जैविक विविधतायुक्त हाम्रो समुदाय संरक्षणको पर्खाइमा छः अध्यक्ष लामा

  सगरमाथा अनलाईन
378 Shares

काठमाडौं । विश्व जैविक विविधता दिवस किरात महासंघले धुमधामका साथ मनाइएको छ । सम्झौताबाट कार्यमा, जैविक विविधता फिर्ता बनाउनुहोस भन्ने मूल नाराका साथ विश्व जैविक विविधता दिवस महासंघले मनाएको हो ।

कार्यक्रका प्रमुख अतिथि सोनी लामाले विश्व विविधता दिवसमा किरात महासंघले आयोजना गरेको कार्यक्रममा किराँती ईतिहास र किराँती सँस्कार सिक्ने मौका पाएको बताएका छन् । ‘मैले यो कार्यक्रममा आएर किराती ईतिहास र सँस्कार राम्रोसँग जान्ने र सिक्ने मौका पाए’ प्रमुख अतिथि लामाले भने, ‘यत्ति मात्र होइन हाम्रो समुदायमा जैविक विविधता भएकाले यसको समयमै संरक्षण र संबद्र्धन गर्नु पर्छ ।’

एक अर्को प्रसंगमा लामाले पहिचानको आधारमा प्रदेश १ को नाम राख्न नसकेकोमा दुःख व्यक्त गरे । पहिचानको मुद्धा ओझेलमा पर्दै गएकोमा पहिचानवादीहरुले आत्मा समीक्षा गर्नुपर्ने लामाले बताए ।

‘फुटाउ र राज गर भन्ने एकल नश्लिय चिन्तन बोकेका राज्य सञ्चालकले गर्दा हाम्रो पहिचानको आधारमा नाम राख्न सकेनौं’ लामाले भने, ‘हाम्रा आदिवासी नेताहरु राजनैतिक रूपमा पनि विचलन हुँदै पार्टीको ह्वीप मान्दा पहिचानको आधारमा प्रदेशको नाम राख्न सकेनौं ।’

कार्यक्रमका सहजकर्ता कमल साम्पाङले आदिवासी जनजातिभित्र विशेष गरी किरात समुदायभित्र थुप्रै जैविक विविधता भएकाले यसलाई संरक्षण गर्दै लैजानु पर्ने धारणा राखे । ‘हाम्रो समुदायभित्र रहेको जैविक विविधतालाई आउने नयाँ पुस्तामा पुस्तान्तर गर्दै लैजानु आजको आवश्यकता हो’ सहजकर्ता साम्पाङले भने, ‘हामीले राज्यलाई हाम्रो विविधतायुक्त सीप र सँस्कृतिलाई संरक्षण गर्न समय समयमा झकझकाई राख्नु पर्छ ।’

अर्का सहजकर्ता एवं किरात महासंघका बरिष्ठ उपाध्यक्ष सुमन बाङदेलले मुन्धुम ट्रेलमा पाइने र देखिने जैविक विविधताको बारेमा स्लाइड मार्फत व्याख्या गरेका थिए । मुन्दुम ट्रेलमा विश्वकै लोपोन्मुख अवस्थामा रहेका विभिन्न सँस्कार, सँस्कृति, प्राकृतिक सुन्दरता, जैविक विविधता लगायतका आनन्द लिदै ट्रेकिङ गर्न सकिने पनि उपाध्यक्ष बाङदेलले बताए ।

कार्यक्रममा अतिथिको आसनबाट बोल्नुहुँदै प्रताप नाछिरिङले एकल जातिय राज्यसत्ताले हाम्रो मौलिक कला, सँस्कार र सँस्कृतिलाई वेवास्ता गरेका कारण पछिल्लो समय हाम्रो सँस्कृतिहरु हराउँदै गएको बताए । किरात समुदायको विभिन्न परम्परागत सीप र ज्ञानलाई राज्यले चिन्न नसकेकोमा नाछिरिङले दुःख व्यक्त गरे ।

किरात महासंघका सल्लाहकार पृथ्वी सुब्बा मुकारुङले पछिल्लो समय पहिचानको आन्दोलनमा आएको ह्रासले सम्पूर्ण आदिवासीको पहिचान संकटमा परेको बताए । ‘हाम्रो नेता र अभियान्ताहरु कुनै न कुनै राजनीतिक दलसँग आबद्ध भएका कारण हामीले उठाएका पहिचानका मुद्धाहरु ओझेलमा पर्न थालेका छन्,’ मुकारुङले भने, ‘हामीले हाम्रा अभियान्ताहरुलाई फेरी एकपटक घचघचाउने बेला भएको छ ।’

कार्यक्रमका सभाध्यक्ष तथा किरात महासंघका अध्यक्ष धिरेन सुस्तोचा बाहिङले महासंघले प्रत्येक वर्ष मे २२ तारिखमा विश्व जैविक विविधता दिवस मनाउँदै आइरहेकाले यस वर्ष पनि मनाएको बताए ।

‘विश्व जैविक विविधता हामी आदिवासी समुदायको लागि यत्ति धेरै महत्वपूर्ण छ की हाम्रा अग्रजहरुले परापूर्वकालदेखि जीवन जिउनका लागि अपनाउँदै आएको ज्ञान र सीपलाई जीवन्त राख्नको लागि हामीले यो दिनलाई मनाउँदै आएका हौं,’ अध्यक्ष बाहिङले भने, ‘हाम्रा परम्परागत ज्ञान र सीपलाई हामीले नै संरक्षण र नयाँ पुस्तामा पुस्तान्तरण गर्न अग्रसरता देखाइएन भने हाम्रा भावि पुस्ताले ती हाम्रा अमूल्य परम्परागत ज्ञान र सीप सिक्न सक्दैनन्, त्यत्तिकै लोप भएर जानेछ ।’

कार्यक्रममा किरात महासंघमा आबद्ध विभिन्न जातिय संस्थाका पदाधिकारी र प्रतिनिधिहरुको उलेख्य सहभागीता रहेको थियो । किरात महासंघमा किरात समुदायका १४ वटा जातिय संस्थाको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार