ताइवानले गर्यो सफलतापूर्वक कोरोना नियन्त्रणमा !

Facebook Debugger

एजेन्सी । विश्व समुदाय कोरोना भाइरस महामारी रोकथामका लागि संघर्ष गरिरहेका बेला ताइवानमा भने २ सय दिनयता स्थानीयस्तरमा १ जनालाई पनि संक्रमण भएको छैन ।

महामारी नियन्त्रणमा ताइवान विश्वमै प्रभावशाली देश मानिन्छ । २ करोड ३० लाख जनसंख्या रहेको यो द्विप राष्ट्रमा पहिलोपटक गत अप्रिल १२ तारिखमा कोरोना संक्रमण देखिएको थियो । जुन दिन इसाई धर्मावलम्बीको चाड ‘इस्टर सन्डे’ परेको थियो । गत बिहीबारसम्मको तथ्यांकअनुसार ताइवानमा कोरोनाबाट संक्रमित जम्मा ५ सय ५३ जना छन् । तीमध्ये पनि ५५ जना मात्र समुदायस्तरका संक्रमित हुन् । कोरोनाका कारण हालसम्म ७ जनाको मृत्यु भएको छ ।

‘इस्टर सन्डे’ अमेरिकी नागरिकले पनि महत्वसाथ मनाउँछन् । यो पर्व आउनु एक महिनाअघि नै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्वका बेलासम्म देश खुला रहने र उत्साहसाथ पर्व मनाउन पाइने बताएका थिए । त्यतिबेला नोबल कोरोना भाइरसबाट विश्वभर १७ लाख मानिस मात्र संक्रमित भएका थिए भने १ लाख १० हजार जनाको मृत्यु भएको थियो । अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार गत शुक्रबारसम्म विश्वमा संक्रमितको संख्या ४ करोड ५० लाख नाघिसकेको छ भने तीमध्ये ११ लाख जनाको मृत्यु भइसकेको छ ।

युरोपेली राष्ट्र फ्रान्स र जर्मनले दोस्रोपटक लकडाउन जारी गरेकै साता ताइवानले भने सुरुमा उल्लिखित अभूतपूर्व सफलता हासिल गरेको हो । अमेरिकामा पनि एक दिनमै ८८ हजारभन्दा बढी कोरोना संक्रमित भेटिन थालेका छन् । ताइवानको जति नै जनसंख्या भएको फ्लोरिडा राज्यमा गत बुधबार थप ४ हजार १ सय ८८ संक्रमित फेला परेका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि भनेर ताइवानले कहिले न कडा लकडाउन गर्यो न त छिमेकी मुलुक चीनमा जस्तो नागरिक स्वतन्त्रतामै विभिन्न प्रतिबन्ध लगायो। बरु महामारीविरुद्धको अभियानलाई व्यापक बनायो । चीनको वुहानबाट सीधा उडानमार्फत आउने यात्रुलाई ताइवानले स्क्रिनिङ (कोरोना संक्रमण छ कि छैन परीक्षण गर्ने एक विधि) गर्यो । त्यतिबेला भाइरस हल्लाको विषय मात्र थियो र यसबारे विश्व समुदायलाई सीमित मात्र जानकारी थियो ।

ताइवानमा गत जनवरी २१ मा पहिलो संक्रमित पहिचान भएको थियो । त्यतिबेलादेखि नै चीनको वुहानका बासिन्दालाई ताइवान आउन प्रतिबन्ध लगाइयो । चीन, हङकङ र मकाओबाट आउने हरेक यात्रुको स्क्रिनिङ थालियो । विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमण सुरु भएको चीनको वुहानमा लकडाउन गर्नुअघि नै ताइवानमा यस्ता उपाय अवलम्बन गरिएका थिए । मार्चसम्म आइपुग्दा ताइवानले सबै विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश निषेध गरिसकेको थियो । कूटनीतिज्ञ र विशेष भिसावालालाई मात्र प्रवेशको अनुमति दिइएको थियो ।

त्यसो त ताइवानमा पश्चिमा मुलुकसँग नभएको विशेष भौगोलिक अवस्था छ । अर्थात् द्विप भएकाले ताइवानका अधिकारीलाई सीमामा हुने आवतजावतमा कडाइ गर्न तुलनात्मक रूपमा सजिलो छ ।

त्यसैगरी ताइवानसँग महामारी नियन्त्रणको अनुभव पनि छ । सन् २००३ मा फैलिएको श्वासप्रश्वाससम्बन्धी सार्सको संक्रमणले ताइवानलाई महामारीविरुद्ध लड्ने क्षमता विकास गर्ने अवसर प्रदान गरेको त्यहाँका परराष्ट्रमन्त्री जोसेफ उ बताउँछन् ।

‘जब हामीले रहस्यमय भाइरसले चीनमा संक्रमण गरेको र बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिएको जानकारी पायौं, तब हामीलाई लाग्यो– यो सार्सकै प्रकृतिको भाइरस हुन सक्छ,’ उनले एक अन्तर्वार्तामा भनेका छन् ।

ताइवानका अधिकारीले सार्स महामारीकै बेला गठन गरिएको सेन्ट्रल इपिडेमिक कमान्डलाई सक्रिय पारे, जसले गर्दा मन्त्रालयस्तरको समन्वय प्रभावकारी बन्यो । यसैगरी त्यहाँको सरकारले मास्क र व्यक्तिगत सुरक्षा सामग्रीको उत्पादनलाई तीव्रता दियो र यिनको आपूर्तिलाई सुनिश्चित गर्यो । अनि त्यतिबेला नै व्यापकस्तरमा कोरोनाको परीक्षण र छिटो एवं प्रभावकारी कन्ट्याक्ट ट्रेसिङमा जोड दियो ।

महामारी विज्ञसमेत रहेका ताइवानका पूर्वउपराष्ट्रपति चेन चियनजेन महामारी नियन्त्रणका लागि लकडाउन सही उपाय नभएको बताउँछन् । उनी केही संक्रमित पत्ता लगाउन चीनले गरेजस्तो लाखौं मानिसको परीक्षण पनि आवश्यक नरहेको तर्क गर्छन् ।

‘सावधानीपूर्वक कन्ट्याक्ट ट्रेसिङ र सम्र्पकमा रहेकालाई कडा क्वारेन्टिनको व्यवस्था गर्दा महामारी नियन्त्रणमा आउन सक्छ,’ उनी भन्छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार