६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकारले पक्ष लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ


२ जेष्ठ २०८०, मंगलबार  

0
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार कसैको पक्ष र विपक्षमा नरहने बताएका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने पनि बताए ।


‘अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको लक्ष्य छ । सरकारको तर्फबाट कुनै बायसनेस लिइनेछैन र सरकार कुनै दबावको अघि झुक्नेछैन । कुनैपनि दबावको अघि झुक्नेछैन, अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुग्छ’ उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने बताए । उनले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानूनी दायरामा ल्याउने सरकारको काम भएको पनि बताए ।

‘अनुसन्धानको समय कम भएकाले प्रहरीले २४ घण्टा नै काम गर्नुपरेको बाध्यता छ, प्रहरीलाई प्रारम्भिक चरणदेखि नै कुनै राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको छ’ उनले भने, ‘कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेका छौँ, कसैको छविमाथि आघात नपुगोस् र कोही पनि दोषी नछुटोस् भनेर निर्देशन दिइएको छ, प्रहरी त्यसैअनुसार अघि बढेको छ ।’

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १० : ४७ बजे