हाम्रो इतिहास राई कि किरात ?

Facebook Debugger

धिरेन सुस्तोचा बाहिङ । विद्यमान अवश्थामा समाजमा एक खालको बहसको विषय तरंगीत भएकोछ । राईलाई जातिको रुपमा स्थापित गर्ने र नगर्नेमा बहसको भएको पाईन्छ । समाजमा यो बहसका आ–आफ्नै तर्कहरु पनि छन् । किरात इतिहासलाई हेर्ने हो भने दश हजार बर्ष पहिले देखि किरात सभ्यता र जातिहरुको अस्तित्व रहेको पाइन्छ । चाहे महाभारत कालका घटनाक्रमका पात्रकारुपमा सहभागिको रुपमा होस । हिन्दु ग्रन्थहरुमा किरातीहरुको भूमिका विनाको घटना अपुरो थियो । यसर्थ राई भन्दा प्राचिन सभ्यता बोकेको महाजाति किरात थियो र हो । हिन्दु ग्रन्थमा उल्लेखित मानवशास्त्री कर्कप्याट्रिकले दस्तावेजी करण गरेका सन् १९११ मा बेलायतको लाईब्रेरीमा सुरक्षित लेखमा “भारत बर्षे उत्तरा खण्डे, हिमाल्य देसे किराता प्रदेशे” शब्दहरुले गासिएका वाक्यहरुले नेपाल देश बन्नु पूर्व किरात प्रदेश थियो, भन्ने स्पष्ट गर्दछ । क्रमश माहाकिराती जातिहरु विस्तारै किरात पहिचान बिर्षे र किरात भूमिमा राई कसरी प्रवेश ग¥यो ? र राई जातिको रुपमा स्थापित हुन पुग्यो त ! भन्दा गहिराईमा यसको आधार खोतल्दा कुलमण्डन शाहाको पाला देखि भारतमा रहेका राई दवदवा शाहा प्रशासन मार्फत नेपालमा राईले स्थान पायो । भारतमा रहेका मुसलमान सम्प्रादयमा रहेको राया अपभ्रम्स राई पदवी राजस्सी सम्मानको रुपमा नेपालमा प्रवेश पायो । बुद्धिकर्ण राई, लगायतका किरातीहरुले राई पदवी ग्रहण गरि राजा समान आफुलाई उभ्याउने काम गरे । यति मात्र नभएर दक्षिण भारतमा एक जाति समुदाय रहेका छन् उनिहरु राया, राई लेख्ने गर्दछन । जसमा बलिउडका चर्चित नायीका एश्वर्य राई पनि पर्दछन । सोहि राईका सन्तानहरु भारत स्वतन्त्र भए पश्चात भारतीय राईहरु बेलायतमा प्रवेश पाएर बसेका छन । लिक्षवीकालिन राजा मानदेवको पालामा पूर्वका सामन्तहरुले टाउको उठाउन खोजेकाले उनिहरुको माथि नियान्त्रण लिई भत्तपुरको चागुनारायाणमा स्तम्भ स्थापना गरि बिष्णुनारायणको पूजा गरेको इतिहासले के पुष्टि गर्दछ भने पूर्वमा किरातीहरुको आ–पुपुङ्गी थुम, गढि स्थापना सहित राज्यहरु थियो भन्ने प्रमाणित गर्दछ ।

किरातीहरुलाई संस्थागतरुपमा पृथ्वीनारायण शाहाले उपत्यकामा रहेका मल्ल सरकारका तिन राज्य कान्तिपुर, भत्तपुर, ललितपुरलाई आफ्नो कब्जामा लिए पछि, क्रमश पूर्वका किरात प्रदेशमा रणनीतिक आक्रमण विस्तार गरे । उत्त आक्रमणमा ओखलढुंगा जिल्लाको तलुवागढिसंग १३ पटक लडाई शाहा प्रशासनका सेनासंग लड्नु प¥यो । जस अन्तर्गत गोरखाका शाहा प्रशासकसंग १३ पटकसम्म तलुवागढिका किराती बाहिङ राजासंग लड्दा पनि केहि नलागे पछि किरातीहरुका बारेमा जासुसी गर्न शाहा प्रशासनले गोरखाका पोखरेल बाहुनहरु वल्लो किरात, माझ किरात र पल्लो किरातमा किरातीहरुको कमजोरीहरु पत्ता लगाउने उदेश्यले खटायो । पोखरेल बाहुनहरुलाई तत्कालिन किरात भूमि ओखलढुंगा र खोटाङको नेर्पा दोर्पा शाहा पंक्षमा जासुसीको रुपमा खठाईयो । किराती समुदायमा सबै भन्दा कमजोर पक्ष मित बोल्नु र मित बोले पछि पूर्ण रुपमा विश्वस गर्नु रहेको जसबाट किरात भूमि गोरखा राज्यमा समाहित गर्न सकिने कुरा जासुस टिमले पत्तालगाई किरात प्रदेश आक्रमण गरि जित्न मित लगाउने तयारीका साथ पोखरेल जासुसीहरुले शाहा प्रशासनलाई सुझायो । स्मरण रहोस हालका रंक्षामन्त्री इश्वर पोखरेलका पूर्खाहरु नै जासुसको रुपमा गोरखाबाट आएर किरात बाहिङको तोलोवाको भूमि चारखु खेत खोसेर पोखरेलहरुले शाहालाई जासुस सेवा गरेवापत उक्त चारखु खेत खोसेर पोखरेलहरुलाई शाहा प्रसासनले बक्स दिएको थियो ।

तलुवागढिले शाहाप्रशासनका सेना छत्रीहरुसंग धेरै पटकको लडाई पश्चात केहि नलागे पछि, किराती सेनासंग लड्न उस्तै अनुहार र कद भएका पश्चिमका मगर र गुरुङहरुलाई सेना पठाई ओखलढुंगाको तलुवागढिसंग लड्न पाठायो । उक्त लडाईमा रुमजटार क्षेत्र, तलुवागढि राज्य क्षेत्रको बेतेनी, केतुके तलुवागढि वरिपरी, स्यावन, रुम्टी, असिने, भदौरे, बारचाँदे क्षेत्रमा तलुवागढिले शाहाका सेनासंग लड्यो । यसरी लड्दा, भाला, तीर, खुँडा र तरवारको हतियार प्रयोग गरि शत्रुहरु विच काटाकाट हुदा, अन्तमा आ–आफ्नो पंक्षको मृतलास पहिचान गर्ने बेला उस्तै अनुहार भएको पाए पछि, शाहा सेना र तलुवागढिका सेना विच हामी त उस्ता उस्तै रहेछौ भन्दै तलुवागढिका किरात बाहिङ राजाले आफ्नो राज्य भूमिमा शाहाका सेना गुरुङ र मगरहरुलाई बस्न दिए । पोखरेल जासुसहरुको शुझाव अनुसार तलुवागढिसंग युद्ध स्थगित गरि तलुवागढिका किराती बाहिङ राजासंग मित लगाउने प्रश्ताव सहित आए । सोझा किरात बाहिङ राजाले मित लगाउने प्रस्तावलाई स्वीकार ग¥यो । मित लगाउने स्थान हालको मोली मुनीको दुधकोशी किनारामा शाहा प्रशासकका सेना र किराती सेना विच मित लगाउने तिथी मिती तय गरे । मित लगाउने सोझा किराती सेना र प्रशासकहरु उक्त क्षेत्रमा बिना हतियार समावेस भए भने, मित लगाउने मितिको अधिल्लो रात नै शाहा सेना र प्रशासकले मित लगाउने ठाउँमा हातहरियारहरु बालुवामा गाडेर राखेका थिए । भोली पल्ट मित लगाउने स्थानमा दुवै पक्षका सेना र आधिकारीक व्यत्तिहरुको उपस्थिीतिमा मित लगाउने काम भयो । मित लगाईदा विचमा लामो खाँडिको लुगा टाँगेर सिर झुकाई पहिलो पक्षले आफुले ल्याएको कोसेली स्वरुप जाँड रक्सी दिने काम भयो ।

शाहा सेनाले पातको दुनाको पिधँ प्वाल पारि किराती सेनाले दिएको मित कोसेली पिउने अभिनय गरि सबै चुहाँएर पठाए । भने किरात पक्षले शाहा पंक्षबाट दिईएको सबै जाडँ रक्सी खाएर माते । त्यस पछि मित लगाउनको लागि सिर झुकाउने प्रथा अनुसार शिर झुकाएको मौका छोपी शाहा सेनाको तर्फबाट बालुवामा लुकाएर राखिएको खुँडा, तरवार निकालेर किरातीहरुलाई छपाछप काटे, यसरी किराती बाहिङका मुख्य नेतृत्व र सेना काटिएदा उम्केर भाग्न सफल किरात बाहिङ केहि भागेर, खोटाङ्ग, भोजपुर, संखुवासभा, सिक्कीम, दार्जिलीङ्, भुटानसम्म पुगेर बसे भने केहि बाँचेखुँचेका किराती बाहिङहरु ओखलढुंगामा आफ्नै भूमिमा बसे । उक्त घटानाका साँक्षिकोरुपमा दुधकोसीको किनारामा भएको घटनाका प्रत्यक्षदर्शि आमाहरु जसले आफ्नो श्रीमान गुमाए उनीहरुले यसरी आफ्नो रोदनको गीत गाएर उक्त घटना र पिडाहरु पछिसम्म किरात बाहिङ आमाहरुले पुस्तौसम्म यसरी गीत गाएर पिडा पोख्ने गर्दथे । “हाई दुधकोसी किनारैमा के को मेला लाग्यौ नि लै लै, रगतैको खोली है बग्यो, रगतैले होईन मेरो आशुले चोलीया भिज्यौ है” यस घटनामा आफ्ना श्रीमान गुमाएका किरात बाहिङ आमाहरुको पिडाको रोदन गीत मार्फत पोख्ने गर्दथे यो क्रम निरन्तर शाहा सासन हुदै पंचायतकालसम्म, हजुर आमाहरुको पालासम्म उक्त घटनाको संम्झना स्वरुप गीत मार्फत त्यो घटनाको पिडा पोख्ने गर्दथे । तिनै किरात बाहिङ आमाहरुको गर्भमा रहेका सन्ता जन्मी हाल ओखलढुंगा क्षेत्रमा जिवित रुपमा रहेका छन भने तोलोवाका सन्तान स्व. बल बहादुर राई मुलुकको १९ पटक का.बा प्रम र फुल मन्त्रीसम्म हुनु भएको इतिहास जिवितछ ।

दुधकोसीको मित प्रपन्चको घटना पश्चात किरातीहरु शाहा देखि सतर्क रहे पछि, किरात भूमिका बोलवाला चल्तापुर्जा रहेको समाजमा मान्य गन्य किराती नेतृत्वलाई राई पदवी दिएर उक्त क्षेत्रको प्रशासकको रुपमा पद प्रदान गर्ने काम शाहा प्रशासनबाट भयो । यो नै संस्थागतरुपमा पहिलो किरात प्रदेशमा राई पदवी आधिकारीक रुपमा किराती क्षेत्रमा प्रशासकको रुपमा प्रवेश पायो भने लिम्बुहरुमा सुब्बा पदवी पाए । शाहाले दिएको उत्त राई र सुब्बा पदवीले किराती प्रशासक जसले शाहाका लागि कर उठाएर दिनु पर्ने र आफ्नो क्षेत्रको रक्षा गर्ने चाख चखुई(रण्डी, बाजी), ढुंगा, कुहेको मुढा, लेउ झ्याउ, चोर, चाकरहरुको दण्ड कुण्ड गर्ने अधिकार प्राप्त राई र सुब्बा थिए । राई र सुब्बा प्रशासकको रुपमा शाहाहरुले किरातीहरुलाई खुशि बनाई बिस्तारै अथाहारुपमा किरात प्रदेशलाई नेपालमा समाहित गर्नेकार्य शाहाबाट भयो ।

शाहा प्रशासनले चलाएका निति निरन्तरता राणा प्रशासनले पनि दियो । जति खेर किरात भूमिहरु प्रशासनिक रुपमा वल्लो किरात प्रदेश, माझ किरात प्रदेश, पल्लो किरात प्रदेशको रुपमा तत्कालिन शासकले प्राशासन संरचना अन्तर्गत शासन चलायो । राणकालसम्म आईपुग्दा राई पगरी किनबेचमा हुने सम्मको अवश्था भयो । जतिखेर केन्द्र सरकारलाई भने जतिको कर तिर्न कबुल अर्थात सोह्रै आना तिर्छु भन्नेले सुब्बा पगरी पाए । त्यसमा लिम्बुहरुले साह्रै आना तिरेर सुब्बा पदवी पाएका थिए भने गुरुङहरुमा प्रदेश न ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङका पूर्खाले सुब्बा पद पाएका थिए । भने केन्द्र सरकारले भने जति तिर्दिन मात्र दश आना तिर्छु भन्नेले राई पगरी राणाहरुबाट प्राप्त हुन्थ्यो । जसले केन्द्र सरकारसंग राई पदवीको लागि दश आना कर तिर्ने कबोल गर्दथ्यो त्यो व्यत्ति राई पगरीको भागेदारी हुने गर्दथ्यो । सोहि अनुसार प्रत्येक बर्ष राईले आफ्नो क्षेत्रको तिरो रैतीहरुबाट उठाएर केन्द्र सरकारलाई दश आना बराबरको तिरो तिर्ने गर्दथे । राणाहरुबाट पद प्रदान गरेको व्यत्ति बाहेकले राई पगरी लेख्ने हुकुम थिएन । कसैले राई लेखेमा उक्त व्यत्तिलाई नदिएको पगरी आफैले लिएको भनेर सो व्यत्तिलाई १७ आना जरिवाना सहित ५ देखि १० बर्ष जेल सजाय हुने गर्दथ्यो राणाकालमा ।

यसरी राई तालुकी प्राप्त व्यत्तिले आफ्नो क्षेत्रमा रहेका रैतीहरुको देखभाल गर्ने, हिन्दु चाड बमोजिम दशैमा पशुवलीको लागि रैतीहरुलाई आह्वान गर्ने । दशैको दिन केन्द्र सरकारको आदेश अनुसार राईको मातहतमा रहेको रैतीहरुमा दशै मानेको छकी छैन भनेर हर्ने र आदेश दिने । रैतीहरुले राईको घरमा किराती रैतीहरुले कोसेलीको रुपमा सिक्सार(सिकार मासु, जाँड, रकसी) र छत्री बाहुनहरुले केरा, दहि, रोटी, खसि, बोका लिएर प्रत्येक घरले राईको घरमा जम्मा भएर राईको हातबाट टिका थाप्ने प्रचलन थियो । यस अर्थमा राई हिन्दु हुन भन्न खोजिएको हो ।

सम्वत १९७७ सालको लिखितमका प्राप्त लिखतमा किरातीहरुलाई ज्मी वा जमी लेखिएको पाईएको छ । अर्को सबुत १९७७ साल बैसाष ४ गतेको लिखतले देखाएको प्रमाणमा ज्मी नै उल्लेख गरेकोछ । सम्वत १९८६ मा लिखितममा किराती रैतीहरुलाई ज्मी भनेर उल्ल्ेख गरेको पाईन्छ । भने सम्वत २००३ सालको लिखितममा पनि किरातीलाई जमी नै भनेर उल्लेख गरेको पाईन्छ । अर्को सबुत सम्वत २००३ चैत्र १३ को लिखितममा लेखिएको कागजमा समेत जमी उल्लेख भएको पाइन्छ । सम्वत २०१० माघ २८ गते को लिखितममा जमी नै उल्लेख गरिएको छ । सम्वत २००५ साल बैषाख १२ को कागजमा राई पगरीले गरेको कागजमा रैतीमा जमी उल्लेख गरिएको पाइन्छ । २००६ साल अषाढ ३ गतेको लिखमा किरातीलाई जमि उल्लेख गरिएको छ । सम्वत २०१२ जेष्ठ २२ गतेको लिखतमा जमी उल्लेख छ । यो प्रमाणहरुले छेत्री लाई छेत्री, छत्री उल्लेख गरेको पाइन्छ भने किरातीहरुलाई राई पगरी प्राप्त बाहेकका किराती वा रैतीले ज्मी, जमी वा जिमी लिखित रुपमा प्रमाणहरु बोल्दछन । यसर्थ २०१२ साल पहिलेसम्म पनि राई पगरी बाहेक सर्बसाधारणले लेखेको पाईदैन थियो भन्ने यो सबुतहरुले प्रमाणित गर्दछ ।

यसरी अथाहारुपमा शाहा प्रशासनले पोखरेल जासुसीको सुझाव अनुसार, किराती समुदायकै हर्ताकर्ता गर्ने व्यत्तिलाई राई पदवी दिई उक्त क्षेत्रको प्रशासकको जिम्मेवरी दिने रणनिती अपनाएर शाहा शासन स्वीकार्न लगाउने रणनिती अपनाएको थियो । सम्वत २००७ सालको क्रान्तिले निरंकुश राणा शासनको अन्त्य भए पछि किराती पहिचान राई पगरी प्राप्त गरेका बाहेक किराती रैति जसलाई ज्मी, जमी र जिमी नामाकारण गरिएको थियो । २००७ सालको क्रान्तिले राई पदवी स्वतन्त्रताको नाममा किराती रैतीहरुले पनि जिमी त्यगेर राई लेख्न थाले । यसरी पाल्पाका मगरहरु पनि राई थिए, भने संखुवासभाका लिम्बुहरु पनि राई थिए । माझकिरात र वल्लो किरातका किरातीहरुलाई राई पदवी पाएका थिए । यसरी राई तालुकी प्राप्त गर्ने ओखलढुंगा रातमाटेका टेकमानध्वज कार्की समेत राई थिए । सुनुवारलाई मुखिया तालुकी प्रदान गरेको पाईन्छ ।

पुरानो नेपाली बृहतशब्दकोशमा उल्लेख भए अनुसार राईको अर्थ पश्चिम नेपालमा पाईने एक प्रकारको साग, किरो गडेरो र हिमाली क्षेत्रमा पाईन एक प्रजातिको च्याग्रा भनेर उल्लेख गरिएकोछ । हालका बृहत नेपाली शब्दकोशमा मात्र राई जातिको रुपमा उल्लेख भएको हो । त्यसै राई लेख्ने समुदाय दक्षिण भारतबाट नेपालमा आएर व्यापार व्यवसाय गर्ने भारती राईहरु काठमाण्डौ उपत्यकामा आफ्नै जातिको रुपमा “राई स्कुल” संञ्चालन गरेर आफ्ना बालबच्चा सोहि स्कुलमा पठनपाठन गर्ने गर्दछन । राणाशासन अन्त्य पछि, राई तालुकी पंञ्चायत व्यबस्थासम्म निरन्तर अभ्यसमा रह्यो । त्यस बेला राई तालुकीको मातहतमा (१) जिम्वल, (२) माथा, (३) करता, (४) गौरुङ, (५) कारबारी, (६) डिट्ठा, (७) दुवारे, रहने गर्दथ्यो । यी उल्लेखित पदहरु राईको मातहतमा रहेर प्रशासनिक काम गर्नु पर्दथ्यो । हाल पनि ओखलढुंगामा गौरुङ टोल, माथा करता टोल, कारबारी टोल, राई टोल, जिम्वल टोल तिनै पदवीबाट स्थापित सामुदायको टोलहरु बाहिङ बसोबास क्षेत्रमा रहेको छ ।

जनगणनामा २०७८ मा केहि संस्थाहरुको अभियानमा राई जातिको रुपमा स्थापति गर्ने अभियान रहेको हुदा, यस सन्दर्भमा राई जाति हुनलाई मानशास्त्री, भाषाशास्त्री, र समाजसास्त्रीका अनुसार जाति हुनलाई (१) भाषा, (२) संस्कार संस्कृति, (३) भूमी, (४) लिखित वा अलिखित इतिहास, (५) वंशावली र (६) हामी भन्ने भावना, यी ६ वटा आधारहरु राई जातिमा छकि छैन ? यसबारे उल्लेखित ३ विज्ञानको परिभाषा र आधारहरुमा हेरिनु जरुरीछ । भाषाशास्त्रीका अनुसार हेर्ने हो भने राईको भाषा छैन त्यसैले राई जाति हुन सक्तैन । बरु बाहिङ, कुलुङ, थुलुङ, खालिङ, चाम्लिङ, बान्तावा, नाछिरिङ, पुमा, कोयु, वाम्बुले, तिलुङ, दुमी, आठपहरिया, लोहरुङ, याम्फु, मेवाहाङ, साम्पाङ, जेरुङ जेरोहरुको भाषा पाईन्छ । राई जाति र समुदाय हुनलाई अर्को आधार भूमि पनि एक आधार हो, इतिहासलाई हेर्दा किरात प्रदेश रहेकोमा वल्लो किरात प्रदेश, माझ किरात, पल्लो किरात भूमिहरु स्पष्ट रुपमा थिए । बरु बाहिङ, कुलुङ, थुलुङ, खालिङ, चाम्लिङ, बान्तावा, नाछिरिङ, पुमा, कोयु, वाम्बुले, तिलुङ, दुमी, आठपहरिया, लोहरुङ, याम्फु, मेवाहाङ, साम्पाङ, जेरुङ जेरोहरुका आ–आफ्नै थातथलो सहितको भूमि रहेकोछ । यसर्थ राईको भूमि पाईदैन । यसर्थ राई जाति होईन । लिखित वा अलिखित इतिहासले समेत जातिलाई एक आधारको रुपमा लिने गरिन्छ । राईको इतिहास संस्थागत रुपमा २००७ सालको पछि मात्र स्थापित हुदै आएको छ, यसर्थ राईको कुनै इतिहास खास रुपमा पाईदैन भने किरातको इतिहास महाभारत काल देखि हिन्दु विभिन्न ग्रन्थहरुमा कुनै न कुनै भुमिकामा रहेको पाइन्छ । तर राईको यस्तो आधार छैन । जाति हुने आधारमा वंशावली पनि आवश्यकता पर्दछ । किराती वंशावली विभिन्न लेखक देखि लिएर गोपालराज वंशावलीले समेत किराती राजहरुको वंशावली उल्लेख पाइन्छ उक्त प्रमाण अनुसार २७ देखि ३२ पुस्ता किराती राजाहरुले राज्य गरेको दश हजार भन्दा पुरानो इतिहास आफैमा जिवित छन । त्यसै गरि बाहिङ, कुलुङ, थुलुङ, खालिङ, चाम्लिङ, बान्तावा, नाछिरिङ, पुमा, कोयु, वाम्बुले, तिलुङ, दुमी, आठपहरिया, लोहरुङ, याम्फु, मेवाहाङ, साम्पाङ, जेरुङ जेरोहरुका आ–आफ्नै वंशावलीहरु छन । भने राईको वंशावली पाईदैन । यस मानेमा राई जाति होइन । कुनै पनि जाति वा समुदाय हुनलाई हामी भन्ने भावना हुन्छ । बाहिङ जाति र समुदायमा आफ्नो मातृभाषा बोल्नु वित्तीकै हामी भन्ने भावना हुन्छ । चाम्लिङ समुदायले आफ्नो विषषमा कुरा गर्दा हामी भन्ने भावना पैदा गर्दछ । यसै गरि अन्य जातिहरुमा पनि यो भावना आफै पैदा हुने गर्दछ । जाति हुने अर्को आधार भनेको संस्कृति र संस्कार पनि हो । यसरी हेर्दा राईको संस्कार संस्कृति छैन उदाहरणको लागि साकेला नाच यो नाच बान्तावा र चाम्लिङमा नाचिन्छ भने अन्य किरातीमा आ–आफ्नै नाच संस्कार हुन्छ । तर राईको संस्कृति संस्कार हुदैन र छैन पनि, संस्कार संस्कृतिहरु कुलुङ, थुलुङ, बाहिङ, खालिङ, लोहरुङ, याम्फु, मेवाहाङ, चाम्लिङ, बान्तावा, साम्पाङ, आठपहरिया, वाम्बुले, हायु जिरेल, सुरेल, धिमाल, थारु, मेचे, लिम्बु, सुनुवार, नाछिरिङ, कोयु, पुमा, दुमि, तिलुङ, लगायत अन्य जातिहरुमा आ–आफ्नै संस्कार संस्कृति छन । यसर्थ राई जाति होइन भन्ने संस्कार संस्कृतिले पनि प्रस्ट पार्दछ ।

त्यसैले किरात महाजाति भित्रका जातिहरु कुलुङ, थुलुङ, बाहिङ, खालिङ, लोहरुङ, याम्फु, मेवाहाङ, चाम्लिङ, बान्तावा, साम्पाङ, आठपहरिया, नाछिरिङ, जेरुङ जेरो जाति हुन । यसर्थ, जनगणना २०७८ मा आफ्नो भाषा, जाति, संस्कार संस्कृति, भूमि, वंशावली, इतिहास सहित पहिचान स्थापित गर्नका लागि जातिमा बाहिङ, भाषामा बाहिङ, धर्मामा किरात र दोस्रो भाषामा छिमेकी किराती भित्रका भाषालाई उल्लेख गर्न सकेमा यसले मातृभाषा समुहलाई बल मिल्नेछ र एकल खस भाषा सबैले बुझ्छन भन्ने राज्यको रणनितिक तथ्याङ्कले नेपाली भाषा नै सबैले सरकारी कामकाजको भाषाको रुपमा लाद्ने योजनालाई विफल बनाई तपाई हामीले बोल्ने मातृभाषा संरक्षण स्वरुप स्थानिय स्तरमा सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न बल प्रदान गर्न सम्पूर्ण दाजुभाई दिदी बहिनीमा अस्तित्व र पहिचान स्थापित गर्नु अपरिहार्य रहेकोछ । [लेखकः बाहिङ किरात मुलुखिम केन्द्रीय समितीको महासचिव हुनुहुन्छ ।]

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार