिर निस्किएको बेला चिकेन र भेजिटेबल खान्छु ।’ मान्छेको शरीर पहिलो घर भएकाले शरीरलाई दुरुपयोग नगरी व्यवस्थित गरेर सिंगारी सफा राखे व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन सकिने उनको धारणा छ । पहिले-पहिले घरबाहिर खानपान गर्ने भए पनि आजकाल भने सकभर घरबाहिर खानपान गर्दिनन्,उनी ।

बेलुकीको खानपानपछि केहीबेर समाचार, मिडियाहरुका सामग्री हेर्छिन्, पढ्छिन् । सामान्यतः १० बजे भित्रमा उनी सुतिसक्छिन् । सुत्नुअघि उनी हिलिङ् साउण्डका संगीत अन गर्छिन् । थापाले सुनाइन्, ‘आफूलाई मनपर्ने हिलिङ साउण्ड अन गर्छु, अन गरेको ५ मिनेटमै निदाइहाल्छु, साउण्ड बजिरहन्छ, म थाहै पाउँदिन ।’

जंकफुडदेखि टाढा

उनी अग्र्यानिक तथा हाइजेनिक खानपानमा निक्कै सचेत छिन् । उनले सुनाइन्, ‘बजारबाट सागसब्जी ल्याएर पकाउनुभन्दा एक घण्टा अगाडि ममीले नून-पानीमा भिजाएर राख्नु हुन्छ ।’

१ वर्ष अघिसम्म उनी बर्गर, पिजा लगायत र जंकफुड खान्थिन् रे ! तर, अहिले उनी जंकफुडबाट निक्कै टाढा छिन् । ‘संसारको सबैभन्दा हाइजेनिक र राम्रो खाना हाम्रै देशमा छ,’ थापाले भनिन्, ‘पहिला थाहा थिएन, ढिँडो रोटी खान्थिनँ । तर, अहिले ढिँडो, रोटी खान्छु ।’ सुटिङको समयमा बाहिर जाँदा पनि उनी हाइजेनिक खानपानमै ध्यान दिन्छिन् ।

उनी आफैँ पनि खाना बनाउँछिन् तर कहिलेकाहीँ सहयोगी दिदीले बनाइदिन्छिन् । उनले सुनाइन्, ‘तर, ममीले बनाएको खाना मिठो लाग्छ, त्यसैले धेरैजसो ममीले नै बनाउनु हुन्छ ।’

‘सिटामोल पनि खाएको छैन’

उनी वर्षमा एकपटक ‘होल बडी चेकअप’ गर्छिन् । रमाइलो पक्ष, उनले जीवनमा अहिलेसम्म कुनै पनि किसिमको औषधि सेवन गरेकी छैनन् रे ! ‘कहिलेकहिले टाउको दुखेको समयमा सिटामोल भन्ने हुन्छ रे नि ! मैले त्यो पनि खाएकी छैन,’ थापाले औषधि नखाएको अनुभव बारेमा सुनाइन् ।

सिटामोलसम्म नखाएकी उनी बिरामी भएर अस्पताल भर्ना हुने समस्यामा अहिलेसम्म पर्नुपरेको छैन । उनले हाँस्दै भनिन्, ‘मेरो हिस्ट्री हेर्नु न, एक्सन गर्ने, बन्जी जम्प गर्ने, माथिबाट फाल हान्ने… छ । यसैैबाट पनि थाहा भैहाल्छ म कति स्वस्थ छु भन्ने कुरा ।’

नो मेकअप

त्यसो त उनी फिल्मको सुटिङमा लाइट मेकअप गर्ने बाहेक मेकअप पनि गर्दिनन् । मेकअपका सामग्री पनि किन्दिन् । उनले भनिन् ‘म पहिल्यैबाट विदआउट मेकअप हिँड्ने केटी हो । म मेकअप नगर्ने केटीमा पर्छु ।’ कस्मेटिक्स सामग्रीमा उनलाई खासै विश्वास लाग्दैन । कहिलेकाहीँ हल्का लिपस्टिक र गाजल भने लगाउँछिन् । ‘कस्मेटिक्समा मेरो पैसा खर्च नै हुँदैन,’ थापाले सुनाइन्, ‘घाममा हिँड्दा सन्सक्रिम भने लगाउँछु ।’

ग्ल्यामर क्षेत्रको व्यक्तिले मात्रै राम्रो र फिट रहनुपर्छ भन्ने धारणालार्ई परिवर्तन गरी सबै व्यक्ति स्वस्थ, फिट र सुन्दर बन्नका लागि दैनिक एक घण्टा व्यायाम तथा व्यवस्थित जीवनशैली अपनाउनुपर्ने उनको सुझाव छ ।

लकडाउनको समयमा भने उनी फिल्मको स्क्रिप्ट र गीतको काम भइरहेको बताइन् । अवस्था सहज भए भदौको दोस्रो हप्ताबाट सुटिङ गर्ने तयारी रहेको उनले सुनाइन् । शुक्रबार साप्ताहिकबाट ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार