प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक

  सगरमाथा अनलाईन
84 Shares

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।

बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।

आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएकोछ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ ।

त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार