ट्राफिक सचेतनाको लागि सांगीतिक डमी अभियान शुरू

Facebook Debugger

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान आजदेखि शुभारम्भ गरेको छ ।


महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले आज शनिवार एक कार्यक्रमका वीच उक्त अभियानको शुभारम्भ गर्नुभएको हो ।

सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिबृद्धि गर्न र सडक दुर्घटना न्यूनिकरण गर्नका लागि गत भाद्र १६ गतेदेखि यस महाशाखाले काठमाण्डौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ । सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने आजदेखि सांगीतिक डमी अभियान महाशाखाले शुभारम्भ गरेको छ ।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले गीत सङ्गीत भनेको हर जनको हर परिस्थितिको साहारा, अत्यन्तै प्रीय साथी भएकोले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान शुरू गरिएको बताए ।

उनका अनुसार सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक चोकमा डमी राखेर ट्राफिक सचेतनामुलक गीतहरु बजाउँदै जनचेतना जगाउने काम भएको बताए ।

उक्त कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दिपाश्री निरौला, जितु नेपालले आफ्ना प्रस्तुति राख्नुभएको थियो भने कार्यक्रममा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापा, कामनपाका सहरी सुशासन विभाग प्रमुख हरि कुँवर, सामाजिक अभियान्ता योङजोम शेर्पा, राधा पोख्रेल तथा महाशाखाका प्रहरी अधिकृत, जवानहरूको उपस्थिति रहेको थियो ।

महाशाखाले गीत संगितको माध्यमबाट आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाउनका लागि ख्याति प्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारहरूको स्वरमा विभिन्न ट्राफिक सन्देश एवम ट्राफिक गीतहरु समावेश गरी अडियो क्लिप तयार गरिएको छ । सो ट्राफिक सन्देश र गित भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने मुख्य ५ वटा चोकहरु बानेश्वर, कोटेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोगवु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिईनेछ । दैनिक विहान ३ घण्टा र वेलुका ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रत्येक आधा घण्टामा कम्तिमा ५० जना सडक प्रयोगकर्ताहरू लाभान्वित हुने र दैनिक ३ हजार भन्दा बढिले ट्राफिक शिक्षा प्राप्त गर्ने अपेक्षा महाशाखाले लिएको छ । यसरी १ महिनामा १ लाख सडक प्रयोगकर्तालाई सचेतना दिने यस कार्यक्रमको लक्ष्य रहेको छ ।

जनचेतनाबाट लाभान्वित हुने आम सडक प्रयोगकर्ताहरुले आ(आफ्नो घर परिवार, साथीसंगी साथै समुदायमा उक्त ट्राफिक नियमको सन्देश प्रबाह गर्न महाशाखाले विशेष अनुरोध गरेको छ । यस अभियानलाई अझ प्रभावकारी बनाउदै भिडभाड हुने अन्य स्थानहरुमा समेत सांगितिक डमि राख्दै लैजाने योजना रहेको छ ।

महाशाखाले महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रविधियुक्त बनाउन विभिन्न नागरिकमैत्री अभियान तथा काम कारवाहीहरू निरन्तर सञ्चालन गरिरहेको छ । महाशाखाले सडक सचेतना  सँगसँगै सडकको वैज्ञानिक विकास र कानुनको कार्यान्वयनलाई एकैसाथ अगाडी बढाईराखेको छ भने सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक उज्यालो कार्यक्रम, पैदलयात्री प्रशिक्षण, सारङ्गी टोली, प्लेकार्डरफ्लेक्स बोर्ड प्रदर्शन, मापसे, लेन तथा सवारी दुर्घटना गर्ने चालक उपर दैनिक कक्षा, स्कुलरकलेजमा ट्राफिक कक्षा आदि मार्फत ट्राफिक सचेतना पनि प्रदान गरिरहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार